भक्तपुर । एक वर्षअघिसम्म भक्तपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या न्युन थियो । अस्पतालमा न आईसीयूको व्यवस्था थियो, न त भेन्टिलेटर नै । सामान्य बिरामी पर्नेहरु यहाँ आउँथे, गम्भीर प्रकृतिका बिरामीहरु अन्तै जान्थे । सरकारी अस्पतालमा पनि राम्रो उपचार हुन्छ भन्ने विश्वास नहुँदा महँगो शुल्क तिरेर निजी अस्पताल तथा स्वास्थ्य संस्थामा जानुको विकल्प नै थिएन ।
आज भक्तपुर अस्पतालको अवस्थामा आकाश जमिनको अन्तर आएको छ । पछिल्लो वर्ष अस्पतालमा पाँच वेडको भेन्टिलेटर, छ वेडको आईसीयु, २५ बेडको एचडीयु लगायतका एक दर्जन बढी नयाँ सेवा शुरु भएका छन् । नयाँ सेवासँगै सेवाको गुणस्तरमा आम जनताले महशुस गर्नेगरी वृद्धि गर्न सफल भएको अस्पतालमा यतिबेला बिरामीको संख्या तीन गुणाले बढेको छ ।
एक वर्षअघिसम्म अस्पतालको सेवामा अविश्वास गर्नेहरु पनि पछिल्लो समय ठुलाे स्वास्थ्य समस्यामा समेत भक्तपुर अस्पताल आउन थालेका छन् । वीर अस्पतालपछि स्थापना भएको नेपालकै दोश्रो जेठो भक्तपुर अस्पतालले पछिल्लो पटक मेडिकल सुपेरिटेण्डेण्ट भएर डा. सुमित्रा गौतम आएपछि काँचुली फेरेको हो ।
१ सय १६ वर्ष अघि स्थापना भएर पनि सबै क्षेत्रबाट उपेक्षित बन्दै आएको अस्पताललाई डा. गौतम नेतृत्वले यो अवस्थामा ल्याइपुर्याएको हो । गौतमको काम गर्ने कार्यशैलीबाट प्रभावित भएर भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका उच्च अधिकारी तथा राजनीतिक दलले समेत साथ दिए । त्यसै भएर होला यस वर्ष वाग्मती प्रदेश सरकारले आफ्नो प्रदेश मातहतका अस्पतालमध्ये उत्कृष्ठ काम गरेको भन्दै भक्तपुर अस्पतालाई पुरस्कृत समेत गर्यो ।
पछिल्लो समय अस्पतालले गरेको लोभलाग्दो प्रगतिकै कारण होला हाल ७५ शैय्याको अस्पताललाई चालु आर्थिक वर्ष २०७७/७८ भित्रै दुई सय शैय्यामा विस्तार गर्ने योजना सरकारले अघि सारेको छ । सरकारी योजना अनुसार, काम द्रुत गतिमा अघि बढिरहेको अस्पतालले जनाएको छ । ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित १५ शैयाको अस्पताल २०६० देखि ७५ शैयामा बिस्तार भएको थियो । दिनप्रतिदिन बिरामीको चाप बढ्दै गएको अस्पताल प्रशासनले २ सय शैय्या क्षमता विस्तारको तयारी थालेको अस्पतालले जनाएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवं सोही अस्पतालका पूर्व अध्यक्ष नवराज गेलालले अस्पताल सञ्चालनको १ सय १६ वर्षपछि भक्तपुर अस्पतालले सही नेतृत्व पाएको बताउँदै आईसीयु सेवा सुरु हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको बताए । केही समय अघिसम्म भक्तपुर अस्पतालमा राम्रो उपचार नहुँदा रिफरल अस्पतालको रूपमा चिनिथ्यो । आईसीयू, भेन्टिलेटर जस्ता आधुनिक सुविधा तथा विशेषज्ञ चिकित्सक पर्याप्त नभएकै कारण बिरामीलाई अस्पतालले अन्यत्रका अस्पताल रेफर गर्दै आएको थियो ।
‘पहिलाजस्तो क्रिटिकल केस आयो कि अन्यत्र रिफर गर्ने सिस्टम पूर्णरूपमा बन्द भइसक्यो । हामीसँग भएको इक्विपमेन्टले भ्याएसम्म सबै शल्यक्रिया यही गरिरहेका छौं,’ डा. गौतमले भनिन् । पछिल्लो एक वर्षमा अस्पतालमा १ हजार ६ सय ६२ वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनुले पनि मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले भनाइलाई पुष्टि गर्छ ।

अस्पतालको सेवा द्रुतगतिमा बिस्तार भए पनि सरकारले दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नपठाउँदा महामारीका समयमा रातदिन नभनी र संक्रमण भएकाहरूबाट समेत उपचार गराउनुपर्ने बाध्यता रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. गौमतको गुनासो छ ।
अस्पतालमा १ सय २ स्वास्थ्यकर्मी लगायतका कर्मचारीको दरबन्दी छ । जसमध्ये, मेडिकल सुपरिटेन्डेन्टसहित ६० जना मात्र दरबन्दीका कर्मचारी छन् । दरबन्दीका ६० कर्मचारी मध्येपनि ४ प्रशासन र २२ कार्यालय सहायक छन्, मेडिकल अफिसर ३४ मात्र छ छन् । बाँकी सबै अस्पताल विकास समिति, नेपाल सरकारको करार र छात्रवृत्तिका कर्मचारी रहेका छन् । अस्पतालमा हाल १ सय ८७ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ ।
केहीअघि ल्याप्रोस्कोपी सर्जरी सेवा शुरु गरेको भक्तपुर अस्पतालमा छिट्टै पार्किन्सोनिजम (बिर्सिने रोग) को उपचार शुरु गर्ने तयारी शुरु गरिएको छ । डा. गौतमका अनुसार, तिलगङ्गा आँखा अस्पतालसँग समन्वय गरेर आँखाको शल्यक्रिया गर्ने योजना समेत अस्पतालले अघि बढाएको छ ।
त्यसैगरी, लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवासमेत दिने व्यवस्था अस्पताले गरेको छ । अस्पतालले पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको डा. गौतमको भनाइ छ ।
त्यसैगरी, अस्पतालले अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याइएको छ । त्यस्तै पछिल्लो समय खुट्टा, छाती, पेटलगायत विशेष अङ्गको भिडियो एक्सरे सेवा र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ ।
कोरोना कहरकै बीच अस्पतालमा दैनिक ६ सय भन्दाबढी बिरामी उपचारका लागि आउँन थालेका छन् । अस्पतालले बहिरंग, अन्तरंग विभाग अन्तर्गतका १८ वटा सेवा तथा आमा सुरक्षा कार्यक्रम, एकद्धार संकट व्यवस्थापन केन्द्र, सामाजिक सुरक्षा इकाई र एआरटी कार्यक्रमहरु संचालन गरेको जनाएको छ ।
त्यति मात्र होइन, अस्पतालले सरसफाइमा पनि त्यतिकै सुधार गरेको छ । अस्पतालको फोहोरको उचित व्यवस्थापन अस्पताल भित्रै हुन्छ । त्यसका लागि अस्पतालले बायोग्यास प्लान्ट स्थापना गरेको छ ।
प्लाष्टिक र कागजजन्य फोहोरको व्यवस्थापनका लागि नगरपालिकासँग सम्झौता गरिएको छ । भौतिक सुधार अन्तर्गत अस्पतालको पानी चुहिने जीर्ण भवन मर्मत गरी सभाहल, मेडिकल सुपरिटेन्डेन्ट कक्ष स्थापना गरिएको छ भने, सुविधा सम्पन्न आधुनिक भवन निर्माण तथा रेक्टोफिटिङ्गको थालनी गरिएको छ ।
अस्पतालको नाममा भएको १८ रोपनी ४ आना जग्गामध्ये भक्तपुर क्यान्सर अस्पतालले ६ रोपनी, नेपाल रेडक्रस सोसाइटी भक्तपुरले १ रोपनी ७ आना जग्गा भोगचलन गर्दै आएका कारण अस्पतालाई जग्गा अभाव भएको छ । अस्पतालकै दुई तिहाइ भन्दाबढी भौतिक संरचना सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भोगचलन गर्दै आएका कारण पनि अस्पताल बिस्तारमा बाधा पुगेको छ । अस्पतालले बालबालिकाका लागि ६ शैयाको एनआईसीयू संचालन तथा ल्याप्रोस्कोपी, सिस्टेस्कोपी, हिस्टेस्कोपी, अर्थोस्कोपी, इण्डोस्कोपीलगायत सेवा विस्तार गर्न लागेको छ ।
त्यसैगरी नाक/कान/घाँटी, मुटु रोगको ओपीडी सेवा सञ्चालन, मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई परिमार्जन सहित सञ्चालनमा ल्याउन लागेको डा. गौतमले बताइन् । अस्पताललाई आधुनिकिकरण गर्ने उद्देश्यले इ–बिलिङ्गको समेत गर्ने तयारी गरिरहेको छ ।
अस्पतालले कोरोना संक्रमित बिरामी लक्षितका लागि एमर्जेन्सी वार्ड मात्र होइन, वेटिङ्ग वार्डसमेत सञ्चालन थालेको छ । कोभिड लक्षण सहित एमर्जेन्सीमा आएका बिरामीलाई पीसीआर गराएर रिपोर्ट नआउन्जेल सोहि वेटिङ्ग वार्डमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको डा. गौतमले बताउनु भयो ।
आफै संक्रमित भएर पनि बिरामीको सेवामा
भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेण्डेन्ट डा. सुमित्रा गौतम आफैँ कोरोना संक्रमित छिन् । डा. गौतम मात्र होइन, जनरल फिजिसियन तथा कोरोना उपचारका फोकल पर्सन डा. सुनिल ढुङ्गेललाई पनि कोरोना पोजेटिभ देखिएको छ । त्यति मात्र कहाँ हो र ? अस्पतालमा रातोदिन उपचारमा संलग्न थप ११ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत कोरोना भाइरसबाट संक्रमित छन् ।
कोभिड–१९ संक्रमण सुरु भएदेखि नै रातोदिन संक्रमित बिरामीको सेवामा खटिएका डा. ढुङ्गेल सहितका स्वास्थ्यकर्मीलाई लक्षण सहितको कोरोनाले समात्यो । केहीदिनको आरामपछि उनी पुनः संक्रमित बिरामीको सेवामा खटिएका छन् ।
सरकारी दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी उपलव्ध नभएका कारण आफै बिरामी भएपनि अस्पताल आएर बिरामीको उपचारमा खटिनु पर्ने अवस्था रहेको मेडिकल सुपेरिटेण्डेन्ट डा. गौतमको भनाई छ । डा. गौतम भन्छिन्, ‘डा.ढुङ्गेल अस्पतालको कोरोना वार्डको फोकल पर्सन हो, उहाँ नहुने हो भने संक्रमित बिरामीको व्यवस्थित उपचार सम्भव छैन् ।’
मेडिकल सुपरिटेन्डेन्ट डा. गौतम, जनरल फिजिसियन डा. ढुङ्गेल लगायत भक्तपुर अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएर पनि बिरामीको उपचारमा रातोदिन खटिँदै आएको बताउँदै संघीय सांसद महेश बस्नेत उहाँहरुकै योगदानका कारण सैयौ जिल्लावासीले जीवनदान पाएको बताउँछन् । लक्षण सहितका कोरोना संक्रमित चिकित्सक तथा नर्सहरू बिरामी भन्दै घर बसेको भए जिल्लाको अवस्था असामान्य भइसक्ने बस्नेतको भनाइ छ ।

अक्सिजन जुटाउन अझै हारगुहार
भक्तपुरमा अस्पतालमा उपचाररत कोभिडका बिरामीका लागि नभई नहुने अक्सिजन सहज रुपमा उपलव्ध नहुँदा समस्या भएको छ । आइसियु, एचकेयु, सामान्य बेडमा गरी ७१ जना संक्रमित उपचाररत भक्तपुर अस्पतालमा अझै पनि अक्सिजनको अभाव रहेको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतम अन्य सबै काम छाडेर अक्सिजन जुटाउन दैनिक हारगुहार गरिरहेकी छन् । त्यतिले मात्र नपुगेर डा. गौतम सामाजिक सञ्जालदेखि जिल्ला प्रशासन, महानगरीय प्रहरी परिसर, अक्सिजन उद्योगसँग समन्वय गरिराखेकी हुन्छिन् ।
मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमका अनुसार, ७१ जना संक्रमित बिरामीका लागि दैनिक करिब १ सय ५० सिलिन्डर अक्सिजन आवश्यक पर्छ । त्यसमा पनि आईसीयूमा उपचाररत बिरामीलाई मात्रै दैनिक ४० सिलिन्डर अक्सिजन चाहिन्छ । दैनिक १ सय ५० सिलिन्डर अक्सिजन प्रयोग गर्दै आएको अस्पताललाई पछिल्लो पटक अक्सिजन अभाव भएको भन्दै सरकारले ५० सिलिन्डर मात्र कोटा तोकिदिएपछि समस्या बढेको हो ।
शुरुमा २५ वटा अक्सिजन सिलिण्डरले काम चलाउँदै आएको अस्पतालले हाल सिलिण्डर संख्या १ सय ३० पुर्याएको छ । अझै १ सय वटा अक्सिजन सिलिण्डर थप्न सके अर्को कोभिड वार्ड समेत सञ्चालन गर्न सकिने डा. गौतमको भनाइ छ ।