नेपालगन्ज । बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन् । प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो ।
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख उदय अधिकारीका अनुसार लगानीकर्ताले प्रविधिका कारण जहाँबाट पनि कारोबार गर्न सकिने भएकाले टिएमएस प्रयोगकर्ता बढेका हुन् । “अहिले लगानीकर्ता प्रविधिमा अभ्यस्त भइसकेका छन् । त्यसैले नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टिएमएसको सुविधा खोज्ने गरेका छन्,” उनले भने ।
उनका अनुसार बाँकेमा हालसम्म ६२ हजार ७९६ जनाले हितग्राही (डिम्याट) खाता खोलेका छन् । तीमध्ये ३७ हजार ३०० पुरुष, २५ हजार ४५९ महिला र ३७ जना अन्य रहेका छन् । करिब १० प्रतिशत खाता भने निष्क्रिय रहेको उनले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाले पनि हितग्राही खाता खोल्ने सुविधा दिन थालेपछि र शेयर बजारबाट आम्दानी गर्न सकिने विषयमा गाउँ–गाउँसम्म जनचेतना बढ्दै गएपछि नयाँ लगानीकर्ता थपिने क्रम तीव्र बनेको उनको भनाइ छ ।
लगानीकर्ता कुलप्रसाद शर्माले प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ) मा आवेदन दिनकै लागि पनि धेरैले डिम्याट खाता खोल्ने गरेको बताए । उनका अनुसार वास्तविक लगानीभन्दा पनि अरूलाई देखासिकी गर्ने प्रवृत्तिका कारण पनि हितग्राही खाताको सङ्ख्या बढेको छ ।
नेपालगञ्जमा हाल इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज र प्राइमो सेक्युरिटिजमार्फत शेयर कारोबार हुँदै आएको छ । बाँकेसँगै बर्दिया, दाङ, कैलाली, कालीकोट, जुम्लालगायत जिल्लाका लगानीकर्ताले पनि नेपालगञ्जलाई शेयर कारोबारको केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन् ।


