images
images

दशैँ मनाउन एक सातामै साढे ४ लाख यात्रु बाहिरिए


  • 129
    SHARES
  • २०८३ कार्तिक १ गते शनिबार

    दशैँ मनाउन एक सातामै साढे ४ लाख यात्रु बाहिरिए

    काठमाडौं । दशैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्दै गएको छ । घटस्थापनादेखि फूलपातीको बिहानसम्म झण्डै साढे ४ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानसम्म ४ लाख ४० हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका हुन् । उपत्यकाबाट बाहिरिने र भित्रिने सबै नाकामा सवारीसाधन तथा यात्रुको चाप बढेको कार्यालयले जनाएको छ ।

    आज फूलपातीदेखि सरकारी कार्यालय, विद्यालयलगायत विभिन्न निकायमा बिदा सुरु भएकाले गाउँघर फर्किने यात्रुको संख्या थप बढ्ने अनुमान गरिएको छ । विभिन्न पेसा तथा व्यवसायमा संलग्न व्यक्तिहरू दशैँ मनाउन आफ्नो घर फर्कने क्रम तीव्र हुने देखिएको छ ।

    यस वर्ष दशैँ मनाउन काठमाडौं उपत्यकाबाट झण्डै १० लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । दशैँका अवसरमा यसपटक नौ दिन लामो बिदा रहेकाले पनि उपत्यका छाड्ने यात्रुको संख्या बढ्ने अपेक्षा गरिएको हो । आइतबारसमेत बिदा हुने भएकाले सरकारी कार्यालय कात्तिक ९ गते पूर्णिमादेखि मात्रै खुल्नेछन् ।

    मौसमसमेत क्रमशः घमाइलो बन्दै गएकाले यात्रालाई सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, सडकमा ठूला अवरोध नरहे पनि यसअघि आएको बाढीपहिरोले क्षति पुर्‍याएका सडक, खाल्डाखुल्डी तथा बिग्रिएका सडकखण्डका कारण यात्रामा समस्या भइरहेको यात्रुहरूले गुनासो गरेका छन् ।

    दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यात्रुको चाप थप बढ्ने भएकाले यात्रुहरूले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिएको छ ।


    images
    images

    Logo