भक्तपुर । फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणमा सक्रिय नेप्सेम्याकले सरसफाइसँगै समुदायको स्वास्थ्य प्रवर्द्धनलाई पनि प्राथमिकतामा राख्दै भक्तपुरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
‘सफा शहर, सभ्य नागरिक र स्वस्थ समाज’ निर्माणको लक्ष्यसहित काम गर्दै आएको नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) ले मंसिर १२ गते शनिबार राधेराधेस्थित कार्यालय परिसरमा दुई कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रममा खुला रक्तदानका साथै नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । बिहान ७ः१५ बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन आयोजकले सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेप्सेम्याकको सक्रिय संयोजनमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सहकार्यमा कार्यक्रम हुन लागेको हो । बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा स्वास्थ्य परीक्षण र रक्तदानका गतिविधि सञ्चालन गरिने संस्थाले जनाएको छ ।
फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणमा काम गर्दै आएको संस्थाले आफ्ना सदस्य तथा समुदायलाई स्वस्थ राख्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको छ । यस वर्षको कार्यक्रममार्फत नसर्ने रोगसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै रक्तदानको महत्वबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ ।
नेप्सेम्याकले भक्तपुरको मध्यपुर थिमि र सूर्यविनायकका विभिन्न क्षेत्रमा घरघरबाट फोहोर संकलन, स्रोतमै फोहोर वर्गीकरण, कम्पोस्ट मल उत्पादन तथा पुनःप्रयोगसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ । सरसफाइसँगै नागरिकको स्वास्थ्य र सामाजिक चेतना अभिवृद्धिमा पनि योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।



