भक्तपुर । सूर्यविनायक नगरपालिका–८ ले वडावासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख–दुःखको साथ’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडा कार्यालयले सूचना जारी गर्दै वडाभित्रका संवेदनशील परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागू गरिएको जनाएको हो । युवा वडा अध्यक्ष पुष्पराज बस्नेत भन्छन् – ‘संवेदनशील घटनामा जनतासँग जोडिने प्रयास गरेका हौं ।’
कार्यक्रमअन्तर्गत वडा नं. ८ भित्र कुनै पनि परिवारका सदस्यको मृत्यु भएमा अन्त्येष्टि तथा अन्य आवश्यक कार्यका लागि सम्बन्धित परिवारलाई रु. १० हजार नगद सहयोग प्रदान गरिनेछ । त्यसैगरी, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणलाई ध्यानमा राख्दै आमालाई रु। २ हजार ५०० बराबरको पोषण सामग्री तथा नवजात शिशुलाई रु। २ हजार ५०० बराबरका नयाँ कपडा उपलब्ध गराइने वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष बस्नेत भन्छन् –‘यो सुविधा प्राप्त गर्न लाभग्राही वडा नं. ८ को स्थायी बासिन्दा हुनुपर्ने वा वडाभित्र बसाइँसराइ गरी आएको हकमा बसाइँसराइ दर्ता भएको हुनुपर्ने छ ।’ साथै, जन्म वा मृत्यु भएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गरिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
वडा कार्यालयका अनुसार यस कार्यक्रमले नागरिकका जीवनका महत्वपूर्ण क्षणमा स्थानीय सरकारलाई अझ नजिक ल्याउने विश्वास गरिएको छ । थप जानकारी तथा सहयोगका लागि वडा कार्यालय वा वडा जनप्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।



