स्थानीय तहको निर्वाचन घोषणा गरेपछि यतिबेला निर्वाचनको माहाेल सुरु भइसकेको छ । करिब पौने ५ वर्ष काम गरेका जनप्रतिनिधिहरु यो आफ्नो कार्यकालमा गरेका कामहरुलाई बिट मार्दैछन् । कतिपयले भने यही कार्यकाललाई देखाएर अर्को निर्वाचनको तयारी गरिरहेका छन् ।
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठ यतिबेला अर्को कार्यकालको नगरप्रमुखका लागि निर्वाचन लड्ने तयारी गर्दैछन् । ५ वर्षे कार्यकालमा सम्पदा संरक्षण,स्वास्थ्य, फोहोरमैला व्यवस्थापन र संघीयता कार्यान्वयको क्षेत्रमा उल्लेख्य काम गरेको उनको भनाइ छ ।
आफूले सुरु गरेका बाँकी कामलाई पूरा गर्नको लागि एक कार्यकाल दोहोर्याउनैपर्ने अवस्था बताउँदै आएका श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । तपाइँहरुले आफ्नो ५ वर्षे कार्यकाल पनि लगभग पूरा गरिसक्नुभएको छ । कार्यकाल कति सफल भयो जस्तो लाग्छ ?
मध्यपुर थिमि नगरपालिकाको विगत पौने ५ वर्षको समय अंशिक रुपमा सन्तोषजनक नै रह्यो । हामीले जुन गतिमा काम गर्यौं, त्यसको परिणाम देखिनेगरी नै आएको छ ।
हामीले विशेषगरी सम्पदा संरक्षण, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, व्यवस्थित शहरीकरणको क्षेत्रमा उल्लेख्य काम गर्न सक्यौं । यो अवधिमा हामीले नगर क्षेत्रभित्रका मूर्त र अमूर्त कलाहरुको संरक्षण गर्यौ, यसले गर्दा सम्पदा संरक्षणमा मध्यपूर थिमि अग्रणी नगरपालिकाको रुपमा सावित नै भइसकेको छ ।
स्वास्थ्य क्षेत्रमा हेर्दा हामीले नेपाल कोरिया मैत्री अस्पताललाई नगरपालिकाको सञ्चालनमा रहेको देशकै पहिलो सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्न सक्यौं । कोभिडको पहिलो र दोस्रो लहको बेलामा यो अस्पतालले पुर्याएको योगदान उदाहरणीय रह्यो । कोभिड आईसीयू, पीसीआर ल्याब लगायत सञ्चालन आफैंले सञ्चालन गरेर एउटा नमूना अस्पतालको सन्देश दियौं ।
फोहोरमैला व्यवस्थापनको सन्दर्भमा कुहिने फोहोरबाट मल बनाएर हामीले एउटा उदाहरणीय काम गर्यौं । अहिले यो मललाई राष्ट्रपति कार्यालयदेखि उच्चपदस्थ व्यक्तिले पनि उदाहरणीय कामको रुपमा मान्दै आफ्नो करेसामा यसको प्रयोग गर्नुभएको छ । यसले हाम्रो फोहोरमैला व्यवस्थापनमा समेत राम्रो प्रभाव पर्यो ।
अर्को कुरा संघीयता कार्यान्वयनको सन्दर्भमा मध्यपूर थिमि नगरपालिकाले एउटा अडान लिएर काम गर्दा यसले सिंहदरबारमा हाम्रो नगरपालिकालाई चिनाउने काम गर्यो । अनावश्यक रुपमा कर्मचारी थोपर्ने कुराहरुलाई हामीले रोक्यौं । बजेटलाई अदृष्य रुपमा छलछाम गरेर कार्यान्वयन नगर्ने कुराहरुलाई पनि हामीले आफ्नो अडान लियौं ।
त्यसबाहेक हामीले संघीय सरकार अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरण खारेजका लागि लबिङ सुरु गर्यौं । अहिले उपत्यकाका लागि यो प्राधिकरण आवश्यक नै छैन भन्ने कुरा स्थापित नै भइसकेको छ । जग्गा एकीकरण आयोजनाका लागि हामीले छुट्टै ऐन बनाएर कार्यान्वयन अगाडि बढाउँदा यसले राम्रो परिणाम दिएको छ ।
भौतिक पूर्वाधार मात्रै विकास हो भन्ने मानसिकतालाई हटाएर हामीले अपांगता, विपन्नता, एकल महिला लगायतको क्षेत्रमा पनि काम गर्यौं । यीनै कारणले समग्रमा हामीले सहि ट्याकमा काम गर्यौं भन्ने लाग्छ ।
तपाइँले गर्नुभएका यी कामबाट नगरवासीले विकासको अनुभुति गर्न सकेका छन् त ?
मध्यपूर थिमि नगरपालिकाले जनताले अनुभूति हुनेगरी नै काम गरेको छ भन्ने लाग्छ । ५ वर्ष अघिको र अहिलेको नगरपालिकालाई तुलना गरेर हेर्ने हो भने यसले परिवर्तनलाई राम्रोसँग प्रतिबिम्बित गर्न सकेको छ ।
पहिलो फोहोरका डङ्गुर भएको ठाउँलाई हराभरा उद्यान बनाएका छौं । पहिले ढल मिसिएका फोहोर पोखरीहरुमा उत्खनन् र पुनर्निर्माण गरेर स्वच्छ पानी भएको पोखरीहरु बनाएका छौं । यीनै कामहरुबाट नै जनताले गर्ने विकासको अनुभूति गरेका छन् भन्ने लाग्छ ।
सबैभन्दा नजिकको सरकारको रुपमा स्थानीय तह सेवा प्रवाह गर्ने निकाय पनि हो । नगरपालिकाबाट हुने सेवा प्रवाह र आम जनताको समस्याका सहजीकरणको लागि चाहिँ तपाइँले के गर्नुभयो ?
सेवा प्रवाहमा पनि हामीले राम्रो काम गरेका छौं । मध्यपूर थिमि नगरपालिकामा गइसकेपछि हुने कामलाई हामीले तुरुन्त गरिदिने, प्रक्रियागत रुपमा नमिलेका कामलाई मिलाउन सहयोग र सहजीकरण गर्ने र नगरपालिकाबाट हुन नसक्ने कामलाई कारण सहित नहुने जानकारी गराएर फर्काउने कुरामा हामीले खरो रुपमा काम गर्यौं ।
हुने काम तुरुन्त हुन्छ र नहुने काम दवाव वा व्रभावको आधारमा मध्यपूर थिमिमा कुनै पनि काम हुँदैन भन्ने प्रष्ठ सन्देश हामीले दिन सफल भएका छौं । हामी आश्वासन दिने तर पछि काम नहुने काम गर्दैनौं भन्ने कुरा स्थापित गर्न सकेका छौं ।
तपाइँहरु जनप्रतिनिधि । जनताप्रति तपाइँहरुको भरोसा र अपेक्षा पनि अलि बढी नै हुन्छ । तर, कानूनी, प्रक्रियागत रुपमा नमिल्ने वा स्रोतको अभावका कारण गर्न नसकिने कामका कारण आफ्नै मतदातालाई चिढ्याएर फर्काउनुपर्ने अवस्था चाहिँ कति देखियो ?
त्यस्तो त निश्चित रुपमा भयो । सबैको अपेक्षा पूरा गर्न सकिँदैन । कतिपय कुराहरु प्रक्रियागत रुपमा गर्न नमिल्ने खालको पनि हुन्छन् । त्यसमा मैले भोट दिएको छु वा मैले चिनेको भएर यो काम हुनुपर्छ भनेर आग्रह पालेर आउनेहरु धेरै देखिन्छन् ।
कतिपय नीतिगत रुपमा नमिल्ने कुराहरु प्रष्ठ रुपमा भन्नुपर्ने हुन्छ । कुनै साधन स्रोतको अभावको कारण त्यो सम्भव हुँदैन । व्यक्तिगत कामहरु हुन नसक्दा रिसाएर जाने गरेको अनुभूति चाहिँ भएको छ । यसमा अलिकति नमज्जा पनि लाग्छ ।
मध्यपूर थिमिको मेयरको रुपमा १ कार्यकाल चलाउनुभयो । अबको तपाइँको अपेक्षा के हो ? फेरि मेयरमै दोहोरिने कि अरु जिम्मेवारीमा जाने ?
यसमा म प्रष्ठ नै छु । नयाँ संविधानपछि पहिलोपटक सरकार गठन भएको कारणले कम अनुभव भएको, पर्याप्त कानून बन्न नसकेको कारणले जुन गतिमा काम हुनुपर्ने हो त्यो गतिमा हुन नसकेको र पछिल्लो २ वर्ष महामारीका कारण काममा अवरोध भएकोले हामीले चाहेजति काम गर्न सकेनौं ।
तर, यी कामका लागि योजना बनेर कार्यान्वयन सुरु भइसकेका छन् । अब त्यसलाई पूर्णता दिनुपर्नेछ । त्यसकारण अर्को एक कार्यकाल चाहिँ नगरप्रमुखमै दोहोर्याउनेगरी म तयारी गरिरहेको छु ।
तपाइँले सुरु गर्नुभएका र पूर्णता दिन बाँकी रहेका कामहरु के के हुन् ?
सम्पदा संरक्षणको क्षेत्रमा अधिकांश काम सकिएको छ, तर यसमा केही कुरा बाँकी छ भन्ने लाग्छ । पोखरीको कुरा गर्दा हामीसँग २५ पोखरीमध्ये १७ वटा पोखरी सकिएको छ । अझै पनि ५/७ वटा उत्खनन् गरेर निर्माण गर्नुपर्ने कामहरु बाँकी छन् ।
शिक्षाको क्षेत्रमा हामीले सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि हामीले सोचेअनुरुप काम गर्न सकेनौं । विद्यालयहरु मर्जर गर्ने नीतिगत निर्णय भएका कुरालाई कार्यान्वयनमा ल्याउन र शिक्षकको दरबन्दी मिलान लगायत काम बाँकी छ ।
व्यवस्थित शहरीकरणसम्बन्धी आयोजनाको धेरै काम गर्न बाँकी छ । अहिलेसम्म कमेरेटार जग्गा एकीकरण आयोजना मात्रै अन्तिम चरणमा पुगेको छ । अरु आयोजनाको क्षेत्रमा पनि धेरै काम हुन बाँकी छ । त्यसलाई टुंग्याउनु पर्नेछ । ५ वटा नयाँ आयोजनाको प्लानिङ गर्दैछौं । यी कामलाई पनि पूरा गर्नु पर्नेछ । भौतिक पूर्वाधारका कतिपय कामहरु पनि गर्न बाँकी छन् ।
यी कामहरु गर्न तपाइँकै नेतृत्व आवश्यक छ भन्ने कुरा कसरी स्थापित गर्न सक्नुहुन्छ ? अरु आएर पनि त गर्न सक्छन् होला नि ?
विगतमा पनि नगर प्रमुख थिए । तर, काम गर्न सकेनन् । पछिल्लो ४ वर्षमा ३० वर्षमा हुन नसकेको काम हुन सक्यो । त्यसैले काम गर्ने इच्छाशक्ति र सोच क्लियर नहुँदा काम नहुँदो रैछ । हामी चाहिँ प्रष्ठ भिजन र दृष्टिकोणका साथ पूर्वाधार योजनाहरु तयार गरिसकेका अवस्था छ ।
नयाँ नेतृत्व आउँदा यसलाई बुझ्न समय लाग्ने, भिजन र इच्छाशक्ति नहुने र विभिन्न दबाब र प्रभावमा पर्नसक्ने भएकोले पनि म दोहोरिँदा यी कामहरु सहज रुपमा पूरा हुन सक्छन् भन्ने मलाई लाग्छ ।
तपाइँको कामलाई तपाइँको पार्टीले चाहिँ कसरी मूल्यांकन गरेको छ ? फेरि मेयरको टिकट पाउँछु भन्नेमा विश्वस्त हुनुहुन्छ ?
हाम्रो पार्टीको घोषणापत्रमा जस्तो स्थानीय तहको परिकल्पना गरिएको छ, त्यसलाई साकार बनाउन मध्यपूर थिमिले धेरै कामहरु गरेको छ । प्रतिकुल परिस्थितिका बाबजुद पनि राम्रो काम गर्ने नगरपालिकाको रुपमा यो स्थापित भइसकेको छ । यही आधारमा नेतृत्वले मूल्यांकन गरिराख्नुभएको छ र गर्नुहोला भन्ने लाग्छ । अहिले हामीले गरेको कामलाई मूल्यांकन गर्दा पार्टीले टिकट दिन समस्या नहोला भन्ने लाग्छ ।
टिकट पाएको अवस्थामा अहिलेको परिस्थितिमा जित्न कति सहज छ ?
मैले गरेको काम र त्यसको देखिएको परिणामका आधारमा अर्को निर्वाचनमा जित्न सजिलो नै हुन्छ भन्ने मलाई लाग्छ । जनताले पनि मलाई नगर प्रमुखमा दोहोर्याउन भनिरहनुभएको छ । यसमा वृद्धवृद्धादेखि युवाहरु समेत हुनुहुन्छ ।
५ वर्ष अगाडि घोषणापत्र र भाषणको आधारमा मात्रै भोट मागिएको थियो । अहिले नगरवासीलाई देखाउनको लागि आफूले गरेको काम र यसको परिणाम छ । यसले गर्न सक्दो रहेछ र गर्न सक्छ भन्ने स्थापित भइसकेको छ । त्यसैले अर्को कार्यकाल पनि जित्न सक्छु भन्नेमाविश्वस्त छु ।
राष्ट्रवादी अडानका कारण अघिल्लोपटकको निर्वाचनमा एमालेको एउटामा आकर्षण थियो । अहिले यो अवस्था छैन । पार्टी फुटेको छ । गठबन्धन पनि छैन । अरु दलहरु गठबन्धन गरेर गएको अवस्था छ ।
तपाइँको नगरपालिकामा यो समीकरणको प्रभाव कतिको देख्नुहुन्छ ?
अहिलेको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गर्न डराइरहेको कुरा त पछिल्लो गतिविधिले देखाइसकेको छ । नियमित रुपमा हुनुपर्ने आवधिक निर्वाचनलाई पनि पछि धकेल्नेगरी जुन कोशिस गरियो, यसले अझै पनि ग्राुरुटमा अझै पनि नेकपा एमाले स्थापित छ भन्ने उहाँहरुले बुझ्नुभएको छ र डराइरहनुभएको छ भन्ने प्रष्ट हुन्छ ।
सर्वोच्चको परमादेशपछि आएको वर्तमान सरकारको कामबाट पनि जनता निराश भइसकेको अवस्था देखिन्छ । गठबन्धन टिकाउने मात्रै कामहरु हुने र विकास निर्माणका काम हुन नसक्दा अहिले केपी ओली नै ठीक भन्ने स्वरहरु सुनिएको छ ।
त्यसो त अघिल्लो पटक पनि स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादीको समीकरण थियो, एमाले एक्लै लडेको हो । अहिलेको गठबन्धनले पनि त्यसमा धेरै फरक पार्छ भन्ने लाग्दैन । एमालेकै फुटले केही प्रभाव पारेको सही हो ।
तर, माओवादीबाट पनि त्यही हाइट र वेटको नेता नेकपा एमालेमा मिसिन गएकोले अधिकांश नेताहरु एमालेमै रहेको देखिएको छ । त्यसैले केन्द्रीय राजनीति, पार्टी विभाजन र गठबन्धनले स्थानीय तहमा फरक नपर्ला भन्ने अपेक्षा छ ।
तपाइँको कार्यकालमा भएका विकास निर्माणको कामको प्रशंसा हुँदै गर्दा समन्वयात्मक हिसाबले कमजोरी देखाउने वा आलोचना नै हुने गरेको छ । यसलाई चाहिँ कसरी लिनुहुन्छ ?
माथिल्लो निकायबाट लादिएको कुरालाई ‘हवस् हजुर’ भन्ने कुरालाई समन्वय भनिँदैन । त्यसैले नगरप्रमुखको स्वाभिमान र अस्थित्व कायम हुनेगरी हामीले काम गर्यौं । नगरप्रमुख भन्ने अनि प्रदेश र केन्द्रका माननीयको छायाँमा पर्ने अवस्था पनि हामीले धेरै देखेका छौं । कुनै पनि इस्युमा सोझो रुपमा निर्णय गर्न नसक्ने स्थिति पनि पाइरहेका छौं ।
हामीले समन्वयका लागि आवश्यक कामहरु गरेका छौं, तर समर्पण गर्ने काम चाहिँ गरेका छैनौं । त्यसैले हामीले नगरवासीको अहित हुने कुराहरुका विरुद्धमा हामीले अडान लिइराख्यौं । यसलाई समन्वयको अभाव भएको हो कि भन्ने देखिन जाँदो रहेछ ।
नगर प्रमुखलाई कुनै काम गराउन व्यक्तिगत रुपमा कन्भिन्स गराउनुपर्छ । लादिएको आधारमा काम गर्ने गरेका छैनौं । त्यसैले यसमा असहमति र द्वन्द्वका कुराहरु देखिन आएको हो जस्तो लाग्छ ।
कतिपय अवस्थामा विकास निर्माणका लागि सँगै अघि जाने भन्दा पनि हटो मात्रै अड्काउने नियत देखिँदा पनि छलफल गरेर समय बर्बाद गर्नुभन्दा आफ्नो निर्णय गरेर जानुपर्ने अवस्था पनि भयो । यसको परिणाम आएपछि कुन सही र कुन गलत थियो भन्ने देखिन्छ, देखिएको पनि छ । हामी यो अवधिमा कुनै पनि कुरामा अनिर्णयको बन्दी भएर बसेका छैनौं ।
यो त अन्तरतहगत समन्वयको कुरा भयो । यही नगरभित्रकै जनप्रतिनिधिबीच पनि त राम्रो सम्बन्ध त हुन सकेन नि ? समयमा बजेट आउन नसक्ने, नगरसभा बस्न नसक्ने, आवश्यक कानूनहरु बन्न नसक्ने लगायत समस्या भए नि ? यो समन्वयको अभाव होइन र ?
त्यस्तो चाहिँ अलिकति देखिएको छ । अरु नगरपालिकाले ९/१० वटा नगरसभा सम्पन्न गर्दा हामीले ५ वटा मात्रै नगरसभा गरेर चित्त बुझाउनुपरेको छ ।
यसमा अलिकति राजनीतिक समीकरणले पनि काम गरेको हो जस्तो लाग्छ । नगरसभामा म अल्पमतमा भएँ । अल्पमतमा रहेर काम गर्दा बहुमतको दम्भ सहेर काम गर्नुपर्ने अवस्था पनि भयो । कतिपय कुरामा आफ्नो स्टेप लिने हैसियत पनि भएन ।
यद्यपि प्रक्रियागत रुपमा समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरेरै अगाडि बढेका छौं । त्यसका लागि हामीले कतिपय विषयमा त्याग पनि गरेका छौं ।
तर, कतिपय अवस्थामा साथीहरु कतैबाट निर्देशित भएर आउने अवस्थामा चाहिँ समन्वय गर्न गाह्रो हुँदो रहेछ । स्वविवेकले काम गर्न नसक्ने अवस्थामा छलफल र समन्वय गर्नुको अर्थ पनि हुँदो रहेनछ ।
एउटा प्रतिनिधि मेयरको रुपमा तपाइँले शासकीय अधिकार बाँडफाँटमा स्थानीय तहले पाउनुपर्ने कुरा वा स्थानीय तहले पाएको तर माथिल्ला सरकारमा जानुपर्ने कुराहरु के के छन् जस्तो लाग्छ ?
संविधानले स्थानीय तहलाई २२ वटा अधिकार दिइएको छ, यो धेरै अध्ययन भएर दिइएको हो । तर, यही अधिकार बढी भयो कि भनेर माथिल्ला सरकारहरुले खोस्न खोज्ने अवस्था देखियो । यसमा द्वन्द्वको अवस्था पनि देखियो । साझा सूचीमा भएका अधिकारलाई पनि एकलौटी रुपमा प्रयोग गर्न खोजिने अवस्था देखियो । स्थानीय तहलाई मातहतका निकायको रुपमा व्यवहार गर्दा यो समस्या देखिएको हो ।
अहिले पनि नेपाल सरकारका ८५ प्रतिशत कर्मचारी संघीयताको खिलापमा छन् । बाध्य भएर स्वीकार गरेको जस्तो महशुस उनीहरुलाई छ । कुनै पनि मौका पाउनेबित्तिकै अधिकार कटौती गरिहाल्न खोज्ने पनि देखिएको छ । सहकारी, शिक्षा, घरभाडा लगायतको कुरामा अहिले पनि स्थानीय तहले पाएको अधिकार कटौती गर्ने प्रयास भइहेको छ ।
काठमाडौं उपत्यकाको हकमा प्रदेशिक सरकारले महशुस हुनेगरी काम गर्न सकेको छैन । प्रदेशका माननीयहरु १०÷१२ लाख बजेट लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिन चाहने अवस्था पनि देखियो । संघीयताको सुरुवात भएर पनि यस्तो भएको हुन सक्छ । तर, यसमा उहाँहरु अलि खारिनुपर्ने अवस्था छ जस्तो लाग्छ ।
अहिलेको अवस्थामा संविधानले दिएको अधिकार घटबढ गर्ने भन्दा पनि त्यसको कार्यान्वयन सहि ढंगले गर्न एक अर्कालाई सघाउँदा नै सहज हुन्छ भन्ने लाग्छ ।


