images
images

माउन्टेन इनर्जीको ४२ मेगावाटको मिस्ट्रिखोला राष्ट्रिय प्रसारण लाइनमा, १५ दिनपछि विद्युत् बिक्री सुरु


  • 663
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    माउन्टेन इनर्जीको ४२ मेगावाटको मिस्ट्रिखोला राष्ट्रिय प्रसारण लाइनमा, १५ दिनपछि विद्युत् बिक्री सुरु

    काठमाडौं । माउन्टेन इनर्जी हाइड्रोपावर प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको सो आयोजनाको निर्माण सकिएर बिहीबारदेखि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समेत नोडिएको छ । योसँगै विद्युत् प्राधिकरणसँग भएको विद्युत् क्षमता समेत ४२ मेगावाटले थपिएको छ । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीनवटै युनिटबाट उत्पादित विद्युत्  केन्द्रीय प्रणालीमा जोडिएको जानकारी दिए । 

    ‘मिस्ट्रीखोलाबाट उत्पादीत विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रीय प्रणालीमा जोडियो’, उनले भने, ‘परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौं ।’ 

    परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राबिधिक टोली नारच्याङ पुगेको छ । नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षण सफल भएको थियो । परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । पन्ध्र दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दीपककुमार शाहले बताए । 

    यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन शुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना सङ्क्रमित भएपछि करिब डेढ महिना पछाडी धकेलिएको हो ।  

    विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०।५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।  

    बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८।५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ । 

    ५ अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ४३ लाख रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो । प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले १ अर्ब, जलविद्युत् विकास कम्पनीले १ अर्ब र नबिल बैंकले १ अर्ब, नेपाल बैंकले ५० करोड, लक्ष्मी बैंकले रु ४० करोड, सिद्धार्थ बैंकले ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । 

    विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्षपछि निर्माण शुरु भएको थियो ।  

    मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा–२ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ ।

    यो आयोजनाबाट प्रसारण हुने बिजुली नेपाल विद्युत् प्राधिकरणले ओ आर्थिक वर्षमा ५.४० रुपैयाँमा बिक्री गर्नेछ । अर्को आर्थिक वर्षदेखि भने ५.५६ रुपैयाँ प्रतियुनिट भुक्तानी पाउनेछ । सो आयोजनाबाट सुख्खा यामको ३ करोड ७ लाख ३ हजार ३ सय ६२ किलोवाट आवर र बर्षा याममा २० करोड ९१ लाख ७२ हजार ९ सय ४६ किलोवाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । 


    images

    Logo