|
हाइलाइटहरू कार्यक्रम व्यवस्थापनमा सुधारः |
चाँगुनारायण नगरपालिका विशेषगरी यसको ऐतिहासिक र सांस्कृतिक महत्वका कारण प्रगति र चुनौतीको संगम स्थल भएको छ । यहाँका नागरिकहरूको जीवनमा समृद्धि ल्याउनका लागि कार्यरत रहेका उपमेयर रमेश बुढाथोकीका तीन वर्षका अनुभव र योजनाहरूले यस नगरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । उनले आफ्नो कार्यकालमा न्यायिक समितिका नेतृत्व, बजेट व्यवस्थापन, अनुगमन र विभिन्न विकास योजनामा सुधार ल्याउने दिशामा कडा परिश्रम गरेका छन् ।
यस अन्तर्वार्तामा बुढाथोकीले उपमेयरको भूमिकामा गरेका सुधारहरू, उनले भोगेका चुनौतीहरू र आगामी योजनाबारे स्पष्ट विचार राखेका छन् । साथै, उनले नगरको विकासका लागि आफूले गरेका निर्णयहरू र व्यक्तिगत जीवनको फाइदा तथा बेफाइदाबारे पनि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।
चाँगुनारायण नगरपालिकामा भइरहेको विकास र न्यायिक काममा उपमेयरको सक्रियता र योगदानले नगरको भविष्यलाई उज्जवल बनाउने आशा गरिएको छ । यस अन्तर्वार्ताले उपमेयर बुढाथोकीको कार्यशैली, नेतृत्व र समर्पणको एउटा स्पष्ट चित्र प्रस्तुत गर्दछ ।
३ वर्ष उपप्रमुखका रुपमा बिताएको समयलाई तपाईंले कसरी सम्झनुहुन्छ ? कसरी समीक्षा गर्नुहुन्छ ?
– यी तीन वर्ष सहज र अप्ठ्याराले भरिएको यात्रा रह्यो । न्यायिक समिति, अनुगमन, कृषि र पशुपालनजस्ता थुप्रै चुनौतीलाई चिर्दै अगाडि बढेका छौं । तर, प्रमुखको तुलनामा उपप्रमुखले बढी अपजस भोग्नुपर्ने स्थिति हुन्छ । पाँचवटा काम गर्दा चारवटा सफल भए पनि एउटा असफल हुँदा गाली उपप्रमुखले नै खानुपर्छ । तर, केही क्षेत्रमा सुधार ल्याउन सफल भएका छौं । त्यस कुराले संतुष्टि दिन्छ ।
तपाईंले गरेका सुधारका उदाहरण कसरी प्रस्तुत गर्नु हुन्छ ?
– पहिला उपप्रमुख संरक्षित कार्यक्रमहरू केन्द्रिकृत भई एकै ठाउँमा हुन्थ्यो । एक व्यक्तिले १८ वटा तालिम लिने अवस्था थियो । हामीले सुधार गरेर वडा–वडामा कार्यक्रम पु¥यायौं ।
पढ्न नसकेका दिदीबहिनीहरू ढाकाको चोलो, मखमलको जुत्ता बनाउन थालेका छन् । एक तामाङ बस्तीमा ४ वटा तान राखेर ठूलो व्यापार सुरु गराएका छौं । त्यहाँ पोहोर साल मात्रै ३० लाख रुपैयाँको व्यापार भएको छ । २५ सय वटा घाँसका झोला जापान पठाएका छौं । यी सबल पक्ष भए पनि नकारात्मक पक्ष मात्रै बाहिर आउँदा कहिलेकाहीँ मन दुख्छ ।
|
जस र अपजसको अनुभवः अनुगमनमा सुधारः शुल्क घटाउने काम जारी व्यक्तिगत फाइदा–बेफाइदाः |
जस र अपजसको सन्दर्भमा उपप्रमुखको अनुभव कस्तो रह्यो ?
– साँच्चिकै भन्ने हो भने राम्रो कामको जस प्रायः नगरप्रमुखलाई जान्छ । उपप्रमुखलाई कमै जस मिल्छ । न्यायिक समितिको काम, अनुगमनजस्ता संवेदनशील जिम्मेवारीमा सधैँ अपजस भोग्नुपर्छ । काम गर्दा प्राविधिक जानकारी नभएकाले कहिले काहीँ समस्या आउँदा अपजस उपप्रमुखले नै पाउँछ ।
झन्डै तीन बर्ष उपमेयरको रुपमा विताईसक्नु भएको छ । बाँकी २ वर्षको योजना र अपेक्षा के छ ?
– तीन वर्षमा धेरै कमजोरीहरू सुधार गरेका छौं । राजस्व संयोजकको जिम्मेवारी बुझेका कारण, आम नागरिकलाई सौलियत हुनेगरी शुल्क घटाएका छौं । जस्तैः सिफारिस शुल्क ७०–८० हजारबाट ३–४ हजारमा झारिएको छ । न्यायिक समितिको मुद्दा दर्ता शुल्क ५०० बाट १०० रुपैयाँमा ल्याएका छौं । अब बाँकी दुई वर्षमा बजेट निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार सुधारमा विज्ञहरूसँग मिलेर अझ बढी सुधार गर्ने योजना छ ।
|
२ करोड बजेटको व्यवस्थापनः उपप्रमुखको भूमिकाः सुधार : |
उपप्रमुख भएर व्यक्तिगत रूपमा तपाईंलाई के फाइदा र बेफाइदा भयो ?
– व्यक्तिगत फाइदाभन्दा पनि बेफाइदा धेरै भयो । व्यवसायिक काम रोक्नुप¥यो । तर, आत्मसन्तुष्टि भने प्रशस्तै छ । नगरपालिकाबाट कुनै सेवा सुविधा लिएको छैन । मिटिङ भत्तासमेत संकलन गरेर स्कुलका विद्यार्थीलाई ड्रेस किनेको छु । सरकारी गाडी चाँगुनारायण अस्पताललाई दिएको छु । राजनीति व्यवसाय होइन, समाजसेवा हो भन्ने सोचबाट काम गरिरहेको छु ।
उपप्रमुखलाई छुट्टै २ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको भन्ने सुनिन्छ, त्यसबारे के भन्नुहुन्छ ?
– २ करोडको बजेटमध्ये ४० लाख चाँगुनारायण अस्पतालमा ल्याब निर्माणका लागि, १५ लाख औषधि किन्ने, बाँकी वृद्धवृद्धालाई औषधि निःशुल्क वितरणमा लगाएका छौं । त्यसमा व्यक्तिगत १ लाख १ हजार रुपैयाँ पनि थपेको छु । गाली खाँदा दुख लाग्छ, तर आम नागरिकसँग घुलमिल भएर काम गर्न पाउँदा खुसी छु ।
तपाईंजस्तो सिनियर उपप्रमुख हुँदा नगरपालिकालाई के फाइदा र के कस्ता बेफाइदा हुँदा रहेछन् ?
– सिनियर भएँ भनेर नगरप्रमुखमाथि दवाव दिएको छैन । राजनीतिक आस्थाभन्दा माथि उठेर समन्वयमा काम गरेका छौं । सल्लाह र सहमतिबाट बजेट निर्माणदेखि नगरसभा सबै काम अगाडि बढाएका छौं । न्यायिक समितिको काममा पनि नगरप्रमुखबाट हस्तक्षेप भएको छैन ।
रमेश बुढाथोकी उपप्रमुख भएकाले चाँगुनारायण नगरपालिकालाई के कस्ता फाइदा पुगेको छ ?
– म सामान्य मानिस हुँ, महान होइन । तर, विगतमा गाविस उपाध्यक्ष भइसकेको अनुभव छ । त्यसैले न्यायिक समिति, राजस्व व्यवस्थापन, कृषि, पशुपालनमा पहिलेदेखि जानकार छु । न्यायिक समितिमा धेरै वर्षदेखि अड्किएका मुद्दा मिलाएका छौं । राजस्व लक्ष्यभन्दा १२५% उठाएका छौं । तर सुधारको काम अझै बाँकी छ । विज्ञहरूसँगको सहकार्यमा यसलाई अझ बढी प्रभावकारी बनाउने योजना छ ।
|
न्यायिक समितिमा नेतृत्वः नक्सामा रहेको बाटो खोल्दा पनि कानुनी मुद्दा |
न्यायिक समितिको नेतृत्व गर्दै आउनुभएको छ, कानुनी सेवा प्रवाह र प्रभावकारिता कस्तो देख्नुभएको छ ?
– संविधानले उपप्रमुखलाई न्यायिक समितिको नेतृत्व दिएको राम्रो कुरा हो । तर, अधिकार सीमित छ । चिठी पठाउँदा पनि सम्बन्धित पक्ष नआउँदा चुनौती हुन्छ । प्रहरी बल प्रयोग गर्ने अधिकार नभएकोले कहिलेकाहीँ निष्पक्षता कायम राख्न कठिनाइ हुन्छ । तर, सबै कठिनाइ चिर्दै निष्पक्ष निर्णय र समाधान गर्ने प्रयास गर्दै आएका छौं ।
तपाईंको नेतृत्वमा न्याय दिलाएका केही उदाहरणहरू प्रस्तुत गर्नु पर्यो भने ?
– न्यायिक समितिमा बसेर नगरबासीका गहन समस्याहरू हल गर्दै आएका छौं । उदाहरण नै पेश गर्नुपर्दा ताथलीको एउटा घटना छ, २३ दिनमै विदेशिएका श्रीमान्, बिना नागरिकता र विवाह दर्ता श्रीमतीलाई गोठको सानो कोठामा थुनेर राखिदो रहेछ । कुुवेतमा रहेका श्रीमानलाई सम्पर्क गरी, सम्पत्ति दिलाउने सहमति गराइयो । जिल्ला अदालतसँग मिलेर सम्पत्ति अधिकार दिलाइयो । रोजगारीसमेत मिलाइदियौं । आज उनी आत्मनिर्भर जीवन बाँचिरहेकी छन् ।
दोस्रो, १४–१५ वर्षसम्म सन्तान नभएपछि श्रीमान्ले कान्छी ल्याएछ । र, जेठी श्रीमतीलाई बेवास्ता गर्न थालेछ । हामीले सरकारी जागिरबाट श्रीमानलाई आउने कमाइ लगायत सम्पत्ति तीन भाग लगाएर न्याय दिन सफल भयौं । अर्को उदाहरण चाहिँ मन्त्रीको साडुभाइको जालझेल टुंग्याइयो । छोरीलाई जग्गा दिन्छु भनेर पैसा उठाएर पछि ‘व्याजको पैसा’ भनेर मुकराउने । हामीले परिवारका सदस्यलाई कसम खुवाएर जग्गा पास गराइदियौं ।
एउटा चाहिँ डिभोर्स टार्न सफल भएका थियौं । डिभोर्सका लागि अलग–अलग सवारीमा आएका श्रीमान्–श्रीमतीलाई तीन घण्टा संवाद गराएर मिलाइदिएँ । आज उनीहरूको सम्बन्ध राम्रो छ ।
|
भौतिक विकासका ठूला योजनाः शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधारः |
बाहिरबाट हेर्दा तपाईंको सक्रियता राम्रो छ । काम पनि राम्रो गरेको इमेज छ । तर पनि किन तपाईँलाई मात्रै यति धेरै मुद्दा पर्छन् ?
– मैले न्यायिक समितिमा मात्र हैन, फिल्डमै गएर अन्यायको प्रतिकार गर्छु । एउटा उदाहरण भन्छु, ७ फिटको बाटो खोल्दा आफ्नै उपभोक्ता समितिका अध्यक्षले मुद्दा हाले ।
२० फिटको सरकारी बाटो तारबार गरेर रोकेर राखेको थियो । जबरजस्ती खुलाइयो । त्यसमा पनि मुद्दा नै पर्यो । पर्खाल भत्काएर गोरेटो बाटो खोलेपछि फेरी मुद्दा । मानव अधिकारवादीसमक्ष समेत उजुरी पुगो । तर सबै जाँचपछि हाम्रो निर्णय कानुनसम्मत देखियो ।
यसरी मुद्धा लाग्नुमा तपाईंको डन प्रवृत्ति हो कि, न्यायका लागि साहस हो ?
– म मुद्दा खेप्न डराउँदिन । नक्सामा भएको बाटो आम नागरिकका लागि खोल्नैपर्छ । गल्ती गरें भने मुद्दा हाल्नुस्, थुन्नुस् । ५० जना नागरिकले न्याय पाउँछन् भने म एकजनाले अली अली दुःख पाउँदा के फरक पर्छ र ? फिल्डमा उत्रिने, कानुनअनुसार काम गर्ने र अन्यायको प्रतिकार गर्ने मेरो बानी नै बनिसकेको छ ।
चाँगुनारायण स्मारिका २०८० बाट साभार


