images
images

चाँगुका ८ प्वाइन्ट

प्रकृति, संस्कृति र इतिहासको त्रिवेणी चाँगुनारायणको अद्भुत पर्यटन यात्रा


  • 343
    SHARES
  • २०८२ पौष २९ गते मंगलबार

    प्रकृति, संस्कृति र इतिहासको त्रिवेणी चाँगुनारायणको अद्भुत पर्यटन यात्रा

    काठमाडौं उपत्यकाको छेउमै रहेर पनि आफ्नै मौलिकता र गहिरो सांस्कृतिक जरा हालेको चाँगुनारायण नगरपालिका एउटा यस्तो गन्तव्य हो, जहाँ समयको लयसँगै घुम्न सकिन्छ । कहिले प्राचीन मन्दिरहरूमा, कहिले हरियाली डाँडाकाँडामा, कहिले मौन ध्यानमा त कहिले हर्षोल्लासपूर्ण उत्सवमा । यति विविधता भएको चाँगु वास्तवमा नै अतुलनीय रोमांचक भूमि हो ।

    चाँगुनारायण ऐतिहासिक स्थल त हुँदै नै हो । सँगसँगै यो प्रकृति, अध्यात्म, ग्रामीण जीवनशैली र साहसिक क्रियाकलापहरूको सुन्दर संगम पनि हो । यहाँको पर्यटकीय गन्तव्यहरू न त केवल हेरिरहँदा रमाइलो हुने दृश्य मात्र हुन्, न त केवल इतिहासका मौन साक्षी; यी सबै स्थलहरूमा एउटा गहिरो अनुभूति, कथा र अर्थ लुकेको पाइन्छ ।

    चाँगुनारायण नगरपालिकाभित्र पर्यटकलाई आकर्षित गर्ने दर्जनौं स्थलहरु छन् । ती मध्ये यहाँ आठ प्रमुख पर्यटकीय स्थलहरूको चर्चा गर्ने प्रयास गरिएको छ । यी यस्ता स्थल हुन् जसले तपाईंलाई आराम, रोमाञ्चकता, ज्ञान र आत्मिक शान्तिको समुचित स्वाद दिलाउनेछन् ।

    १.इतिहास, अध्यात्म र कलाको संगम
    काठमाडौं उपत्यकाको पूर्वोत्तर डाँडामा रहेको चाँगुनारायण मन्दिर नेपालको साँस्कृतिक गौरव, धार्मिक आस्था र कलात्मक सम्पदाको जीवन्त प्रतीक हो । एकातर्फ प्राचीन इतिहास बोकेको यो मन्दिर हिन्दू धर्मको गहिरो आस्थाको केन्द्र हो, भने अर्कातर्फ यो विश्वकालागि जीवित सम्पदाको रुपमा रहँदै आएको छ ।

    धार्मिक र अध्यात्मिक आस्था
    भगवान विष्णुलाई समर्पित यो मन्दिर नेपालमा विष्णुको सबैभन्दा पुरानो थानका रूपमा मानिन्छ । विभिन्न पुराणहरूमा उल्लेख भएको यो स्थलमा भक्तजनहरूले त्रिविक्रम, नरसिंह, वामन, गरुडवाहन आदि रूपमा भगवानको मूर्ति दर्शन गर्न सक्छन् । यहाँको मूलदेवता नरसिंह अवतारको रूपमा रहेका छन् जसले भक्ति र विस्मय दुबै भाव उत्पन्न गर्छन् ।

    चाँगुनारायणमा पुगेपछि पर्यटक केवल एक मन्दिर हेरेर फर्किँदैनन्, उनीहरूले आफूलाई गहिरो आध्यात्मिक वातावरणमा पाउँछन् । यहाँको शान्त र पवित्र वातारणले मान्छेलाई आत्मिक शान्तिको अनुभूति गराउँछ ।

    ऐतिहासिक महत्वको उदाहरण
    चाँगुनारायण केवल धार्मिक दृष्टिले मात्र होइन, ऐतिहासिक दृष्टिले पनि अत्यन्त मूल्यवान छ । मन्दिर परिसरभित्र रहेको राजा मनदेवले राखेको शिलालेख पुरानो अभिलेख मानिन्छ । यसले नेपालको प्राचीन राजनैतिक र धार्मिक इतिहासमा चाँगुनारायणको योगदान स्पष्ट पार्दछ ।

    पर्यटकका लागि यो कुनै काल्पनिक कथा होइन, बरु इतिहासको साक्षात प्रमाण हो—हातले छुने र आँखाले पढ्न सकिने अतीत ।

    कलात्मक चमत्कार
    चाँगु मन्दिर नेपाली काठकला र ढुंंगामा कुँदिने मूर्तिकलाको अनुपम नमुना हो । मन्दिरको तोरण, स्तम्भ, झ्याल, मूर्ति, र छानाको जटिल नक्काशी हेर्दा एउटा युगको कलात्मक चेतनालाई नजिकबाट नियालेको अनुभूती हुन्छ । कलाकार, इतिहासविद् र वास्तुकलामा रुचि राख्ने पर्यटकहरूका लागि यो मन्दिर एउटा खुला संग्रहालय नै हो ।

    युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गौरव
    सन् १९७९ मा चाँगुनारायण मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि यसको महत्व अन्तर्राष्ट्रिय करण बन्यो । यो कुनै एक जाति, धर्म वा देशको मात्र धरोहर भएन, यो सम्पूर्ण मानव जातिको साझा सम्पदा बन्यो । 

    किन घुम्ने चाँगुनारायण ?
    यदि तपाईं सांस्कृतिक गहिराइ भएको, शान्त र गहिरो अर्थ राख्ने स्थल खोजिरहनुभएको छ भने—चाँगुनारायण तपाईँको लागि उपयुक्त गन्तव्य हो । यो आँखालाई रोमांचकता दिने स्थल मात्र होइन, यहाँ अनुभूति हुन्छ—धार्मिक आस्था, ऐतिहासिक स्मरण, र कलाको अनुभूति ।

    यसो पनि भन्न सकिन्छ, ‘चाँगुनारायण आउनु भनेको नेपालकै आत्मासँग साक्षात्कार गर्नु हो ।’

    २. पुरातात्विक संग्रहालय
    धेरै पर्यटकले छुटाउने गर्छन् – चाँगुनारायण मन्दिर परिसरमा रहेको पुरातात्विक संग्रहालय, जुन चाँगुनारायणको साँचो आत्मा बुझ्ने आँखीझ्याल हो ।
    किन पस्ने चाँगुको पुरातात्विक संग्रहालय ?
    नेपालको प्राचीन इतिहासलाई प्रत्यक्ष हेर्न सकिने दुर्लभ अवसर । संग्रहालयमा राखिएका प्राचीन मूर्तिहरू, ताम्रपत्रहरू, शिलालेखहरू, औजारहरू र धार्मिक यन्त्रहरूले नेपालको राजनीतिक, धार्मिक र सामाजिक इतिहासको झलक दिन्छन् । कक्ष–कक्षमा थुप्रिएका यी वस्तुहरू केवल सामग्री होइनन् – इतिहासका सन्देशवाहक हुन् ।

    शिक्षा र अनुसन्धानको स्रोत
    इतिहासमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता र पर्यटकका लागि यो संग्रहालय एक खुला पाठशाला हो । यहाँ भेटिने अभिलेखहरू, मूर्तिकलाका शैलीहरू, लेखनशैली, धातु प्रयोग आदिले प्राचीन नेपालबारे गहिरो जानकारी दिन्छन् ।

    नेपाली कलाको यात्रा
    यहाँका मूर्तिहरूमा गरिएका कुँदाइ, बुट्टा, अभिव्यक्ति र संरचना हेर्दा स्पष्ट हुन्छ—नेपाली कलाकारिता केवल धार्मिक होइन, दार्शनिक पनि हो । पर्यटकले यस मार्फत नेपालको मूर्तिकला र कलाको विकासक्रम बुझ्न सक्छन् ।

    धर्म, दर्शन र संस्कृति एकसाथ बुझ्ने मौका
    पुराना विष्णु मूर्तिहरू, तान्त्रिक यन्त्रहरू, गरुडको प्रतीकहरू र शिलालेखहरूले नेपालमा वैदिक र पौराणिक परम्पराले कसरी जीवनशैली बनायो भन्ने देखाउँछ । यसले पर्यटकलाई सतही घुमाइभन्दा गहिरो बौद्धिक सन्तुष्टि दिन्छ ।

    नगए पर्यटकले के छुटाउँछन् ?
    – नेपालको सबैभन्दा पुरानो अभिलेख
    – प्राचीन मूर्तिकलाका अनुपम नमूनाहरू 
    – इतिहासको गहिराइ बुझ्न पाउने दुर्लभ अवसर 
    – चाँगुनारायण क्षेत्रको वास्तविक सम्पदामूलक अर्थ 

    मन्दिर दर्शनपछि यही संग्रहालयमा केही समय बिताउनु, त्यो यात्राको सार्थक समापन जस्तै हुन्छ । किनभने त्यहाँ केवल वस्तु होइन, नेपाल स्वयं बोलिरहेको हुन्छ ।

    ३. जहाँ हिमाल बोल्छ
    काठमाडौँ उपत्यकाको पूर्वोत्तर छेउमा, समुद्री सतहदेखि करिब २,१९५ मिटरको उचाइमा अवस्थित नगरकोट एक यस्तो पर्यटकीय गन्तव्य हो, जहाँ प्रकृति, संस्कृति, साहसिकता र शान्ति एउटै स्थानमा समेटिन्छन् । नगरकोट यस्तो ठाउँ हो जो नेपाल भ्रमण गर्ने हरेक यात्रुको सूचीमा पर्छ नै । 
    नगरकोट केवल रमणीय दृश्य हेर्ने ठाउँ मात्र होइन, यो एउटा अनुभव हो । जसलाई आँखाले देख्ने मात्र होइन, आत्माले महसुस गर्नुपर्छ ।

    नगरकोट नेपालकै थोरै स्थानमध्ये एक हो, जहाँबाट सगरमाथासहित ८ भन्दा बढी प्रमुख हिमशृङखलाहरु एकसाथ देख्न सकिन्छ । मौसम सफा भएको बिहान सूर्योदयको बेला हिमालमा पर्ने सुनौलो झल्कोले पर्यटकको मनमा अविस्मरणीय छाप पार्दछ । यहाँबाट देखिने सूर्योदय विश्वमै प्रसिद्ध छ, र हजारौं पर्यटक हरेक वर्ष यही दृश्य हेर्न नगरकोट पुग्छन् ।

    धेरै पर्यटक नगरकोटलाई ‘काठमाडौं नजिकको स्वर्ग’ मान्छन् । यहाँको हरियाली, शुद्ध हावा, चराहरूको चिरबिर र पाखा–पखेरा घुम्ने मौनता– यी सबैले नगरकोटलाई ध्यान, विश्राम र रोमांचकता चाहनेहरूको लागि उपयुक्त गन्तव्य बनाएको छ ।

    पदयात्रा र साहसिक खेलहरू
    नगरकोट ‘पानोरामिक ट्रेल’ बाट पदयात्राको नयाँ आकर्षण बनिसकेको छ । नगरकोट–चाँगुनारायण, नगरकोट–तेलकोट, नगरकोट–झाउँलाङ जस्ता पदमार्गहरूले पर्यटकलाई हिमाल, बन र स्थानीय बस्तीहरूसँग साक्षात्कार गराउँछ । यहाँ प्याराग्लाइडिङको सुरुवातले नगरकोटलाई साहसिक खेलप्रेमीहरूका लागि पनि मनपर्ने गन्तव्य बनाउँदैछ ।

    संस्कृति र ग्रामीण जीवनको सजीव झल्को
    नगरकोटको होमस्टे अनुभव पर्यटकलाई केवल हेर्ने, बस्ने र खाने मात्र होइन नेपाली ग्रामीण जीवनशैली बुझ्ने पनि मौका मिल्छ । यहाँका समुदायमा बसेर स्थानीय खाना, भाषा, संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न सकिन्छ । यसरी नगरकोट सांस्कृतिक अध्ययन र ‘सस्टेनेबल टुरिज्म’ को आदर्श उदाहरण पनि हो ।

    नगरकोट नेपाल भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि एउटा अनिवार्य गन्तव्य हो । यसले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक विविधता, ग्रामीण जीवनशैली र पर्यावरणीय शान्तिलाई एउटै फ्रेममा राखेर प्रस्तुत गर्छ ।

    नगरकोट घुम्न जानु केवल छुट्टी मनाउनु मात्र होइन – नेपाल बुझ्ने यात्रा पनि हो । यदि कोही नगरकोट घुमेको छैन भने उसले नेपालको ‘प्राकृतिक अनुहार’को दर्शन गर्नबाट बञ्चित भइरहेको छ । 

    ४. प्रकृतिसँगै हिँड्ने एउटा यात्रा
    के तपाईं काठमाडौंको नजिकै, भीडभाडबाट टाढा, एकदिनको प्राकृतिक यात्रामा निस्कन चाहनुहुन्छ ? हुन्छ भने चाँगुनारायण–नगरकोट पदमार्गले तपाईंलाई प्रकृतिसँगै हिँड्ने अनुपम यात्राको अनुभव प्रदान गर्छ ।


    पदयात्राको सार
    चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्मको पदमार्ग करिब ८ किलोमिटर लामो छ ।
    यो मार्गले तपाईंलाई हरियाली जंगल, साना गाउँहरू, खेतबारी, झरनाहरू, चराहरूको गीत र हिमाली दृश्यको साक्षात्कार गराउँछ । हाइकिङको क्रममा पर्यटक केवल हिँड्दैनन् – नेपाल महसुस गर्छन् । 

    यसरी गर्ने पदयात्राको सुरुवात 
    स्टेप १
    – काठमाडौंको कोटेश्वर वा पुरानो बसपार्कबाट भक्तपुरको  गाडी वा ट्याक्सी चढेर पुग्नुहोस् । 
    – त्यहाँबाट चाँगुनारायण मन्दिर पुग्न लोकल बस वा ट्याक्सी सजिलै पाइन्छ ।
    (कुल समयः १.५ घण्टा) ।

    स्टेप २
    चाँगुनारायण मन्दिर अवलोकन गर्नुहोस् ।
    त्यसपछि मन्दिरबाट सुरु हुने ट्रेलले तपाईंलाई नगरकोटतर्फ लानेछ ।

    स्टेप ३
    – साथमा पानी, हल्का खाना (नट्स, चकलेट, फलफूल), ह्याट, र रेनकोट बोक्नुहोस् ।
    – मार्ग स्पष्ट छ, तर गुगल म्यापमाऋजबलनगलबचबथबलतयल्बनबचपयतज्ष्पभ सेभ गर्नु राम्रो हुन्छ ।

    के के देख्न र अनुभूत गर्न सकिन्छ ?
    – मार्गमा खुला भागबाट सगरमाथा, लाङटाङ, गणेश र अन्नपूर्णाका टाकुरा टल्किरहेको देख्न सकिन्छ । (मौसम खुला छ भने ।)
    – तामाङ र नेवार समुदायका गाउँहरू पार हुँदै जानु पर्छ । चाहानेहरुले बाटोमा होमस्टेमा बसेर तातो दाल–भात, साग र गुन्द्रुकको अचार खाएर विश्राम गर्न सक्छन् ।
     
    – बाटोमाढकमक्क हरियाली, बिभिन्न जातिका चरा (लालपुच्छ्रे, फिस्टेल, बुलबुल) को मधुर आवाजले यात्रा झनै रमाइलो बनाउँछ ।

    – वर्षायाममा स–साना झरनाहरू भेटिन्छन् । घाम लागेका दिनमा खेतबारीको फाँट र बाँसको झ्याङले दृश्यलाई पेन्टिङ जस्तै बनाउँछ ।

    – सुलभ दूरी : केवल ३–४ घण्टा पदयात्रा (सामान्य फिटनेस भएकाका लागि) ।

    ५. होमस्टेगाउँ : अनुभवका केन्द्रहरू
    चाँगुनारायणको वास्तविक सौन्दर्य भनेको स्थानीय बस्तीमा घुलमिल हुने अवसर पनि हो । नगरकोट, ताथली, चौकिटोल, तेलकोट, दुवाकोटलगायत स्थानहरूमा फैलिएका स्थानीय होमस्टे र अनुभव केन्द्रहरू आजकाल पर्यटकहरूका लागि साँचो नेपाल चिन्ने ‘खुला कक्षा’ बनेका छन् ।

    गाउँमा बास, नेपालीपनको अनुभव
    यहाँको होमस्टेमा बस्दा पर्यटक पाहुना बन्छन् । परिवारकै सदस्यजस्तो महसुस हुन्छ । बिहान गाईको घाँस काट्न जाने, खेतमा रोपाइँ हेर्ने (वा गर्ने), परम्परागत अन्न सुकाउने, ढिकी–जाँतोको आवाज सुन्ने — यी सबै अनुभूति होटेलको सुविधा भन्दा पृथक, जीवन्त र आत्मीय हुन्छन् ।

    परिकार मात्र होइन, परम्परा चाख्ने मौका
    स्थानीय ढंगमा पकाइएको ढिँडो, गुन्द्रुक, सेलरोटी, र मासको अचार न केवल स्वादिलो हुन्छ, त्यसको साथमा संस्कृति, परम्परा र आदरभाव पनि सँगै चाखिन्छ । गाउँले आमाले बनाएको खाना, गाईको दूध, घरैको अन्न– यी सबैले पर्यटकको पेट मात्र होइन, मन पनि भरिन्छ । 

    भाषा र बोलीको जीवित संग्रहालय
    गाउँको बोली–भाषा, उखान–टुक्का, लोककथा र बालबालिकाको रमाइलो संवाद पर्यटकलाई स्थानीय जीवनशैली बुझ्न सघाउँछ । 

    यात्रा होइन, आत्मीय भेटघाट
    स्थानीय होमस्टेमा बिताएको एक रात, खेतमा सघाएको एक घण्टा, घरका बुढाबाजेसँग खाएको एक कप चिया– यी सबै अनुभवले तपाईंको यात्रा केवल पर्यटकीय नभई भावनात्मक र अर्थपूर्ण बनाउँछ । यस्तै अनुभव नै ’सस्टेनेबल टुरिज्म’ को मर्म पनि हो ।

    ६ ब्रह्माकुमारी ज्ञानसरोवर
    यहाँ बनेका तपस्या केन्द्रहरू, चारधामका प्रतीक स्थलहरू, र प्राकृतिक वातावरणले ध्यान गर्न उपयुक्त ऊर्जा प्रदान गर्छ । मानिसलाई संयम, शान्ति र सन्तुलनमा ल्याउने अभ्यास यहीं सम्भव छ ।

    प्रकृति र चेतनाको संगम
    नगरकोटको स्वच्छ वायु, हरियाली, र हिमशृङखलाको पृष्ठभूमिमा बसेर ध्यान गर्ने अनुभवले जो कोहीलाई आन्तरिक यात्रा र प्राकृतिक सौन्दर्य दुबैको मजा दिन्छ ।

    सांस्कृतिक अध्ययनको अवसर
    पूर्वीय दर्शन, गीता ज्ञान र जीवन दर्शनका कक्षाहरू यहाँ नियमित हुन्छन् । यहाँको शिक्षाले जीवनमा शान्ति, अनुशासन र समर्पणको मूल्य सिकाउँछ – जुन आजको विश्वलाई सायद खाँचो छ । 

    ७. सुन्दर गाउँहरूः संस्कृति, शान्ति र आत्मीयताको संगम
    चाँगुनारायण नगरपालिका नेपाली गाउँजीवनको गहिरो झलक दिने थलो पनि हो । यहाँका परम्परागत बस्तीहरू, हरियाली गाउँहरू र आध्यात्मिक केन्द्रहरूले पर्यटकलाई ‘नेपाल देख्ने’ भन्दा पनि ‘नेपाल महसुस गर्ने’ अनुभव दिन्छन् ।

    ताथलीः नेवारी सभ्यता बाँचेको गाउँ
    – चाँगुनारायण क्षेत्रभित्र पर्ने ताथली बस्तीहरू नेवारी समुदायको मौलिक पहिचान बोकेका गाउँहरू हुन् । यहाँ पाइने पुराना घरहरूमा कुँदिएका काठका झ्याल–ढोका, छानामा सजाइएका देवी–देवताका चित्र, र गाउँभित्र बज्ने परम्परागत भजनको धुनले पर्यटकलाई समयको सुरुङबाट शताब्दीअघिको संस्कृति भित्र लैजान्छ ।

    पर्यटकले यहाँको होमस्टे प्रणालीमार्फत स्थानीय खाना (जस्तैः योमरी, छोयला, कचिला, अचार), पोशाक (हाकुपाटासी र टोपी), भाषा र पर्वहरू प्रत्यक्ष अनुभव गर्न सक्छन् । यो केवल अध्ययन होइन — सांस्कृतिक अन्तक्र्रिया र जीवनशैलीमा सहभागी हुने अविस्मरणीय मौका हो ।

    तेलकोटः हरियाली र शान्तिको फेदीमा बसेको गाउँ
    नगरकोट र ताथलीको केही पर रहेको तेलकोट गाउँ अझै पनि शहरीकरणबाट टाढा रहेको गाउँ हो । यहाँको हरियाली, चिसो हावा, र गाउँको सौन्दर्यले जो कोहीको मन शान्त पार्छ । तेलकोटबाट पनि हिमालयको दृश्य अवलोकन गर्न सकिन्छ ।

    ८.सांस्कृतिक पर्व र जात्रा अनुभव स्थलहरू
    चाँगुनारायण नगरपालिकामा वर्षभरि विभिन्न जात्रा, पर्व र नाचगान कार्यक्रमहरू सञ्चालन हुन्छन् । विशेष गरी गाईजात्रा, चाँगुनारायण जात्रा, भजन मेला, देउसी–भैलो, चामुन्डा नाचजस्ता कार्यक्रमहरूमा सहभागिता जनाउनु भनेको स्थानीय संस्कृतिमा घुलमिल हुनु हो ।

    पर्वमा सहभागी हुन सक्ने समय छ भने, त्यो नै पर्यटकको यात्राको सबैभन्दा रोमाञ्चक हिस्सा बन्न सक्छ ।

    चाँगुनारायण कुनै एउटा विषयमा मात्र केन्द्रित गन्तव्य होइन । यहाँ इतिहास, धर्म, संस्कृति, प्रकृति, ग्रामीणता र मानवता सबै समाहित छन् । माथि उल्लेखित ९ प्वाईन्ट मिलाएर योजना बनाउँदा तपाईंको यात्रा ज्ञान, शान्ति र रमाइलोले भरिएको हुनेछ ।

    चाँगु ८ प्वाइन्ट ट्राभल रुट
    १. चाँगुनारायण मन्दिर — यात्रा प्रारम्भ बिन्दु
    समयः बिहान ८ः०० – ९ः३०
    मुख्य आकर्षणः विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर, पुरातन मूर्तिकला, विष्णुको नरसिंह अवतार
    गतिविधि : दर्शन, फोटो, शान्त ध्यान
    विशेषः मनदेवको अभिलेख अवलोकन

    जाने यसरी ?
    काठमाडौंदेखि करिब एक–आधा घण्टा यात्रा गरी भक्तपुर हुँदै चाँगुनारायण पुग्न सकिन्छ । यहाँ ट्रेकिङ, बाइकिङ वा स्थानीय सवारीको सुविधा पनि उपलब्ध छ ।

    २. चाँगुनारायण पुरातात्विक संग्रहालय
    समयः ९ः३० – १०ः३०
    मुख्य आकर्षणः प्राचीन मूर्ति, शिलालेख, औजार, इतिहास
    गतिविधिः संग्रहालय भ्रमण, अध्ययन, गाइडेड टुर

    ३. चाँगुनारायण–नगरकोट पदयात्रा
    समयः १०ः३० – १४ः००
    दूरीः करिब ८ किमी, ३–४ घण्टा
    मार्गः हरियाली जंगल, साना गाउँ, हिमाल दृश्य
    विशेषः बाटोमा होमस्टेमा खाना वा चिया विश्राम

    ४. नगरकोट – हिमाल दर्शन र विश्राम
    समयः १४ः०० – १६ः००
    मुख्य आकर्षणः सगरमाथा सहित ८ हिमशृङ्खला, सूर्योदय÷सूर्यास्त दृश्य
    गतिविधिः अवलोकन टावर, फोटोग्राफी, रमाइलो विश्राम

    सजिलो पहुँच 
    काठमाडौंबाट केवल १.५ घण्टाको यात्रा गरे पुगिने नगरकोट सार्वजनिक बस, ट्याक्सी वा निजी सवारी साधनमार्फत सहजै जान सकिन्छ ।

    ५. नगरकोट-तेलकोट-चौकिटोल होमस्टेमा रात बिताउने
    समयः साँझ १६ः०० देखि
    अनुभवः स्थानीय खानपिन, पारिवारिक वातावरण, सांस्कृतिक परिकार
    विशेषः लोकगान, आगो छेउ गफ, तातो दालभात÷गुन्द्रुक

    ६. ब्रह्माकुमारी ज्ञानसरोवर ध्यान केन्द्र (अर्को बिहान)
    समयः बिहान ७ः०० – ८ः००
    अनुभवः योग, ध्यान, अध्यात्मिक शान्ति
    विशेषः प्राकृतिक ऊर्जा, पूर्वीय ज्ञान

    ७. ताथली, चौकिटोल – संस्कृतिमा रमाउने गाउँहरू
    समयः ८ः३० – १०ः००
    अनुभवः नेवारी घरहरू, काठकला, परम्परागत गाउँ जीवन
    विशेषः लोकसंस्कृति, पुराना परम्परा, दैनिक जीवनको अवलोकन

    ८. स्थानीय उत्पादन र स्मृति सामग्री किनमेल (फेरि चाँगु फर्कने)
    समयः १०ः३० – ११ः३०
    अनुभवः हस्तकला, स्थानीय उत्पादन
    विशेषः काठ÷ढुंगा मूर्ति, परम्परागत गहना, चिया, अचार
    टिप्स र तयारीः
    हल्का झोला, पानी, टोपी, सनस्क्रिन, स्न्याक्स बोक्ने । 
    ट्रेकिङ जुत्ता र मौसम अनुसार लुगा आवश्यक ।
    स्थानीय होमस्टेमा बुकिङ पहिले नै गर्नु उपयुक्त हुन्छ ।

    चाँगुनारायण स्मारिका २०८२ बाट साभार




    images

    Logo