काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल ललितपुरका तीन नायब सुब्बा (नासु) सहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कार्यालयका नासु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्। उनीहरूसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
अख्तियारका अनुसार जग्गाको बकसपत्र गराइदिने क्रममा सेवाग्राहीलाई दुःख र हैरानी दिँदै घुस मागेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरूलाई एक होटलबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूको साथबाट घुसबापत लिएको भनिएको तीन लाख रुपैयाँ तथा स्रोत नखुलेको थप २४ हजार ८ सय ९० रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


