काठमाडौं । बैतडीमा जन्मिएर नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समय बिताउनुभएका बिरेन्द्र भट्ट अहिले चलचित्र विकास बोर्डको सदस्यको जिम्मेवारीमा छन् । क्यामेरा टेक्निसियन, लाइटम्यान, फोकसम्यान तथा सहायक क्यामेराम्यानका रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका भट्ट निरन्तरको संघर्ष, मेहनत र व्यावसायिक दक्षताका कारण सफल छायाकार हुँदै चलचित्र क्षेत्रको नीतिगत तहसम्म पुगेका हुन् ।
वि।सं। २०४६ सालमा बैतडीमा जन्मिएका भट्ट बुवा कृष्णदत्त भट्ट र आमा जानकी भट्टका जेठा सुपुत्र हुन् । उनले डोटीको जोरायल गाउँपालिका–रामपुर माध्यमिक विद्यालयबाट प्रारम्भिक तथा माध्यमिक शिक्षा हासिल गरे । एसएलसीपछि डडेल्धुरास्थित महेन्द्र उच्च माध्यमिक विद्यालयबाट प्लस टुको अध्ययन पूरा गरे ।
उच्च माध्यमिक तहको शिक्षा पूरा गरेपछि विसं २०६१ सालमा उज्ज्वल भविष्यको खोजीमा काठमाडौं प्रवेश गरेका भट्टले त्यही वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनले क्यामेरा टेक्निसियन, लाइटम्यान, फोकसम्यान तथा सहायक क्यामेराम्यानका रूपमा काम गर्दै प्राविधिक सीप र अनुभव हासिल गरे ।
सानो प्राविधिक भूमिकाबाट सुरु भएको उनको यात्रा विस्तारै सफल छायाकारका रूपमा स्थापित भयो । क्यामेराम्यानका रूपमा भट्टले दर्जनौँ म्युजिक भिडियोमा छायांकन गरेका छन् । एलिना चौहानको स्वरमा रहेको ‘धोकेबाजे हौ तिमी’, जय देवकोटाको ‘तिमी मर्छौ थाहा छ’ लगायतका गीत तथा म्युजिक भिडियोमा उनको छायांकन रहेको छ ।
त्यस्तै, ‘एक से एक’, ‘माइ ब्रदर’, ‘चिहान’, ‘धुन’, ‘आरोप’, ‘शिवा’, ‘रिलेसन’, ‘सुखानी’, ‘वे टु इन्जुरी’ लगायत एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा समेत उनले छायांकन गरेका छन् । चलचित्रसँगै म्युजिक भिडियो, डकुमेन्टरी तथा विभिन्न दृश्य–श्रव्य सामग्री निर्माणमा निरन्तर सक्रिय रहँदै उनले नेपाली चलचित्र क्षेत्रमा लामो समय योगदान पुर्याएका छन् ।
सुदूरपश्चिमको आवाज चलचित्र विकास बोर्डसम्म
लामो समय चलचित्र क्षेत्रमा सक्रिय रहेर हासिल गरेको अनुभव र योगदानका आधारमा भट्ट अहिले चलचित्र विकास बोर्डको सदस्यका रूपमा कार्यरत छन् । सुदूरपश्चिमबाट चलचित्र विकास बोर्डमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु उनको व्यक्तिगत उपलब्धिसँगै यस क्षेत्रको चलचित्र क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
बोर्ड सदस्यका रूपमा उनी चलचित्र क्षेत्रका समस्या समाधान, प्राविधिक विकास, चलचित्र उद्योगको प्रवर्द्धन तथा नेपाली चलचित्र क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउने विषयमा सक्रिय छन् ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका ओझेलमा परेका चलचित्र छायांकन गन्तव्यको पहिचान, विकास तथा चलचित्र पर्यटनको प्रवर्द्धनमा उनले पहल गर्दै आएका छन् ।
प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा तथा भौगोलिक विविधताले सम्पन्न सुदूरपश्चिम र कर्णालीलाई चलचित्र छायांकनका आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके त्यसले चलचित्र उद्योगसँगै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने भट्टको विश्वास छ ।
संघर्षबाट जिम्मेवारीसम्म
क्यामेरा टेक्निसियनका रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका भट्टको यात्रा अहिले चलचित्र विकास बोर्डको सदस्यसम्म आइपुगेको छ । यो यात्रा सहज थिएन । लामो समयको संघर्ष, निरन्तर मेहनत, कामप्रतिको इमान्दारिता र व्यावसायिक दक्षताले उनलाई क्रमशः जिम्मेवारीको नयाँ उचाइमा पुर्याएको हो ।
सुदूरपश्चिमको बैतडीबाट काठमाडौंको चलचित्र क्षेत्रमा प्रवेश गरेर क्यामेराको लेन्स समाउँदै सुरु भएको उनको यात्रा अहिले चलचित्र क्षेत्रको नीतिगत तहसम्म पुगेको छ । भट्टको यो यात्रा चलचित्र क्षेत्रमा सम्भावना खोजिरहेका नयाँ पुस्ताका लागि संघर्ष र निरन्तरताबाट सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणाको उदाहरणसमेत बनेको छ ।


