images
images

विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झर्‍यो


  • 197
    SHARES
  • २०८३ मंसिर ९ गते बुधबार

    विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झर्‍यो

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको विद्युत् चुहावट घटेर १२ दशमलव १६ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १२ दशमलव २६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्षमा शून्य दशमलव १० प्रतिशत बिन्दुले घटेको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार सरकारले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । निर्धारित लक्ष्यभन्दा पनि कम अर्थात् १२ दशमलव १६ प्रतिशतमा चुहावट सीमित गर्न सरकार सफल भएको हो ।

    विद्युत् चुहावट नियन्त्रणका लागि मन्त्री श्रेष्ठले नीतिगत तथा संरचनागत सुधारमा पहल गरेको सचिवालयले जनाएको छ । विद्युत् नेटवर्कको स्तरोन्नति, समयमै मर्मतसम्भार तथा प्राविधिक पक्षको सुधारलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयको भनाइ छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा लोड व्यवस्थापनसम्बन्धी समस्याका कारण विद्युत् चुहावट हुने गर्छ । पछिल्लो समय प्राविधिक समस्या देखिनासाथ तत्काल समाधान गर्ने प्रणाली विकास भएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको जनाइएको छ ।

    अन्तर्राष्ट्रिय बजारको तथ्याङ्कअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३ दशमलव ८ प्रतिशत रहेको छ । यस आधारमा नेपालको विद्युत् चुहावट क्षेत्रीय औसतभन्दा कम देखिएको छ ।


    images
    images

    Logo