काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अहिले नेपाल भ्रमणमा छन् । एकैपटक ५ देशको भ्रमणका लागि आएका उनी शुक्रबार नेपाल आएका हुन् । ५ देशको भ्रमणका क्रममा उनले सबैभन्दा धेरै समय भने नेपालमै बिताउनेछन् । नेपालमा उनको भ्रमण त्रिदिवसीय भएको छ ।
यस्तो रह्यो विदेशमन्त्रीको गतिविधि
शुक्रबार साँझ नेपाल आएका वाले त्यो दिन कुनै राजनीतिक भेटवार्ता गरेनन् । शनिबार बिहान उनी शिवपुरी हाइकिङका लागि गए ।
हाइकिङबाट फर्किएपछि उनले नेपाली समकक्षी नारायण खड्कासँग भेटवार्ता गरे । सोही क्रममा २ देशबीच ९ बुँदे सहमति भयो भने चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थल नेपाललाई हस्ताक्षर समेत गरियो ।
शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारी र त्यसपछि पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेट गर्नेछन् । त्यसपछि आजै साँझ उनी बंगलादेशका लागि उड्नेछन् ।
भेटघाटको क्रम जति नै बाक्लो भए पनि भ्रमणका क्रममा हुने समझदारी नै महत्वपूर्ण हुन्छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच ९ बुँदे सहमति भयो । यी सहमतिका बुँदाहरु यस्ता छन् ।
१. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी
२. नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना
३. नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता
४. सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी
५. चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र
६. अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र
७. रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज
८. कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र
९. चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी
नेपाल र चीनबीच भएका सम्झाैतामध्ये केही सम्झाैता रणनीतिक महत्वका भए पनि ती नयाँ होइनन्, जसका लागि उच्चस्तरीय भ्रमणको आवश्यकता होस् । नेपाल चीन अन्तरदेशीय प्रसारण लाइन र अन्तरदेशीय रेल्वे नेटवर्क विस्तारसम्बन्धी सम्झाैता दुइ देशबीचको व्यापार र पारवहनका लागि महत्वपूर्ण मानिन्छ । तर, दुवै परियोजना यसअघि नै बीआरआई परियोजनामा समावेश भइसकेकोले यसलाई भ्रमणको उपलब्धी मान्नुपर्ने अवस्था देखिँदैन ।
त्यसो भए चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको उद्देश्य के हो त ? कुटनीतिक मामिलाका जानकारहरु राजनीतिक र कुटनीतिक विषयवस्तु नै चिनियाँ विदेशमन्त्रीको प्रमुख प्राथमिकता रहेको बताउँछन् ।
चिनियाँ विदेशमन्त्रीले नेपालमा ३ दिन बिताए । यो क्रममा उनले हाइकिङ समेत गर्न भ्याए । यसको अर्थ चीनले नेपाललाई उच्च महत्वमा राखेको सन्देश दिन खोजेको छ ।
नेपालमा एमसीसी परियोजनासम्बन्धी कम्प्याक्ट स्वीकृत भएपछि देशभित्र र अन्तराष्ट्रिय स्तरमै नेपाल र चीनबीचको सम्बन्धको अवस्था के हो भन्नेबारे संशय पैदा भएको छ । नेपाली र चिनियाँ जनतासम्मै दुई देशबीचको सम्बन्ध चिसिएको रुपमा समेत हेरिएको थियो ।
चीनले एमसीसी सम्झौता संसदबाट पास हुन नदिन सक्दो जोडबल गरेको हो । चीनकै जोडबलका कारण सम्झौता पास हुन ढिलाइ भएको थियो । तर, चीनले जसलाई साथमा लिएर एमसीसी पास गराएको थियो । सम्झाैता पास भएपछि चीनले नेपाल आफूबाट टाढिएको महशुस गरेको रुपमा हेरिएको थियो । यही ‘भ्याकुम’बाट मुक्त हुँदै नेपाल र चीनबीच अहिले पनि राम्रो सम्बन्ध छ भन्ने देखाउन उच्चस्तरीय भ्रमणको आवश्यकता थियो । जुन चिनियाँ विदेशमन्त्रीको भ्रमणबाट पूरा भएको छ ।
त्यसो त, युक्रेन मामलामा अहिले विश्व नै २ ध्रुवमा विभाजित भएको छ । यसमा चीन रुसको पक्षमा बढी ढल्केको देखिन्छ, भलै चीनले पनि रुसलाई खुलेर समर्थन गर्न भने सकेका छैन । त्यसैले चीन, भारत जस्ता रुससँग राम्रो सम्बन्ध भएका देशहरु अहिले तटस्थ भूमिकामा छन् । सोही अवस्थाबीच रुस एक्लिएको छ ।
रुस र युक्रेनबीचको यो युद्ध समाधान भन्दा झनै समस्याउन्मुख भएपछि चीनले भूराजनीतिक सुरक्षाका लागि समेत कुटनीतिक माध्यम प्रयोग गरिएको चर्चा हुने गरेको छ । चीनले भूराजनीतिक रुपमा आफूसँग नजिक रहेका नेपाल, भारत, बंगलादेश, पाकिस्तान, ताजकिस्तान लगायत देशमा भ्रमण गरेर विश्वलाई यी देशसँग आफ्नो भूराजनीतिक सम्बन्ध राम्रो रहेको देखाउन चाहन्छ ।
त्यसो त एशियाको महाशक्तिको रुपमा रहेको भारतसँग पनि गलवान उपत्यकामा भएको सैन्य झडपपछि चीनको सम्बन्ध सुमधुर हुन सकेको छैन । सो घटनापछि बिग्रिएको सम्बन्धलाई सुधार गर्न चिनियाँ विदेशमन्त्रीकै इच्छाअनुसार भारतको ‘सरप्राइज भ्रमण’ समेत भएको थियो । दक्षिण एशियाली देशमा लगातार भ्रमण हुनुले पनि चीनको प्राथमिकता कुटनीतिक सम्बन्धको विस्तार गर्ने र छिमेकीसँग राम्रो सम्बन्ध भएको विश्वलाई देखाउने नै प्रमुख रहेको जानकारहरुको बुझाइ छ ।
भ्रमणबाट नेपाललाई के फाइदा ?
चिनियाँ पक्षको आफ्नै चाहनामा नेपाल भ्रमण भएपछि एमसीसी पास भएपछि चीनसँग भएको कुटनीतिक ग्यापलाई हटाउन यो भ्रमणले महत्वपूर्ण भूमिका खेलेको छ । जनस्तरमा एमसीसी परियोजनापछि अब चिनियाँ सहयोगको बीआरआई सम्झाैता कसरी अघि बढ्छ भन्ने अन्याैल थियो । अहिले रेल्वे, अन्तरदेशीय ग्रीड, अरनिको राजमार्ग लगायत सम्झाैताले बीआरआई अन्तरगत रहेका उक्त परियोजनाहरुबारे कन्फ्युजन हटेको छ ।
यो भ्रमण मूलत: चिनियाँ पक्षकै चासो र पहलमा भएको बुझिन्छ । तर, चीनको पहलमा भएको भ्रमणको साङ्गोपाङ्गो फाइदा भने नेपालका सत्तारुढ राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा माअाेवादी केन्द्रलाई भएको छ ।
एमसीसी पास भएको र चीनसँगमा परियोजना अघि नबढेको अवस्थामा सरकारलाई अमेरिका र भारतलाई महत्व दिएको, चीनलाई पाखा लगाएको आरोप थियो । यो भ्रमणपछि यो आरोपबाट समेत मुक्ति मिलेको छ । चुनावको मुखमा रहेका राजनीतिक दलका लागि यो ठूलो लाभ हो ।


