images
images

थप ११ औद्योगिक ग्राम घोषणा गरिँदै


  • 658
    SHARES
  • २०७८ जेठ ८ गते शनिबार

    थप ११ औद्योगिक ग्राम घोषणा गरिँदै

    काठमाडौं ।  सरकारले  थप ११  वटा  स्थानीय  तहमा  औद्योगिक  ग्राम घोषणाको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा  आपूर्ति  मन्त्रालयले  औद्योगिक  ग्राम घोषणाका  लागि  आएका  प्रस्ताव  छानबिन गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको छ । यसअघि चालू आर्थिक वर्ष २०७७/७८ मा  २९  वटा  स्थानीय  तहमा  औद्योगिक  ग्राम घोषणा गरी निर्माणको काम भइरहेको छ ।

    चालू  आव  २०७७/७८  मा  १३०  वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीति रहेको छ । पछिल्लो पटक प्रक्रिया पूरा गरेका ११ वटा प्रस्ताव स्वीकृतिका लागि पठाइएको उद्योग,  वाणिज्य  तथा  आपूर्ति  मन्त्रालय, औद्योगिक पूर्वाधार शाखाकी उपसचिव शान्ता मरासिनीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले गत वैशाख २० गते मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा  स्वीकृतिका  लागि ११ वटा  प्रस्ताव गरेको हो । 

    गत वर्ष ४५ वटा औद्योगिक ग्राम घोषणा गरिएको थियो । उपसचिव मरासिनीले भन्नुभयो, “गत वर्ष घोषणा गरिएको ४५ वटा औद्योगिक  ग्रामको  निर्माण  कार्य  सुचारु  छ । यस  वर्ष  घोषणा  भएका  ग्रामको  पनि  निर्माण कार्य सुरु भइसकेको छ ।”सरकारले   यस   वर्ष   १३०   वटा औद्योगिक  ग्राम  घोषणा  गर्ने  नीति  लिएकामा हालसम्म जम्मा २९ वटा मात्र घोषणा भएका छन् । 

    ११  वटा  प्रस्ताव  स्वीकृतिको  चरणमा छन् । यसअनुरूप घोषणाको लक्ष्य पूरा नहुने देखिएको छ । उपसचिव मरासिनीको भनाइ छ, “१३० वटासम्म घोषणा गर्न सकिन्छ भन्ने लक्ष्य हो तर  लक्ष्य  पूरा  हुँदैन ।  प्रस्तावहरू  आए  पनि मापदण्ड  पूरा  नभएकाले  स्वीकृति  नदिइएको हो ।  स्थानीय  तहको  समन्वय  र  कोभिडका कारण पनि चाहेजति घोषणा गर्न सकिँदैन कि भन्ने देखिएको छ ।”

    मन्त्रालयका अनुसार औद्योगिक ग्रामका लागि  आवश्यक  जग्गा  जुटाउनै  स्थानीय तहलाई   गाह्रो   भइरहेको   छ ।   औद्योगिक ग्रामका  लागि  हिमाली  तथा  दुर्गम  पहाडी क्षेत्रमा ६० रोपनी जग्गा हुनुपर्ने, पहाडमा ४० रोपनी  र  तराईमा  सात  बिघा  हुनुपर्ने  र  घना बस्तीदेखि  न्यूनतम  एक  किलोमिटर  टाढा हुनुपर्नेछ । गोरखापत्र दैनिकबाट


    images

    Logo