काठमाडौं । सरकारले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण गर्न भारतलाई दिने तयारी गरेको छ । डडेल्धुराको अमरगढीमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । यसका लागि भारतसँग कुरा भइरहेको समेत उनले बताए ।
बुद्ध पूर्णिमाका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । सो अवसरका यसबारे कुरा हुने देउवाले बताए । सोही समयमा यससम्बन्धी सम्झौता समेत हुन सक्ने देउवाले बताए ।
पश्चिम सेती परियोजना आन्तरिक लगानीमा निर्माण गर्न नसकिने र चिनियाँ कम्पनीले बनाउँदा भारतले बिजुली नकिन्ने भएकाले भारतलाई नै निर्माणको जिम्मा दिने गरी छलफल भइरहेको देउवाको भनाइ छ।
७५० मेगावाट क्षमताको यो आयोजना नेपालको जलाशययुक्त आयोजना हो । सन् १९८१ मै अध्ययन सुरु गरिएको पश्चिम सेती परियोजनाको काम अहिलेसम्म काम हुन सकेको छैन ।
परियोजना निर्माणका लागि सन् २००३ मै भारतीय कम्पनी पावर ट्रेडिङ कर्पोरेशनसँग सम्झौता भएको थियो। उक्त कम्पनीले काम अगाडि बढाउन नसकेपछि २०६८ सालमा सरकारले ठेक्का तोडेको थियो।
त्यसपछि चिनियाँ कम्पनी थ्री गर्जेजसँग परियोजना अगाडि बढाउन सम्झौता भएको थियो। तर, उक्त कम्पनीले पनि काम अगाडि बढाउन नसक्दा परियोजना अलपत्र अवस्थामा छ।


