images
images

व्यावसायिक लेखापाल पाठ्यक्रम : भविष्य निर्माणको उत्कृष्ट यात्रा, ज्ञान, सीप र अवसरको संगम


  • 1.1K
    SHARES
  • २०८२ माघ ३ गते शनिबार

    व्यावसायिक लेखापाल पाठ्यक्रम : भविष्य निर्माणको उत्कृष्ट यात्रा, ज्ञान, सीप र अवसरको संगम

    1. पृष्ठभूमि र परिचय (Background and Introduction)
    वर्तमान विश्व आर्थिक परिवेश तीव्र गतिमा रूपान्तरण हुँदैछ। लेखा पारदर्शिता, वित्तीय जवाफदेहिता र सुशासनको आवश्यकता विश्वव्यापी रूपमा बढ्दो क्रममा छ। आजको युगमा व्यवसायहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पारदर्शी, तुलनायोग्य र उत्तरदायी वित्तीय प्रणाली निर्माणमा केन्द्रित छन्, र यसको केन्द्र विन्दुमा रहेका छन्— दक्ष, जिम्मेवार र व्यावहारिक सीपले सुसज्जित प्रोफेशनल एकाउन्टेन्टहरू ।

    विकसित राष्ट्रहरूले लेखा प्रणालीलाई कर संकलनको माध्यम मात्र नभई समग्र अर्थतन्त्रको मेरुदण्डका रूपमा लिएका छन्। वित्तीय अनुशासन, पारदर्शिता, नियामक अनुपालन, सुशासन तथा लगानी सुरक्षामा लेखापालहरूको भूमिका निर्णायक बन्दै गएको छ। नेपाल पनि क्रमशः यही मार्गमा अघि बढिरहेको छ। लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन नेपालले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमानहरु (International Financial Reporting Standards: IFRS) को अवधारणालाई आत्मसात गर्दै नेपाल वित्तीय प्रतिवेदन मानहरु (Nepal Financial Reporting Standards: NFRS) को विकास गरेको छ र यसको पूर्ण कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको छ।

    यही परिप्रेक्ष्यमा, नेपालमा लेखामान बोर्ड (Accounting Standards Board: ASB) ले व्यवसायिक संरचना अनुसार लघु निकाय (Micro Entities), साना तथा मझौला निकाय (Small and Medium Sized Entity), ठूला निकाय (Large Entity), र गैर मूनाफा संस्था (Not-for-Profit Organization) का लागि छुट्टाछुट्टै लेखामानहरु (मापदण्डहरू) निर्माण गरिसकेको छ। नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (The Institute of Chartered Accountants of Nepal: ICAN) ले ती मापदण्डहरूको कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र आर्थिक वर्ष २०८२/८३ देखि यी मापदण्डहरूको पूर्ण कार्यान्वयन गर्ने नीति लिएको छ।

    तर, यस्ता मापदण्डहरूको सफल कार्यान्वयन केवल नीति निर्माणले सम्भव हुँदैन। यसको लागि व्यावहारिक सीप, पेशागत दक्षता र अनुभवसहितको जनशक्ति अपरिहार्य हुन्छ। नेपालमा व्यवस्थापनमा स्नातक र स्नातकोत्तर उपाधि हासिल गरेका हजारौं युवाहरू केवल किताबी ज्ञानले मात्र बजारमा प्रतिस्पर्धा गर्न नसकेर बेरोजगार छन्। विश्वविद्यालयबाट प्राप्त शिक्षाले बजारको आवश्यकता र माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न सकिरहेको अवस्था छैन ।त्यसैले, लेखा प्रणालीमा सुधार, वित्तीय सुशासन, प्रवर्द्धन, पारदर्शिता कायम गर्ने तथा युवालाई व्यावहारिक पेशागत सीपमा दक्ष बनाउने राष्ट्रिय आवश्यकता महसुस गर्दै—नेपाल अडिटर्स एशोसिएसन (अडान) ले दीर्घकालीन दृष्टिकोण अनुरूप आजको आवश्यकता बनेको व्यावहारिक, प्रतिस्पर्धात्मक र नियामक मापदण्डहरूमा पारंगत, व्यवावसायिक र पेशागत दक्ष लेखापालहरु (Professional Accountants) उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (Council for Technical Education and Vocational Training: CTEVT) सँग सहकार्य गरी CTEVT को सम्बन्धन्‌मा पेशागत लेखापाल पाठ्यक्रम (Professional Accountant Course) सञ्चालनमा ल्याएको हो। यस कोर्सले नेपालको लेखा क्षेत्रको सुदृढीकरण मात्र होइन, युवाहरूका लागि रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ।

    2. पेशागत लेखापाल पाठ्यक्रमको आवश्यकता (Need for the Professional Accountant Course)
    आजको तीव्र प्रतिस्पर्धात्मक र द्रुत रूपमा परिवर्तन भइरहेकेको व्यावसायिक परिवेश केवल शैक्षिक उपाधिले मात्र सफलता सुनिश्चित गर्न सक्दैन। अबको युगमा व्यावहारिक सीप, पेशागत दक्षता र नियामक मापदण्डहरूको गहिरो ज्ञान बिना अवसरलाई सम्भावनामा रूपान्तरण गर्नु असम्भव जस्तै देखिन्छ। यथार्थ के हो भने—नेपालमा लेखा, व्यवस्थापन तथा अर्थशास्त्र विषयमा माध्यमिक शिक्षा (१२ कक्षा) र उच्च शिक्षा प्राप्त गरेका हजारौं युवाहरू व्यावहारिक तालिमको अभावमा रोजगारीका अवसरबाट पछि परिरहेका छन् र बेरोजगारीको चपेटामा पर्न बाध्य छन्।

    आजको बजारमा सफल करियर बनाउन केवल शैक्षिक उपाधि पर्याप्त हुँदैन। वित्तीय विवरणको तयारी, लेखा सफ्टवेयरको दक्ष प्रयोग, लेखामान् अनुरूप लेखा व्यवस्थापन, कर योजना तथा नियमन पालना जस्ता व्यावहारिक सीपहरू अहिले अपरिहार्य भइसकेका छन्। ती सीपहरू बिना प्रतिस्पर्धात्मक बजारमा टिकिरहनु कठिन छ। यथार्थ यही हो शैक्षिक उपाधि बिना सीप अधुरो हुन्छ, र सीप बिना शैक्षिक उपाधि केवल प्रमाणपत्रमा मात्र सीमित रहन्छ।

    नेपालमा सहकारी, लघुवित्त, व्यवसायिक फर्म तथा कम्पनीहरूको संख्यामा तीव्र वृद्धि भइरहेको छ। नयाँ व्यवसायिक उद्यमहरूको विकास, कर प्रणालीमा सुधार र सुशासनप्रतिको अपेक्षासँगै दक्ष लेखापालहरूको माग अभूतपूर्व रूपमा बढ्दो छ। यिनै कारणले व्यावहारिक रूपमा तालिमप्राप्त दक्ष लेखापालहरूको उत्पादन अपरिहार्य बनिरहेको छ।

    Professional Accountant Course ले यही अभाव र आवश्यकतालाई सम्बोधन गर्दछ। यस कोर्सले प्रशिक्षार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी—व्यावहारिक लेखा सिद्धान्त, नियम, ऐन तथा कानुनको परिपालन, वित्तीय विवरण तथा प्रतिवेदन तयारी, कर व्यवस्थापन र व्यावसायिक आचारसंहितामा दक्ष बनाउँछ। यसले उनीहरूलाई प्रतिस्पर्धी बनाउँछ, रोजगारीका लागि योग्य बनाउँछ र स्वरोजगारको ढोका समेत खोलिदिन सहयोग गर्नेछ।

    3. पेशागत लेखापाल पाठ्यक्रमको औचित्य (Rationale of the Professional Accountant Course)
    नेपालको आर्थिक संरचना, नियामक वातावरण, तथा स्थानीय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा Professional Accountant Course को औचित्य अत्यन्त स्पष्ट र समयसापेक्ष देखिन्छ। पछिल्ला वर्षहरूमा लेखा तथा वित्तीय प्रणालीमा आएका संरचनागत सुधार, सुशासनप्रतिको अपेक्षा तथा पारदर्शिताका मागले पेशागत दक्षताको आवश्यकता नयाँ उचाइमा पुर्‍याएको छ । पेशागत लेखापाल पाठ्यक्रमको औचित्यलाई थप पुष्टी गर्ने प्रमुख कारणहरु तल उल्लेख गरिएको छ ।  

    (१) व्यवसायिक क्रियाकलापमा तीव्र वृद्धि (Rapid Growth in Business Activities): नेपालमा व्यापार, उद्योग, सहकारी तथा वित्तीय संस्थाहरूको आकार, प्रकृति र संख्यामा उल्लेखनीय वृद्धि भएको छ। यस्ता संस्थाहरूमा लेखा प्रणालीको सुव्यवस्थित व्यवस्थापन, वित्तीय विवरणको पारदर्शिता तथा करको अनुपालन सुनिश्चित गर्न दक्ष व्यवसायिक लेखापालको भूमिका अनिवार्य बनिसकेको छ।

    (२) पारदर्शिता र जवाफदेहिता (Transparency and Accountability):सार्वजनिक, निजी तथा सहकारी क्षेत्रका संस्थाहरूमा आर्थिक सुशासन, पारदर्शिता तथा जवाफदेहिता कायम गर्न योग्य र अनुभवी लेखापालहरूको माग तीव्र गतिमा बढिरहेको छ।

    (३) कर तथा नियमन पालना (Tax and Regulatory Compliance): नेपालको कानुनी संरचना अनुसार कर र नियामक मापदण्डको पालना अब विकल्प होइन, बाध्यता हो। यस्ता मापदण्डहरू सुनिश्चित गर्न लेखापालहरूको सक्रिय, ज्ञानसम्पन्न र उत्तरदायी भूमिका अपरिहार्य हुन्छ।

    (४) नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा निर्धारित लेखा मापदण्डहरू (Accounting Standards Prescribed by ICAN): नेपाल लेखामानहरु र नेपाल वित्तीय प्रतिवेदनमानहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रशिक्षित दक्ष तथा सक्षम लेखापालहरूको आवश्यकता बढ्दो छ। यो कोर्स त्यस्ता मापदण्डहरूको सफल कार्यान्वयन गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ठोस माध्यम हो।

    (५) अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र मान्यता (International Competition and Recognition): नेपालका लेखा मापदण्डहरू अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी विकास गरिएका छन्। यस्तो तालिमले नेपाली लेखापालहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने मात्र होइन, विश्वस्तरीय मान्यता प्राप्त गर्न पनि सहयोग पुर्‍याउँछ।

    4. व्यावसायिक लेखापाल पाठ्यक्रमका प्रमुख विशेषताहरू (Key Features of the Professional Accountant Course)

    (१) दक्षता विकासमा केन्द्रित सिकाइ प्रणाली (Competency-Based Learning System): यो कोर्स दक्षतामा आधारित शिक्षण पद्धतिमा तयार गरिएको छ, जसले ज्ञान मात्र नभई व्यावसायिक सफलताका लागि आवश्यक तीन मुख्य पक्ष सीप पक्ष, उपकरण पक्ष र सोच पक्ष (Skill Set, Tool Set and Mindset) लाई सन्तुलित रूपमा समेट्छ।

    (क) सीप पक्ष (Skill Set): लेखा सफ्टवेयरको प्रयोग, कर गणना, वित्तीय विवरण तथा प्रतिवेदन तयार पार्ने, कर व्यवस्थापन र कानुनी दायित्वहरूको पालना जस्ता व्यावहारिक सीपहरू प्रदान गरिन्छ। सहभागीहरू आधुनिक लेखा प्रणाली प्रति परिचित बन्नेछन्, जुन बदलिंदो व्यवसायिक वातावरणमा अनिवार्य भइसकेको छ।

    (ख) उपकरण पक्ष (Tool Set): Accounting Software, Advanced Excel, Standard Formats लगायत आवश्यक विभिन्न मापदण्ड अनुरूपका प्रारूपहरूको प्रभावकारी प्रयोगमा प्रशिक्षार्थीहरूलाई दक्ष बनाइन्छ।

    (ग) सोच पक्ष (Mindset): आत्मविश्वास, पेशागत नैतिकता, नेतृत्व क्षमता र उद्यमशील सोच विकास गर्न केन्द्रित शिक्षण प्रविधि अपनाइन्छ, जसले समस्यासमाधान सोच, अनुकूलनशीलता र पेशागत इमानदारीको अभ्यास सुदृढ गर्छ।

    यी तिनै पक्षको संयुक्त विकासले प्रशिक्षार्थिलाई एक पूर्ण तथा दक्ष लेखा व्यवसायी (Complete and Competence Accounting Professional) मा रूपान्तरण गर्ने कार्य गर्दछ।

    (२) व्यावहारिक अभ्यासमा केन्द्रित पाठ्यक्रम (Practical-Based Learning): पाठ्यक्रमको करिब ८०% भाग व्यावहारिक प्रयोगमा आधारित छ। लेखा सफ्टवेयर प्रयोग, डेटा इन्ट्री, वित्तीय विवरण तयार गर्ने अभ्यास र प्रतिवेदन लेखन जस्ता अभ्यासहरू समावेश गरिएका छन्।

    (३) तीन महिनाको अनिवार्य  कार्यस्थलमा आधारित तालिम (Mandatory Three Month On-the-Job Training: OJT): नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्य चार्टर्ड एकाउन्टेन्ट र रजिष्टर्ड अडिटरहरुको प्रत्यक्ष सुपरीवेक्षणमा प्रशिक्षार्थीहरूलाई लेखापरीक्षण फर्महरूमा राखी वास्तविक परिवेसमा आधारित तालिम प्रदान गरिन्छ, जसले व्यावसायिक कार्यपद्धति बुझ्न सहयोग पुर्‍याउँछ।

    (४) अनिवार्य परियोजना कार्य (Mandatory Project Work): लेखा तथा करसम्बन्धी वास्तविक समस्यामा आधारित अनुसन्धानात्मक परियोजना कार्य गराइन्छ, जसमा वित्तीय विवरणको तयारी तथा विश्लेषण समाधानको प्रस्तुति र प्रतिवेदन लेखन समावेश हुन्छ।

    (५) नेपाल लेखामान/नेपाल वित्तीय प्रतिवेदनमान अनुसार लेखा प्रणालीको अभ्यास (Practice of Accounting System as per NAS/NFRS): लघु निकाय, साना तथा मझौला निकाय र मुनाफा रहित संस्थाका लागि उपयुक्त वित्तीय विवरणहरू जस्तै वित्तीय स्थितिको विवरण, नाफा/नोक्सानको विवरण, आम्दानी तथा खर्चको विवरण, नगद प्रवाहको विवरण र लेखा नीति एवम् टिप्पणीहरु तयार गर्ने सीपहरूको विकास गरिन्छ।

    (६) कर प्रणाली र कानुनी ज्ञानमा व्यावहारिक दक्षता ( Practical Competence in Tax System and Legal Knowledge):  आयकर, मूल्य अभिबृद्धि कर, स्थायी लेखा नम्बर, लगायत नेपालका कर व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा व्यावहारिक तालिम प्रदान गरिन्छ।

    (७) नेतृत्व, संचार र उद्यमशील क्षमताको विकास (Development of Leadership, Communication and Entrepreneurship Ability) :  प्रशिक्षार्थीहरूमा नेतृत्व क्षमता, प्रभावकारी संचार  र उद्यमशील सोचको विकास गरिन्छ, जसले उनीहरूलाई लेखा व्यवसाय मात्र होइन, परामर्शदाता (Consultant) वा टीम लिडरको भूमिकामा पनि सक्षम बनाउँछ।

    (८) आधुनिक लेखा सफ्टवेयरमा दक्षता (Proficiency in Modern Accounting Software): एक्सेल  (Excel) को सीमाभन्दा बाहिर गई ट्याली (Tally) जस्ता डिजिटल लेखा सफ्टवेयरहरू प्रयोगमा दक्षता प्रदान गरिन्छ

    (९) समसामयिक लेखा, कर र कानुनी मापदण्डको ज्ञान (Knowledge of Contemporary Accounting, Taxation, and Legal Standards): नेपाल लेखामान, नेपाल वित्तीय प्रतिवेदनमान, आयकर, श्रम ऐन लगायत समसामयिक कानुनी तथा लेखापरीक्षण मापदण्डहरूको समग्र जानकारी प्रदान गरिन्छ।

    (१०) नेटवर्किङ्ग र पेशागत सम्बन्धको विस्तार (Expansion of Networking and Professional Relationships): प्रशिक्षक, लेखा विज्ञ तथा विभिन्न व्यावसायिक संस्थासँग प्रत्यक्ष अन्तर्क्रियाको अवसर प्रदान गरिन्छ, जसले रोजगारीको सम्भावना र पेशागत सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउँछ।

    (११) प्रमाणपत्रको प्राप्ति (Course Completion Certificate) : सफलतापूर्वक कोर्स सम्पन्न गरेपछि नेपाल अडिटर्स एशोसिएसन (AUDAN) द्वारा प्रमाणपत्र प्रदान गरिन्छ, जसले श्रम बजारमा प्रतिस्पर्धात्मक अवसर प्राप्त गर्ने आधार बन्न सक्छ।

    (१२) सम्मिश्रित सिकाइ (Blended Learning): भौतिक कक्षाकोठा, कम्प्युटर प्रयोगशाला, व्यक्तिगत मार्गदर्शन र अनलाइन प्लेटफर्महरूको समायोजनमार्फत राम्रो वातावरणमा आधुनिक सिकाइ प्रविधि अपनाइएको छ।

    5. पाठ्यक्रमको संरचना (Course Structure):
    कक्षा १२ मा समग्रमा न्यूनतम GPA 1.6 हासिल गरी तथा संस्थाद्वारा सञ्चालन गरिने प्रवेश परीक्षामा सफलतापूर्वक उत्तीर्ण भएका प्रशिक्षार्थीका लागि यो कोर्स सञ्चालन गरिएको हो।यस कोर्समा व्यवसायसँग प्रत्यक्ष सम्बन्धित व्यावसायिक विषयवस्तुहरू (Occupational Specific Modules) र पेशागत तथा उद्यमशीलता विकासमा केन्द्रित विषयवस्तुहरू (Generic Modules) समावेश गरिएका छन्।

    (क) व्यावसयिक विशिष्ट पाठ्यांशहरु (Occupational Specific Modules): यस पाठ्यक्रम अन्तर्गत प्रमुख लेखा कार्यहरु (Core Accounting Tasks) समावेश गरिएका छन् । 

    (१) स्रेस्ताको किताब, बजेट व्यवस्था र तलब प्रक्रिया (Books of Account, Budgeting and Payroll Processing) 

    (२) साना तथा मझौला निकायहरु, लघु निकायहरु र गैर-नाफामूलक संस्थाहरुका लागि वित्तीय विवरणहरु जस्तै वित्तीय स्थितिको विवरण, नाफा वा नोक्सानको विवरण, बृहत आम्दानीको विवरण, पूँजीमा परिवर्तनको विवरण, आम्दानी तथा खर्चको विवरण, नगद प्रवाहको विवरण, वित्तीय विवरण सम्बन्धी टिप्पणीहरु र कर निर्धारण (Financial Statements for Small and Medium Entities, Micro Entities and Not-for-Profit Organizations such as Statement of Financial Position, Profit or Loss Statements, Statement of Comprehensive Income, Statement of Cash Flows, Notes to Financial Statement and Taxation) ।

    (३) अन्य कानुनी पालना, सिकायत, सम्पत्ती र दायित्वको व्यवस्थापन (Other Legal Compliance, Asset and Liability Management) 

    (ख) पेशागत साधारण पाठ्यांशहरु (Generic Modules) 
    यस पाठ्यांश अन्तर्गत संचार तथा रोजगारीयोग्य सीपहरु, व्यावहारिक गणित, लैंङ्गिक समानता तथा सामाजिक समावेशिकरण, उद्यमशीलता विकास (Communication and Employability Skills, Practical Mathematics, Gender Equality and Social Inclusion and Entrepreneurship Development)  समावेश छन् ।यिनको माध्यमबाट प्रशिक्षार्थीहरुमा आत्मनिर्भर हुन सक्ने सोच, योजना निर्माण र कार्यान्वयन तथा उद्यमशील क्षमताको विकास गराइन्छ । 

    प्रशिक्षार्थीहरुले करिब २८ हप्ता अर्थात १,१२० घण्टा सैद्धान्तिक (२२४ घण्टा)  र प्रयोगात्मक (८९६ घण्टा) तालिम सफलतापूर्वक सम्पन्न गरेपछि, थप १२ हप्ता अर्थात ५७६ घण्टाको कार्यगत तालिम (On the Job Training) मा अनिवार्य रुपमा सहभागी हुनुपर्नेछ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थ (ICAN) बाट मान्यता प्राप्त यो कार्यस्थलमा आधारित तालिम सञ्चालन लेखापरीक्षण गर्ने संस्थाहरुमा गरिनु पर्नेछ । यसरी यो कोर्स जम्मा १६९६ घण्टाको हुन्छ । 

    पाठ्यक्रममा समावेश विषयवस्तुको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान कक्षाकोठामा प्राप्त गरेपछि प्रशिक्षार्थीहरूले ६० घण्टाको परियोजना कार्य (Project Work) पनि अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ। यस अन्तर्गत लेखा तथा करसँग सम्बन्धित व्यावहारिक समस्यामा आधारित अनुसन्धान, वित्तीय विवरणको तयारी, प्रतिवेदन लेखन, विश्लेषण र समाधान प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गराइन्छ।

    6. विशिष्ट तथा योग्य प्रशिक्षक (Specialized and Qualified Trainer/Faculty)
    यस पाठ्यक्रम तालिम प्रदान गर्ने प्रशिक्षकहरू विषयगत विज्ञता, गहिरो व्यावसायिक अनुभव, व्यावहारिक ज्ञान तथा प्रभावकारी शिक्षण क्षमतामा निपुण हुन्छन्। प्रशिक्षकहरुसँग लेखा तथा लेखापरीक्षण सम्बन्धी राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त पेशागत उपाधि जस्तै चार्टर्ड एकाउन्टेन्ट (ICAN वा ICAI, ACCA, CMA) वा लेखा क्षेत्रमा स्नातकोत्तर उपाधि प्राप्त शैक्षिक योग्यता हुन्छ।

    प्रशिक्षकहरूले लेखा, लेखापरीक्षण, कर प्रणाली, वित्तीय व्यवस्थापन तथा व्यवसाय परामर्श सेवामा कम्तीमा पाँच वर्षको व्यावसायिक अनुभव हासिल गरेका हुन्छन्। प्रशिक्षकहरुले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) वा अन्य मान्यताप्राप्त संस्थाबाट कम्तीमा सात दिनको प्रशिक्षकका लागि तालिम (Training of Trainers: TOT) तालिम पनि प्राप्त गरेका हुन्छन्।

    यस्ता दक्ष, अनुभवी र योग्य प्रशिक्षकहरूद्वारा प्रदान गरिने प्रशिक्षण गुणस्तरीय, व्यावहारिक र सिकाइ केन्द्रित हुने भएकाले यस कोर्सबाट उत्पादित प्रशिक्षार्थीहरू उच्च गुणस्तर र व्यावसायिक दक्षताबाट सुसज्जित हुने अपेक्षाका साथ प्रशिक्षार्थीहरूलाई दक्ष पेशागत लेखापालको रूपमा तयार पार्ने उद्देश्य राखिएको छ । 

    7. कोर्स पश्चात् सम्भावनाहरू तथा अवसरहरू (Possibilities and Opportunities after Completion of the Course)
    यो व्यावसायिक लेखापाल कोर्स लेखा क्षेत्रमा भविष्य निर्माणको लागि एउटा शक्तिशाली माध्यम हो। यसबाट स्वरोजगार, रोजगार मात्र नभई अरूलाई रोजगारी दिने, समाजमा पहिचान बनाउने र आर्थिक रूपमा आत्मनिर्भर हुने जस्ता प्रशस्त सम्भावना तथा अवसरहरू प्राप्त हुनेछन्। तथापि, मुख्यरूपमा यस कोर्स पश्चात देहायका सम्भावना तथा अवसरहरू हुनेछन्:

    (१)रोजगारीको सुनिश्चितताको सम्भावना (Possibility of Employment Assurance)
    व्यवसायिक जगतमा दुवै क्षेत्रमा लेखा र लेखामान (Accounting Standards) मा दक्ष जनशक्तिको माग तीव्र गतिमा बढिरहेको छ।यो कोर्सले त्यही मानकहरूमा दक्षता अभिवृद्धि गराउने भएकाले प्रशिक्षार्थीहरूले सहकारी संस्था, लघुवित्त, संघ संस्था, विद्यालय, महाविद्यालय, अस्पताल, होटल, उद्योग लगायत विभिन्न प्रतिष्ठानहरूमा लेखासम्बन्धी जिम्मेवारी सहितको रोजगारी प्राप्त गर्ने सुनिश्चित अवसर पाउने सम्भावना हुनेछ । 

    (२) स्वरोजगार, रोजगार र रोजगारी सिर्जना (Self-Employment, Employment and Job Creation)
    यो कोर्सले पेशागत दक्षता र आत्मविश्वास निर्माण गर्ने भएकाले प्रशिक्षार्थीहरूले आफ्नै लेखा तथा कर परामर्श सेवा, लेखा फर्म, व्यवसाय दर्ता नविकरण सेवा, Tally तालिम, मूल्य अभिबृद्धि कर तथा आयकर परामर्श जस्ता कार्यमार्फत स्वरोजगारको बाटो समाउन सक्नेछन्। केवल Job Seeker नभई Job Creator का रूपमा स्थापित भई अन्य व्यक्तिलाई पनि रोजगार दिने अवसर प्राप्त हुनेछ।

    (३) समाजमा पहिचान, सम्मान र प्रतिष्ठा (Recognition, Respect and Honor in the Society):
    एक दक्ष लेखा प्राविधिकको पहिचान केवल पेशा होइन, समाजमा जिम्मेवार, विश्वासिलो र पारदर्शी व्यक्तित्वको रूपमा स्थापित हुने अवसर हो। वित्तीय अनुशासन र संस्थागत सुधारमा सशक्त योगदान दिने व्यक्तिका रूपमा प्रशिक्षार्थीहरू समाजमा वित्तीय सल्लाहकार र भरोसायोग्य सहयात्रीका रूपमा परिचित बन्नेछन्।

    (४) पेशागत उन्नतिको बाटो (Pathway to Professional Growth):
    लेखा तथा लेखापरीक्षणको आधारभूत र व्यावहारिक सीपले प्रशिक्षार्थीलाई प्रतिस्पर्धात्मक (Competitive)  बनाउन सहयोग पुर्‍याउने छ । 

    (५) अन्तर्राष्ट्रिय अवसरहरू (International Opportunities): 
    विदेशी बजारमा पनि लेखा क्षेत्रमा दक्ष जनशक्तिको माग उच्च रहेकोले यो कोर्सले विदेशमा समेत रोजगारी वा अध्ययनको अवसर प्रदान गर्न मद्दत गर्छ। विदेशी कम्पनीहरूको लेखा प्रणाली बुझ्ने क्षमता विकास हुने भएकाले अन्तर्राष्ट्रिय करियर निर्माणमा समेत ढोका खोल्न सहयोग गर्न सक्नेछ।

    (६) शिक्षण तथा तालिम दिने अवसर (Opportunities in Teaching and Training)
    यो कोर्सले प्रशिक्षार्थीलाई अरूलाई लेखा सम्बन्धी ज्ञान र सीप बाँड्न सक्ने क्षमता प्रदान गर्छ। विभिन्न तालिम केन्द्रहरू, संस्थाहरूमा स्रोत व्यक्ति (Resource Person), प्रशिक्षक (Trainer), वा पाठ्यक्रम संयोजक (Course Coordinator) को रूपमा काम गर्न सकिने अवसरहरू रहनेछन्।

    (७) लेखापाल मात्र होइन, एक व्यवसायिक लेखापाल बन्ने अवसर (Opportunity to become not Just an accountant, but a Professional Accountant):
    यो कोर्सले प्रशिक्षार्थीलाई साधारण लेखापाल (Accountant) मात्र  होइन, एक दक्ष र आत्मविश्वासी पेशागत लेखापाल (Professional Accountant) को रूपमा तयार गर्न महत्वपूर्ण भूमिका खेल्दछ। यो कोर्सको संरचना यति व्यावहारिक र पूर्ण छ कि यसले लेखा सम्बन्धी विषयगत ज्ञान मात्र नभई सञ्चार सीप (Communication Skill), प्रस्तुतीकरण सीप (Presentation Skill), उद्यमशीलता विकास  (Entrepreneurship Development), समूह समन्वय (Team Coordination) जस्ता पेशागत सीपहरूमा समेत दक्षता अभिवृद्धि गराउँछ। यसले प्रशिक्षार्थीलाई विभिन्न पेशागत बैठकहरूमा आत्मविश्वास सहित सहभागिता हुन, प्रस्तुतीकरण दिन र नेतृत्व गर्न सक्षम बनाउँछ। त्यसैले, यो कोर्सबाट व्यक्तित्व विकास, पेशागत आत्मविश्वास र नेतृत्वमुखी पेशागत लेखापाल (Leading Professional Accountant) को रूपमा स्थापित हुने सम्भावना अत्यधिक रहनेछ।

    (८)आर्थिक रूपान्तरण र राष्ट्र निर्माणमा भूमिका (Role in Economic Transformation and Nation Building):
    सशक्त लेखा प्रणालीले पारदर्शिता र वित्तीय अनुशासन कायम गर्ने भएकाले प्रशिक्षार्थीहरू सहकारी, लघुवित्त, साना उद्योग र स्थानीय तहमा वित्तीय सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन्। यसरी उनीहरूले व्यक्तिगत मात्र होइन, राष्ट्रको समग्र आर्थिक रूपान्तरणमा पनि योगदान पुर्‍याउने अवसर प्राप्त गर्नेछन्।

    संक्षेपमा भन्नुपर्दा, यो पाठ्यक्रम केवल रोजगारीको माध्यम मात्र नभई, प्रतिष्ठा, आत्मनिर्भरता, सामाजिक रूपान्तरण र आर्थिक नेतृत्वको दिशातर्फ डो-याउने सम्भावनाले भरिएको एक सशक्त व्यावसायिक यात्रा हो।

    ८.निष्कर्ष (Conclusion):
    पेशागत लेखापाल पाठ्यक्रम (Professional Accountant Course) तालिमको कार्यक्रम मात्र नभएर नेपालको लेखा प्रणालीको आधुनिकीकरण, युवाको सीप विकास र रोजगारी सिर्जनाको बहुआयामिक रणनीति हो। यस कोर्सले व्यावहारिक दक्षता, पेशागत मूल्य, तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक सीपको विकास गर्दै पूर्ण तथा सक्षम पेशागत लेखा व्यावसायी (Complete and Competent Accounting Professional)  उत्पादन गर्ने लक्ष्य लिएको छ।

    यो कोर्स ज्ञान तथा सीप प्राप्तिको यात्रा मात्र होइन अवसर सिर्जना गर्ने अभियान पनि हो। शिक्षा हुँदै रोजगारीसम्म पुग्ने समग्र व्यावसायिक मार्गचित्र हो (A comprehensive professional roadmap from education to employment), जसले युवालाई आत्मनिर्भर, स्वरोजगारमुखी र अरूलाई पनि रोजगारी दिन सक्ने क्षमतायुक्त बनाउँछ।

    नेपाल अडिटर्स एशोसिएसन (अडान) द्वारा सञ्चालित यो कार्यक्रमले युवा पुस्तालाई सशक्त बनाउँदै देशको वित्तीय सुशासनको आधारशिला मजबुत बनाउने दिगो उद्देश्य राखेको छ। “सीपयुक्त युवा नै समृद्ध नेपालको आधार हो” भन्ने विश्वासका साथ, यो कोर्सले दक्ष व्यावसायिक लेखापाल उत्पादनमार्फत राष्ट्रिय आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। लेखा पेशामा आफ्नो पहिचान बनाउने चाहना भएका प्रत्येक युवाका लागि यो एक ऐतिहासिक अवसर हो। यो केवल कोर्स होइन उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो। 

    आजको निर्णयले भोलिको नेतृत्व सुनिश्चित गर्न सक्छ।साँचो दक्षता भनेको “धेरै गर्नुमा होइन—राम्रो गर्नुमा हो”।यस कोर्समार्फत लेखाको सूक्ष्मता, पेशागतता र उत्कृष्टता प्राप्त हुनेछ, र सफलताको यात्रा यहीँबाट सुरु हुनेछ।

    “भविष्य उनीहरूको हो, जो आजैदेखि तयार हुन्छन्।”

    सन्दर्भ सामग्रीः 
    १. व्यावसायिक लेखापाल (Professional Accountant) १६९६ घण्टा अवधिको पाठ्यक्रम (दक्षतामा आधारित); प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखा, सानोठिमी, भक्तपुर


    मेघराज आचार्य
    मेघराज आचार्य नेपाल अडिटर्स एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत हुन् ।


    images

    Logo