काठमाडौँ । नेपाली सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। बुधबार नेप्से ७.७९ अंकले ओरालो लाग्दै २६८८ अंकमा सीमित भएको हो। यसअघि मंगलबार बजार ४.६४ अंकले घटेको थियो। पछिल्लो गिरावटसँगै तीन दिनयता बजारमा निरन्तर दबाब देखिएको छ।
बुधबारको कारोबारमा सुरुवाती समयमा केही सुधार देखिए पनि त्यो कायम रहन सकेन। दिउँसो १२ः४० बजे नेप्से २७०६ अंकको उच्च विन्दुसम्म पुगेको थियो। तर त्यसपछि बिक्री चाप बढ्दा बजार क्रमशः घट्दै अन्तिम समयसम्म नकारात्मक अवस्थामा बन्द भएको हो।
यस दिन कारोबार रकममा समेत कमी आएको छ। मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ।
बजार परिसूचकसँगै कारोबार गतिविधिमा देखिएको संकुचनले लगानीकर्ताको सतर्कता बढेको संकेत गरेको छ। पछिल्ला दिनमा बजारले निरन्तर गिरावटको सामना गरिरहेको छ।


