images
images

डब्लुएचओको ‘उमेरमैत्री शहर तथा समुदायको विश्वव्यापी सञ्जालमा आवद्ध हुने नेपालकै पहिलो चाँगुनारायण


  • 224
    SHARES
  • २०८३ आषाढ ४ गते बिहीबार

    डब्लुएचओको ‘उमेरमैत्री शहर तथा समुदायको विश्वव्यापी सञ्जालमा आवद्ध हुने  नेपालकै पहिलो चाँगुनारायण

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ‘उमेरमैत्री शहर तथा समुदायको विश्वव्यापी सञ्जाल’ मा आवद्ध हुने नेपालको पहिलो नगरपालिका बनेको छ । ज्येष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रम कार्यान्वयनमा गरेको प्रतिबद्धता र प्रयासको मूल्यांकनपछि विश्व स्वास्थ्य संगठनले नगरपालिकालाई उक्त सञ्जालको सदस्यता प्रदान गरेको हो ।

    नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा ९ वटै वडामा ‘स्वस्थ बुढ्यौली परियोजना’ सञ्चालन गर्दै आएको छ । सोही परियोजनाअन्तर्गत गरिएको आधारभूत सर्वेक्षण, ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम तथा उमेरमैत्री शहरको कार्यढाँचा अनुसार सञ्चालन गरिएका गतिविधिका आधारमा नगरपालिकाले सन् २०२५ को नोभेम्बरमा सदस्यताका लागि आवेदन दिएको थियो ।

    विश्वभरका शहर तथा समुदायलाई ज्येष्ठ नागरिकका लागि थप सुरक्षित, समावेशी र पहुँचयोग्य बनाउन सहयोग पुर्‍याउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले सन् २०१० मा उक्त सञ्जाल स्थापना गरेको हो । हाल विश्वका ५१ देशका करिब १,३०० शहर तथा समुदाय यस सञ्जालमा आवद्ध छन् ।

    mayer.jfif

    सदस्यता प्राप्त गरेपछि चाँगुनारायण नगरपालिकाले विश्वभरका सदस्य शहर तथा समुदायसँग अनुभव, अभ्यास र सिकाइ आदान–प्रदान गर्न सक्नेछ । साथै उमेरमैत्री शहर निर्माणका लागि नवीन तथा प्रमाणमा आधारित उपायहरू अवलम्बन गर्न प्राविधिक सहयोग प्राप्त गर्ने अवसरसमेत मिल्नेछ ।

    नगर प्रमुख जीवन खत्रीले सदस्यता प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनप्रति आभार व्यक्त गर्दै यो सदस्यता उमेरमैत्री शहर भएको प्रमाणपत्र नभई ज्येष्ठ नागरिकमैत्री वातावरण निर्माणप्रतिको प्रतिबद्धताको मान्यता भएको बताए । उनले ज्येष्ठ नागरिकका आवश्यकता सम्बोधन, कार्यक्रमको अनुगमन तथा मूल्यांकन र उनीहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने उल्लेख गरे।

    नगर उपप्रमुख रमेश बुढाथोकीले विश्वव्यापी सञ्जालको सदस्यता अनुभव, उपलब्धि र सिकाइ साझा गर्ने अवसर भएको बताए । उनका अनुसार विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभा भ्रमणका क्रममा नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरूको प्रस्तुतीकरण तथा अन्तरक्रियाले सदस्यता प्राप्त गर्ने प्रक्रियामा सकारात्मक योगदान पुर्‍याएको थियो।

    main.jfif
    undefined

    यसअघि नगर प्रमुख खत्रीले सन् २०२५ को जुनमा स्वीट्जरल्याण्ड भ्रमणका क्रममा ज्यूरीच र बील नगरका उमेरमैत्री अभ्यासहरूको अवलोकन गर्नुका साथै स्वीस रेडक्रसका प्रतिनिधिसँग चाँगुनारायणलाई उक्त सञ्जालमा आवद्ध गराउने विषयमा छलफल गरेका थिए । नगरपालिकाले ज्येष्ठ नागरिक सामुदायिक केन्द्र स्थापना गर्न चालु आर्थिक वर्षमै बजेट विनियोजन गरिसकेको जनाएको छ ।

    विश्व स्वास्थ्य संगठन तथा स्वीस रेडक्रसका प्रतिनिधिहरूले नगरपालिकाले स्वस्थ बुढ्यौली परियोजनामार्फत सञ्चालन गरेका गतिविधिले सञ्जालमा आवद्ध हुने आधार तयार गरेको उल्लेख गरेका छन् । सदस्यता प्राप्तिसँगै नगरपालिकाले आगामी आर्थिक वर्षदेखि उमेरमैत्री शहरका सूचकअनुसार थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।




    images

    Logo