डा. पुकारचन्द्र श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुन् । करिब ६ महिना अघि केन्द्रका कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका श्रेष्ठ मिर्गौंला प्रत्यारोपणका लागि नेपालमै ख्यातिप्राप्त डाक्टरको रुपमा चिनिन्छन् । उनले आफ्नो करियरमा झन्डै ९ सय भन्दा बढीको मिर्गौंला प्रत्यारोपणको अपरेसन गरेका छन् । अहिलेसम्म उनले प्रत्यारोपण गरेका ९९ प्रतिशत बिरामीको उपचार सफल भएको छ ।
पछिल्लो ४ सय ५० वटा अपरेशन गरिएका बिरामीमध्ये शतप्रतिशत सफलता हासिल गरेको डा. श्रेष्ठ बताउँछन् । मृगाैला उपचारका लागि देशकै सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको सो केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठसँग मिर्गौला रोगको अवस्था र केन्द्रले गरिरहेका काम र भावी योजनाको सम्बन्धमा केन्द्रित भइ नेपालअर्थले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
तपाइँ यस प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक भएर आउनु भएको पनि ६ महिना हुन लाग्यो । योबीचमा कोभिड महामारीको तेस्रो (ओमिक्रोन) भेरियन्ट पनि देखियो । योबीचमा मृगौला प्रत्यारोपण र डायलासिसको अवस्था कस्तो रह्यो ?
ओमिक्रोन भेरियन्टका कारण अरु अस्पतालस्तै हाम्रो केन्द्रको उपचार पनि आंशिक रुपमा प्रभावित भयो । कोरोना महामारीको संक्रमण फैलिँदै जाँदा हाम्रा बिरामी, डाक्टर तथा नर्सहरुमा समेत कोरोना संक्रमण पुष्टि भयो । प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका विरामीहरुलाई संक्रमण देखिँदा अपरेसन नै रोक्नुपर्ने अवस्था भयो भने कतिपय अवस्थामा डाक्टर र नर्सलाई संक्रमण देखिँदा समेत प्रभावकारी रुपमा प्रत्यारोपण तथा डाइलासिसका कामहरु गर्न पाइएन ।
कोरोना महामारीको तेस्रो भेरियन्ट फैलिँदा हाम्रो अस्पतालका १० जना डाक्टर र ४० जना नर्सलाई कोभिड संक्रमण भयो । त्यही कारणले करिब ३ हप्ता हाम्रो प्रत्यारोपण ठप्पै रह्यो । ओपीडी सेवालाई पनि हामीले कम गर्नुपर्ने अवस्था भयो । सामान्य अवस्थामा हप्तामा ५/७ वटा हुने ओपीडी २/३ वटा मात्रै सम्भव भयो । डाइलासिस सेवा भने यहाँ कहिलै बन्द भएन । आलोपालो मिलाएर सूचारु नै गरिराख्यौं ।
अहिले सबै सामान्य भइसकेको छ । सबै कर्मचारी र डाक्टरहरु काममा फर्किसक्नुभएको छ । हामीले सबै सेवाहरु पूर्ण क्षमतामा सञ्चालन गरिरहेका छौं ।
हामीले कोभिडको ३ वटा लहर व्यहोरिसकेका छौं । कोभिडको संक्रमणले मिर्गौलासम्बन्धी समस्याको बीचमा चाहिँ कस्तो सम्बन्ध रहेको पाउनुभयो ?
कोभिड र मिर्गौला रोगबीच प्रत्यक्ष रुपमा अहिलेसम्म कुनै सम्बन्ध छैन । कोभिडले घाँटी र फोक्सोसम्म मात्रै असर गर्ने भएकोले कोभिड लाग्दा मिर्गौलालाई कुनै पनि असर गर्ने कुरा पुष्टि भएको छैन ।
तर, मिर्गौला बिरामीलाई कोभिड लागेपछि चाहिँ झनै गम्भीर हुन्छ । मिर्गौलाले काम नगरेको बिरामीलाई झन् कोरोना लागेपछि त उसलाई झन धेरै समस्या हुने भयो । अर्को बिरामी चाँडै सिकिस्त हुने, घरमै बस्ने बिरामीहरु अस्पताल भर्ना हुनुपर्ने सम्भावना बढी हुन्छ । यसले गर्दा धेरै बिरामीलाई समस्या हुने नै भयो ।
अहिले यस अस्पतालमा नियमित रुपमा डायलासिस् गर्ने चाहिँ कति बिरामी छन् ?
अहिले हाम्रोमा प्रत्येक दिन १०० जना बिरामीले डाइलासिस गर्छन् । एक जना बिरामीले हप्तामा २ देखि ३ पटक डायलासिस गनुपर्छ । त्यसैले अहिले नै पर्याप्त बिरामीलाई सेवा दिनसक्ने अवस्था छैन ।
नेपालभरी नै प्रत्यारोपण गर्नका लागि पर्खेर बसेका बिरामी चाहिँ कति छन् ?
हाम्रोमा करिब ४ सय जना बिरामीहरु सम्पर्कमा हुनुहुन्छ । नेपालमा वार्षिक साढे २ सय जना बिरामीको प्रत्यारोपण हुन्छ । मिर्गौलासम्बन्धी समस्याका ८० प्रतिशत बिरामीको उपचार यही अस्पतालमा हुने गरेको छ ।
डायलासिस गनुपर्ने जति सबै बिरामीले प्रत्यारोपण नै गर्नुपर्ने हो र ?
सबैको प्रत्यारोपण नै गर्न सकियो भने राम्रो हुन्छ । तर, कतिपय बिरामीको विभिन्न कारणले प्रत्यारोपण गर्न नमिल्ने हुन्छ । कसैको किड्नी म्याच नहुने, कोही मुटु रोगी हुने, कसैलाई क्यान्सर, टिभी, एचआईभी जस्ता दीर्घरोग हुने भएमा उनीहरुले मिर्गौला प्रत्यारोपण गर्न सक्नुहुन्न । तीबाहेक अरु सबै बिरामीले मिर्गौला फेर्न मिल्छ । मिर्गौला फेर्न सक्ने हो भने बिरामी पूर्ववत् अवस्थामा फर्किन सक्छ । समस्या पालेर बसिरहनु पर्दैन ।
यो केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्दा कति खर्च लाग्छ ?
करिब साढे ५ लाख रुपैयाँ लाग्छ । त्यसमध्ये सबै खर्च सरकारले नै व्यहोर्छ । त्यसैले मिर्गौला दिने व्यक्ति भेट्टाएमा बिरामीले निःशुल्क रुपमा मिर्गौंला प्रत्यारोपण गर्नसक्ने अवस्था छ । मिर्गौला दिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा यसको खर्च चाहिँ बिरामी आफैँले व्यहोर्नुपर्छ ।
अहिले नेपालमा मिर्गौलाको गुणस्तरीय उपचार निःशुल्क रुपमा हुन्छ । तर पनि वार्षिक हजारौं रोगीहरु लाखौं रुपैयाँ तिरेर भारतमा मिर्गौला प्रत्यारोपण गर्न किन जान्छन्, त्यो चाहिँ अचम्म लाग्दो कुरा छ ।
यहाँ आफन्तले मिर्गौला दिए मात्रै प्रत्यारोपण गर्न पाइन्छ । भारतमा मिर्गौला किन्न पनि पाइन्छ, त्यसैले जाने गरेका होलान् नि त ?
त्यो चाहिँ एउटा गम्भीर समस्या हो । हामीकहाँ आफन्तबाहेक अरुबाट मिर्गौला दान गर्न पाउने व्यवस्था छैन । यस्तो कानून बनाउँदा अवैध रुपमा तस्करी बढ्छ भन्ने हिसाबले आफन्त बाहेक अरुबाट मिर्गौला लिन नपाइने व्यवस्था गरिएको हो ।
यो समस्यालाई समाधान गर्न ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग दानको व्यवस्था गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं । तर, त्यसलाई कार्यान्वयन गर्न पनि कठिन भइरहेको छ । यो हुन सक्यो भने मिर्गौंला रोगको समस्या धेरै हदसम्म समाधान भएर जान सक्छ ।
तपाइँले बिरामीलाई पर्याप्त रुपमा सेवा दिने क्षमता नभएको बताउनुभयो, क्षमता विस्तारका लागि केही योजना पनि बनाउनुभएको छ कि ?
त्यही भएर हामीले अहिले भएको क्षमतालाई विस्तार गर्न पहल समेत गरिरहेका छौं । १०० बेडको डाइलासिस थप गर्न हामीले मन्त्रालयमा प्रस्ताव पठाएका छौं । मन्त्रालयले हाम्रो प्रस्ताव स्वीकार गर्यो र क्षमता विस्तार हुन सक्यो भने यसबाट थप ८/९ सय जना बिरामीले सेवा पाउन सक्नुहुन्छ ।
यो केन्द्र अहिले त काठमाडौं उपत्यकामा मात्रै छ । यसलाई सम्बन्धित जिल्ला वा प्रदेशमा पुर्याउनेगरी विकेन्द्रीकरणको योजना चाहिँ के कस्तो छ ?
हामीले प्रत्यारोपण र डायलासिस सेवालाई ७ वटा प्रदेशमा पुर्याउने प्रस्ताव पनि मन्त्रालयमा बुझाएका छौं । यस अन्तर्गत ७ वटै प्रदेशका प्रदेश अस्पतालमा आवश्यक उपकरण र तालिमको व्यवस्था गर्ने हाम्रो योजना छ । यसबारेमा हामीले मन्त्रीज्यूसँग पनि पटक पटक छलफल गर्यौं । यसमा उहाँ निकै सकारात्मक हुनुहुन्छ ।
पहिलो चरणमा हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा विस्तार गर्दैछौं । हाम्रो केन्द्रले त्यहाँ गएर त्यहाँका डाक्टर र कर्मचारीलाई तालिम दिने र आवश्यक प्राविधिक सहयोग गर्ने काम गर्छ । उनीहरु तालिमप्राप्त नभएसम्म हाम्रो टोलीले नै त्यहाँ गएर मिर्गौला प्रत्यारोपणको काम गर्छ । उनीहरुले तालिम प्राप्त गरेपछि हामी सक्षम टोलीलाई जिम्मेवारी हस्तान्तरण गरेर फर्किन्छौं ।
त्यसका लागि हामीले इजाजत प्राप्त डाक्टरलाई मन्त्रालयको सहमतिमा पोखराको काजमा खटाइसकेका छौं । पोखार स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि लाइसन्सको लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिइसकेको छ । दोस्रो चरणमा कोशी अस्पतालमा सेवा विस्तार गर्ने योजना छ ।
एउटा डाक्टर र नर्सलाई मिर्गौला रोगको उपचारमा योग्य बनाउन कति समय तालिम दिनुपर्छ ?
डाक्टरका लागि योग्य हुन १ वर्ष समय लाग्छ । मिर्गौलासम्बन्धी पढेको व्यक्तिले पनि १ वर्ष नै तालिम लिनुपर्छ ।
यस केन्द्रको स्तरोन्नति र प्रदेशगत रुपमा सेवा विस्तारबाहेक अरु के के योजना छन् ?
अब आर्थिक वर्षको ४/५ महिना मात्र बाँकी छ । अहिलेका लागि यही नै हाम्रो लागि ठुलो प्रोजेक्ट हो । त्यसैले हामीले नियमति बाहेक अरु ठूलो योजना बनाएका छैनौं । तर, मष्तिस्क मृत्युपछि हुने अंग दानलाई व्यवस्थित बनाउन सकियो भने यसले हजारौं बिरामीको ज्यान बचाउन सकिने भएकोले यसबारे केही गर्न सकिन्छ कि भनेर हामी सोचिरहेका छौं ।
नेपालमा सडक वा अन्य दुर्घटनामा वार्षिक हजारौंको मृत्यु हुन्छ । त्यसरी मृत्यु हुनु दु:खद् कुरा हो । तर, नहुनु भइसकेपछि त्यस्तो व्यक्तिको अंग जीवित व्यक्तिका लागि प्रयोग गर्न सकियो भने यसले प्रत्येक वर्ष उपचारका लागि विदेश जानुपर्ने बाध्यता हट्छ र देशमा बिरामीको संख्या पनि घट्दै जान्छ । यसमा केही काम गर्ने योजना छ ।


