
दिनेश थापा
नेपाल प्राकृतिक विविधता र सांस्कृतिक धरोहरले भरिपूर्ण मुलुक भए पनि यहाँको भौगोलिक बनावट, जलवायु परिवर्तन, तीव्र जनसंख्या वृद्धि, गरिबी र अव्यवस्थित शहरीकरणका कारण मुलुक उच्च प्रकोप जोखिममा परेको छ । विशेष गरी विकास निर्माणका कार्यहरूमा दीर्घकालीन सोच र जोखिम मूल्याङ्कनको अभावले गर्दा प्राकृतिक र मानव निर्मित विपद्को जोखिम झनै बढेको छ । जलवायु परिवर्तनका असरहरू दिनप्रतिदिन स्पष्ट बन्दै गइरहेका छन्—मौसमी अनियमितता, अत्यधिक वर्षा, सुख्खा र प्रकोपको आवृत्ति तथा तीव्रता बढ्दो क्रममा छ ।
संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदन अनुसार नेपाल प्राकृतिक प्रकोप जोखिममा विश्वमै २०औँ स्थानमा रहेको छ । भूकम्पको दृष्टिकोणबाट ११औँ, बाढी तथा पहिरोको दृष्टिले ३०औँ स्थानमा छ । त्यस्तै, जलवायु जोखिम मापन गर्ने संस्था ‘जर्मनवाच’ले नेपाललाई जलवायु परिवर्तनको दीर्घकालीन जोखिममा पर्ने विश्वकै १०औँ संवेदनशील देशका रूपमा उल्लेख गरेको छ ।
भक्तपुर जिल्लाको सन्दर्भमा हेर्ने हो भने भूकम्प, पहिरो, आगलागी, बाढी, सडक दुर्घटना र महामारी प्रमुख जोखिमका रूपमा देखिन्छन् । जिल्लाको उत्तरमा अवस्थित चाँगुनारायण र दक्षिणमा पर्ने सूर्यविनायक नगरपालिकाका पहाडी भूभागहरू भिरालो रहेकाले पहिरोको जोखिम उच्च छ । जबकि, समथर भूभागमा अवस्थित भक्तपुर र मध्यपुर नगरपालिकाहरूमा हनुमन्ते र मनोहरा खोलाको कारण मनसुनमा डुबान र बाढीका समस्या देखिने गरेका छन् ।
पछिल्ला वर्षहरूमा बाढी, पहिरो, आगलागी, महामारीजस्ता घटनाहरू दोहोरिरहँदा स्थानीय बासिन्दा संकटमा परेका छन् । समयमै उद्दार, राहत र पुनःस्थापना कार्य नगरे थप क्षति हुने निश्चित छ । तर, अध्ययनहरूले विपद् आउनु पूर्व गरिने पूर्वतयारी, जोखिम न्यूनीकरण र सचेतनात्मक उपायहरू विपद्पछिको उद्दार र पुनःनिर्माण भन्दा सस्तो र प्रभावकारी हुने गरेको अध्ययनले देखाएका छन् ।
यस सन्दर्भमा चाँगुनारायण नगरपालिका पनि कुनै अपवाद छैन । यहाँ भूकम्प, पहिरो, बाढी, आगलागी, महामारी तथा सडक दुर्घटनाको जोखिम समयसमयमा देखिने गरेको छ । नगरको भू–बनावट र तीव्र शहरीकरणका कारण समस्या थप जटिल हुँदै गएको छ । विशेषतः वर्षायाममा बाढी र पहिरोका घटनाले यहाँका बासिन्दालाई प्रत्यक्ष असर पार्ने गरेका छन् ।
त्यसैले, सबैको समन्वयमा र दिगो विपद् व्यवस्थापन प्रणालीको खाँचो छ, जहाँ स्थानीय निकाय, संघ–संस्था, समुदाय र स्वयं नागरिकको सक्रिय सहभागिता हुन सकोस् ।
चाँगुनारायण नगरपालिकाको विपद् व्यस्थापन सम्बन्धि संगठनात्मक संरचना तथा गतिविधिहरु :
– चाँगुनारायण नगरपालिका तथा वडामा विपद् व्यवस्थापन समिति गठन/पुनर्गठन कार्य भएको छ ।
– नगरस्तरीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना भएको छ ।
– विपद् व्यवस्थापन कोषको लागि रु. ३ करोड सहित आर्थिक वर्ष २०८१/०८२ को लागि विपद् व्यवस्थापनको लागि रु ६ करोड ३० लाख बजेट विनियोजन गरिएकोे छ ।
– आइसेट नेपाल र डीसीए नेपालको आर्थिक सहयोगमा नेक्सस परियोजना अन्तर्गत ४४ लाख रुपैयाँको कार्यक्रम तथा गतिविधिहरू साझेदारीमा सञ्चालन भइरहेको ।
– विपद्को प्रतिकार्यका लागि सामग्री सहित नगरप्रहरी सम्मिलित टोली तयारी अवस्थामा रहेको छ ।
– चाँगुनारायण नगरपालिकाको आर्थिक सहयोगमा जुद्ध वारुणयन्त्रले दमकल सञ्चालन गरिरहेको छ ।
– भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
– नगरपालिकाले आफ्नै ३ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
– एम्बुलेन्स सञ्चालन गर्ने संघसस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।
– रेडक्रसमार्फत नगरवासी बिरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेकोछ ।
– नगरस्तरमा रहेको खुल्ला स्थान पहिचान र नक्सांकन, हेल्मेट डाँडामा आश्रयस्थल निर्माण उद्धार सामग्रीहरु भण्डारण गरिएको छ ।
– वन डढेलोका २३ जना अग्नि नियन्त्रक र विपद् व्यवस्थापन स्वयंसेवक (सामुदायिक खोज तथा उद्धार र प्राथमिक उपचारक) र विपद् व्यवस्थापन प्रशिक्षणका ८३ जना गरी १०६ जना जनशक्ति रहेका छन् ।
– वडास्तरमा विपद तथा मनसुन पूर्वतयारी सम्बन्धी अभिमुखीकरण सञ्चालन भएको छ ।
– डेँगी रोकथाम र नियन्त्रणका लागि नगरपालिका र वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन भएको छ ।
यसै आर्थिक वर्षमा भएको विपद् व्यवस्थापन अन्तर्गत कार्य प्रगति विवरण :
– चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि ऐन, नीति, नियम, योजना, कार्यविधिहरु तयारी तथा आवश्यकता अनुसार अद्यावधिक र संशोधन गरिएको ।
– विपद् व्यवस्थापन कोष स्थापना गर्नुका साथै कोष सञ्चालन कार्यविधि तथा आकस्मिक कार्यसञ्चालन केन्द्रको स्थापना गरिएको ।
– मनसुनको समयमा चौबीसै घण्टा आकस्मिक कार्यसञ्चालन केन्द्र क्रियाशील भई बाढी तथा पहिरोजस्ता विपद्को अवस्थामा तत्काल प्रतिकार्य गरिएको ।
– यस वर्षको मनसुनबाट प्रभावित नगरवासीलाई २२५ थान त्रिपाल, ८०० रोल प्लाष्टिक, १६०० बोरा वितरण गरिएको ।
– नगर प्रहरी सहितको विपद् व्यवस्थापन टोलीद्वारा पहिरोबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पहिरो पञ्छाउने कार्य गरिएको ।
– सुरक्षा निकायहरु नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्य र समनवयमा प्रभावकारी रुपमा मनसुन प्रतिकार्य गर्न सफल ।
– ६० जना भन्दा बढी विपद् व्यवस्थापन स्वयंसेवकहरुलाई विपद् व्यवस्थापन सम्बन्धि ३ दिने प्रशिक्षण सञ्चालन ।
– अधिक वर्षात्का कारण पूर्ण रुपमा घर क्षति भएका प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान प्राप्त गर्ने प्रक्रियाको सुरुवात तथा नगरपालिकाको तर्फबाट प्रति परिवार १५ हजार प्रदान ।
– मनसुनजन्य विपद्हरु तथा आगलागी र जनावर आतंकबाट प्रभावित ३६ परिवारलाई राहत स्वरुप नगद सहयोग ।
– विभिन्न खालका विपद्का कारण प्रभावित आर्थिक अवस्था न्यून भएका ५ परिवारलाई जस्तापाता वितरण ।
– गृह मन्त्रालयको कार्यदलद्वारा चाँगुनारायणको क्षतिग्रस्त स्थानको निरीक्षण ।
– विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषय लगायत अन्य विषय समावेशका लागि स्थानीय पाठ्यक्रम परिमार्जन कार्यशाला सञ्चालन ।
– जाइकाको काठमाडौं उपत्यका उत्थानशीलताको विपद जोखिम शासन सुदृढीकरण परियोजनाको टोलीसँग नगरपालिकाले विपद् व्यवस्थापनमा गरेको प्रगतिको बारेमा छलफल ।
– सशस्त्र प्रहरी बललाई ६ लाख बराबरको खोज तथा उद्धार सामग्रीहरू हस्तान्तरण ।
– त्रैमासिक रुपमा विपद् व्यवस्थापन सम्बन्धि गतिविधि तथा जनचेतनामूलक सन्देश सहितको विपद् बुलेटिन प्रकाशन तथा खुल्ला रक्तदान कार्यक्रमको आयोजना ।
– मनसुनजन्य विपद््का कारण आंशिक क्षति भएका मन्दिर, विद्यालय, खानेपानी योजना, मूल तथा सहायक सडक र सार्वजनिक भौतिक पूर्वाधारको पूर्ननिर्माणको प्रक्रिया सुरु ।
– स्थानीय विपद् व्यवस्थापन समिति तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको नियमित बैठक सञ्चालन ।
– अन्र्तपालिका समनवय अन्र्तगत मनसुनजन्य विपद्बाट प्रभावित मण्डन देउपुर, रोशी गाँउपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक नगरपालिकालाई १० लाख बराबरको खाद्यान्न सहयोग ।
– यस वर्षको बाढीबाट प्रभावित किसान परिवारलाई ४३८ थान तारजाली वितरण ।
– आइसेट नेपालको सहयोगमा नगरपालिकाको राहत वितरण मापदण्ड तथा बहुउद्देश्यीय खुल्लास्थान प्रयोग सम्बन्धि निर्देशिकाको मस्यौदा तयार ।
– आइसेट नेपाल र डीसीएको सहयोगमा नेक्सस परियोजना अन्तर्गत ग्ल्म्च्च् क्अयचभअबचम तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखाको समन्वयमा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम मूल्यांकन सम्पन्न्न ।
विपद् व्यवस्थापन अन्तर्गत चाँगुनारायण नगरपालिकाका असल अभ्यासहरु :
१. विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्ति सहितको विपद् व्यवस्थापन इकाई स्थापना ।
२. वार्षिक रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गतिविधिहरु सहित कूल बजेटको तीन प्रतिशत भन्दा बढी विनियोजन ।
३. सरकारी तथा गैह्र सरकारी नियकाहरुसँग सहकार्य, समन्वय र साझेदारीमा विपद् व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरु सञ्चालन ।
४.नगरपालिकाको आकस्मिक कार्यसञ्चालन केन्द्र स्थापना तथा विपद् पोर्टल अद्यावधिक ।
५. नेपाल सरकारद्वारा निर्देशित गरेबमोजिमका विपद् व्यवस्थापन सम्बन्धि ऐन, नीति, नियम, निर्देशिका, कार्यविधि, कार्यढाँचा, योजनाहरु तयारी ।
६. मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयारगरी नियमित रुपमा अद्यावधिक गर्ने र सोही अनुरुप मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्य सञ्चालन ।
७. वडास्तरमा खोज–उद्दार सामाग्री सहित विपद् व्यवस्थापन स्वयंसेवक टोली तयारी ।
८. नियमित रुपमा विपद् जोखिम न्यूनीकरणका लागि सामाजिक सञ्जाल, स्थानीय एफ एम तथा रेडियो र समुदायसँग सहकार्य गरी जनचेतनामूलक गतिविधिहरु (माइकिङ, अभिमुखीकरण, प्रदर्शन, बुलेटिन प्रकाशन)
९. २०८१ सालको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त संरचना निर्माणको लागि नियमित विकासको बजेटबाट १० प्रतिशत कटौती गरी स्थापना गरेको कोष अन्तर्गत पुनःनिर्माणका कार्यहरु सञ्चालन ।
(लेखक थापा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाईका पूर्वप्रमुख हुन् ।)
चाँगुनारायण स्मारिका २०८२ बाट साभार


