काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । आयोजनाका अनुसार हालसम्म वित्तीय प्रगति भने ५८ प्रतिशत पुगेको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गतको अत्यन्त जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्ग आगामी सेप्टेम्बरसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र रूपमा अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार सुरुङभित्र यातायात सञ्चालन गर्ने तयारीअनुसार निर्माण कार्य जारी रहेको छ ।
पाँच वर्ष निर्माण अवधि तोकिएको यस आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । यस मोडलअन्तर्गत डिजाइन, स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै रहने व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भएपछि थप पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी वहन गर्नेछ । त्यसपछि अर्को पाँच वर्ष ‘प्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) लागू हुनेछ ।
आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण काम प्रभावित भएको थियो । नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले डकुमेण्टेसनमा समस्या, रुख कटान अनुमति प्रक्रियामा ढिलाइ तथा बजेट व्यवस्थापनमा चुनौती देखिएको आयोजनाले जनाएको छ । यद्यपि, हाल ती अधिकांश समस्या समाधानको चरणमा पुगेका छन् । म्याद थप (ईओटी) तथा माइलस्टोन समायोजनसम्बन्धी प्रक्रिया पनि अन्तिम चरणमा रहेको जानकारी दिइएको छ ।
सुरुङमार्गसँगै एप्रोच सडकअन्तर्गत मेन रोड–१ र मेन रोड–२ मा ‘रिजिड पेभमेन्ट’ निर्माणका लागि समेत स्वीकृति प्राप्त भइसकेको छ । सुरुङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ र ‘स्लोप प्रोटेक्शन’ का काम अघि बढाइनेछ । पैदल यात्रुका लागि रकसेडभित्र सुरक्षित मार्ग प्रयोगमा ल्याइने तथा बाहिरी भागमा खानेपानी व्यवस्थापन गरिने योजना रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको सुरुवाती लागत अनुमान करिब १० अर्ब रुपैयाँ भए पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता गरिएको थियो । आयोजनाले सुरुङमार्गको मुख्य उद्देश्य यात्राको दूरी घटाउनु भन्दा पनि पहिरोजन्य जोखिम न्यूनीकरण गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको स्पष्ट पारेको छ ।


