काठमाडौं । राष्ट्रिय विभूति मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीको अवसरमा बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले विशेष स्मृति दिवस कार्यक्रम आयोजना गर्ने भएको छ ।
फाउण्डेशनले प्रेस विज्ञप्ति जारी गर्दै साउन ९ गते शनिबार बिहान धरहरा परिसरस्थित भीमसेन स्तम्भमा नेपाली सेनाद्वारा सम्मान सलामीसहित पुष्पाञ्जली अर्पण, स्मृति सभा तथा वृहत् रक्तदान कार्यक्रम सञ्चालन गरिने जानकारी गराएको हो ।
कार्यक्रम बिहान ८:५५ बजेदेखि सुरु हुने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा नेपालको राजनीतिक इतिहासमा ३१ वर्षसम्म मुलुकको नेतृत्व सम्हालेका मुख्तियार जनरल भीमसेन थापाले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय एकताको संवर्द्धन, सामाजिक तथा सैनिक सुधार तथा नेपाली सेनाको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा चिकित्सा क्षेत्रका वरिष्ठ चिकित्सक प्रा. डा. बुद्धिबहादुर थापा तथा साहित्य क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि क्रियाशील वरिष्ठ साहित्यकार एवं गीतकार राजेन्द्र थापालाई ‘राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिभा सम्मान–२०८३’ प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।
यस अवसरमा बृहत रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ । “तपाईंको एक थोपा रगत, कसैको अमूल्य जीवन” भन्ने नारासहित सञ्चालन हुने रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि १ बजेसम्म चल्ने जनाइएको छ ।
फाउण्डेशनका अध्यक्ष डा. राम थापा क्षेत्रीले देशभक्त सेनानी तथा राष्ट्रिय विभूति भीमसेन थापाको योगदानको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण नेपाली जनसमुदायलाई आग्रह गरेका छन् ।


