काठमाडौं । राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरेपनि आयातमा भने कुनै कमी आएको छैन । सोमबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्षको ८ महिनासम्ममा १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । भने ८ महिनामा बैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब भन्दा बढी पुगेको छ ।
तथ्यांक विभागका अनुसार ८ महिनामा नेपालले कुल १४ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको बैदेशिक व्यापार गरेको छ । त्समध्ये १३ खर्ब ८ अर्बको आयात गरेको छ भने १ खर्ब ४७ अर्बको निर्यात गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष आयात ३८.६४ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यसको संख्या ९ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो । गत वर्षको अनुपातमा यस वर्ष निर्यात ८२.९० प्रतिशत बढेको छ । गत वर्ष ८० अर्ब ७७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यापार घाटा ३४.५० प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा ८ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको रहेको थियो । सो घाटा आर्थिक वर्षको ८ महिनामा बढेर ११ खर्ब ६० अर्ब रुपैयाँ पुगेको विभागले जनाएकाे छ ।


