काठमाडौं । भंसार विभागले आर्थिक वर्षको ९ महिनासम्मको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार विदेशबाट नेपालमा १४ खर्ब ६६ अर्ब बराबरको वस्तु आयात गरिएको छ ।
गत वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । यो गत वर्षका तुलनामा ३१.९७ प्रतिशतले बढि हो ।
यस्तै, आर्थिक वर्षको ९ महिनामा १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिमा ९४ अर्ब ७६ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । गत वर्षको तुलनामा यो ६९.४४ प्रतिशतले बढेको हो ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको ९ महिनामा वैदेशिक व्यापार घाटा कुल १३ खर्ब ६ अर्ब ८९ करोड रुपैयाा भन्दा बढि भएको छ । गतवषै सोशि अवधिमा यो रकम १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा २८.४७ प्रतिशतले बढेको हो ।
आर्थिक वर्षको ९ महिनासम्ममा नेपालले १६ खर्ब २७ अर्ब बढीको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा १२ खर्ब ६ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । यो गत वर्षको तुलनामा ३४.९१ प्रतिशतले बढी हो ।
१६२ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ९ महिनामा नेपालले भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने १ खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट ९ महिनामा २ खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने ६२ करोड २८ लाखको मात्र निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब १० अर्ब ४२ बराबरको व्यापार घाटा रहेको छ ।
दुई खर्बको पेट्रोलियम पदार्थको आयात
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । ९ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार ९ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा १ खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो । ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । ९ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, रु ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, रु ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।


