images
images

रसुवामा भीषण बाढीः १२ हेलिकोप्टरबाट उद्धार जारी, १६ प्रहरी सम्पर्कविहीन


  • 262
    SHARES
  • २०८३ भाद्र १० गते बुधबार

    रसुवामा भीषण बाढीः १२ हेलिकोप्टरबाट उद्धार जारी, १६ प्रहरी सम्पर्कविहीन

    काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना र निजी कम्पनीका गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ भने हालसम्म १२ जनाको उद्धार गरिएको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकोप्टरमार्फत स्याफ्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको हो । उद्धार कार्यमा नेपाली सेनाका ४ वटा र निजी हेलिकोप्टर कम्पनीका ८ वटा हेलिकोप्टर परिचालन भइरहेका छन् ।

    यसबीच, रसुवागढी हुँदै टिमुरे क्षेत्रमा रहेका तीन वटा प्रहरी युनिटमा कार्यरत १६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको हो ।

    रसुवागढीस्थित प्रहरी चौकीमा असईको कमान्डमा ९ जना, स्याफ्रुबेसी प्रहरी चौकीमा असईको कमान्डमा ९ जना तथा इलाका प्रहरी कार्यालय टिमुरेमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी कर्मचारी कार्यरत थिए । उनीहरूमध्ये १६ जना सम्पर्कविहीन रहेको जनाइएको छ ।

    बाढीका कारण टिमुरे बजार तथा आसपासका क्षेत्रमा घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । नुवाकोटको त्रिशूली बजार क्षेत्रमा समेत बाढीको प्रभाव परेको जनाइएको छ ।

    उद्धार तथा उपचारका लागि नेपाली सेनाको १४ सदस्यीय मेडिकल टोलीसहित एमआई–१७ हेलिकोप्टर पनि काठमाडौंबाट रसुवातर्फ परिचालन गरिएको छ । तत्कालका लागि त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रलाई आधार बनाएर टोलीले रसुवातर्फ उद्धार तथा उपचार सेवा दिनेछ ।

    नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा समेत सुरु गरेको छ । साथै, ६ नम्बर बाहिनीबाट विपद् व्यवस्थापन टोलीसहित थप जनशक्ति परिचालन गरिएको छ ।

    यसैबीच, भोटेकोसीमा आएको बाढीपछि घाइतेको द्रुत उपचार तथा विपद् व्यवस्थापनका लागि राष्ट्रिय ट्रमा सेन्टरको टोली पनि हेलिकोप्टरमार्फत रसुवा गएको छ । सम्भावित घाइतेको उपचारका लागि १०० वटा बेड तयारी अवस्थामा राखिएको छ ।

    घाइतेको उपचारका लागि काठमाडौंका राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नेपाल प्रहरी अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ ।

    टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति पुगेकाले तत्काल हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था नरहेको जनाइएको छ । स्थल तथा मौसमको अनुकूलता हेरेर हवाई उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पठाइने बताइएको छ ।

    बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो। बाढीको जोखिमलाई ध्यानमा राख्दै नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन भनिएको छ ।


    images
    images

    Logo