images
images

एक रुपैयाँ खर्च नगरी यसरी हुनसक्छ काठमाडौंको फोहोर व्यवस्थापन


  • 1.8K
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    एक रुपैयाँ खर्च नगरी यसरी हुनसक्छ काठमाडौंको फोहोर व्यवस्थापन

    काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला फोहोर व्यवस्थापन प्रमुख बहसको विषय बनेको छ । महिनौदेखि फोहोर उठ्न नसक्दा दुर्गन्धित बनेको शहर र नवनिर्वाचित मेयर बालेन्द्र शाहले बाँडेको सपनाका कारण अहिले यो मुख्य बहसको विषय बन्न थालेको हो । 

    अहिले काठमाडौंको डम्पिङ साइटको रुपमा रहेको सिसडोलमा स्थानीयवासीले फोहोर विसर्जनमा रोक लगाएका छन् । उता सोही बाटो भएर जाने बञ्चरेडाँडामा पनि फोहोर लैजान अवरोध हुँदै आएको छ । 

    तत्कालिन अवस्थामा काठमाडौंमा थुप्रेको फोहोरलाई व्यवस्थापन गर्न परम्परागत बाहेक अरु कुनै उपाय देखिँदैन । तर, दीर्घकालमा भने फोहोरको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती देखिन्छ । 

    अर्गानिक फोहोर व्यवस्थापन मुख्य चुनौती

    dust1.jpg

    शहरी क्षेत्रमा उत्पादन हुने फोहोरमध्ये झण्डै ६० प्रतिशत फोहोर ठोस फोहोर हुने गरेको छ । भण्डै २५ प्रतिशत फोहोर ढलसँग सम्बन्धित हुँदा वायुप्रदुषण, जलप्रदुषण अन्य समेत गरी १५ प्रतिशत फोहोर जम्मा हुने गरेको छ । 

    उक्त फोहोरमध्ये पनि ७५ देखि ८० प्रतिशत अर्गानिक फोहोर हुन्छ । यस्तो फोहोरलाई अर्गानिक मलको रुपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, १७ देखि २० प्रतिशत प्लाष्टिक र ३ देखि ५ प्रतिशत सीसाजन्य फोहोरहरु उत्पादन हुने गरेको छ । प्लाष्टिक र सीसाजन्य फोहोर सामान्यतया गन्हाउँदैन । अर्गानिक फोहोर भने कुहिएर गन्हाउने खालको हुन्छ । 

    फोहोर व्यवस्थापन अन्तर्गत यी सबै प्रकारका फोहोरको व्यवस्थापन गर्नु चुनौतीको विषय भए पनि अहिलेको मुख्य चुनौती भनेको चाहिँ यही अर्गानिक फोहोर व्यवस्थापनको नै हो ।

    यस्ता छन् फोहोर व्यवस्थापनका प्रविधिहरु

    नेपालको शहरी क्षेत्रका अधिकांश क्षेत्रमा अहिले परम्परागत रुपबाटै फोहोरको व्यवस्थापन हुँदै आएको छ । यस अन्तर्गत सबै प्रकारका फोहोर एकै ठाउँमा र एकै पटक संकलन गरिन्छ । त्यसलाई डम्पिङ साइटमा लगेर बिसर्जन गरिन्छ ।

    पछिल्लो समय केही स्थानीय तहले नयाँ प्रविधिबाट फोहोरको व्यवस्थापन सुरु गरेका छन् । मध्यपुर थिमि नगरपालिकाले पहिलोपटक सीएनबीएम (रिकीसी) प्रविधिबाट अर्गानिक फोहोरलाई मल बनाउने प्रयोग सुरु गरेको थियो । फोहोर व्यवस्थापन गर्ने यो जापानी प्रविधि अहिले काभ्रेको पाँचखाल, सिन्धुलीको दुधौली, चितवनको राप्ती लगायतमा सफल प्रयोग भइरहेको छ । त्यस्तै, भक्तपुरको भक्तपुर नगगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, धादिङको धुनिबेँसी नगरपालिका लगायतमा पनि यो प्रविधि परीक्षण सुरु भएको छ ।

    rikishi.jpg

    उता काठमाडौं उपत्यकाकै गोकर्णेश्वर नगरपालिकाले भने अर्गानिक फोहोरलाई तत्काल कुहाएर व्यवस्थापन गर्न इन्सिनरेटर मेसिनको प्रयोग गर्दै आएको छ । जापानबाटै भित्र्याइएको यो प्रविधिको प्रयोग रुपन्देहीको सिद्धार्थनगर नगरपालिका लगायत अन्य नगरपालिकाहरुले समेत गर्दै आएका छन् । 

    यीबाहेक पनि केही प्रविधिहरु फोहोर व्यवस्थापनका लागि अरु केही प्रविधि उपलब्ध छन् । खासगरी यी दुवै प्रविधिका लागि स्रोतदेखि नै फोहोरलाई कुहिने, नकुहिने छुट्याउनुपर्छ । तर, केही यस्ता प्रविधि पनि छन्, जसले फोहोरलाई कुहिने र नकुहिने दुवैमा छुट्याइदिन्छ । 

    waste segregation mechine.jpg

    कुन प्रविधिको कस्तो फाइदा, कस्तो समस्या ? 

    सीएनबीएम प्रविधि अन्तर्गत प्रत्येक घरमा उत्पादन हुने फोहोरलाई अर्गानिक (जैविक) र नन–अर्गानिक (अजैविक) छुट्याउन लगाइन्छ । कुहिने फोहोरलाई प्रशोधन केन्द्रमा लगेर अर्गानिक रुपमा मल बनाइन्छ । 

    यो प्रविधि अन्तर्गत बन्ने फोहोरमा कार्बन, नाइट्रोजन, व्याक्टेरिया र मिनरल्सलाई सन्तुलित रुपमा मिश्रण गरिन्छ । यसले बोटबिरुवालाई आवश्यक हुने सबै प्रकारका पौष्टिक तत्व उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक उषा गिरीको भनाइ छ । 

    ‘खेतबारीमा धेरैजसो प्रयोग हुने गाइवस्तुको गोबरमा नाइट्रोजनको मात्रा बढी हुन्छ । पातपतिङ्गरमा मिसाउँदा कार्बन पाइन्छ । तर, ब्याक्टेरिया र मिनरल्सको मात्रा प्राप्त हुँदैन,’ गिरी भन्छिन्, ‘सीएनबीएम प्रविधिबाट प्रयोग हुने मलमा ब्याक्टेरिया र मिनरल्स समेत सन्तुलित मात्रामा हुने भएकोले यसले उत्पादकत्व बढाउने गर्छ ।’ 

    rikishi (2).jpg

    यो प्रविधिबाट फोहोर बनाउन प्रतिकेजी १५ रुपैयाँ मात्रै लाग्छ । अहिले यो प्रविधिबाट उत्पादित मल २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बिक्री भइरहेको छ । ठूलो मात्रामा उत्पादन गर्दा यसको मूल्य अझै घट्न सक्छ, जुन किसानका लागि उपयुक्त हुनसक्छ । 

    तर, यो प्रविधि अन्तर्गत फोहोरलाई मल बनाउन समय लाग्छ । फोहोर संकलन भएको ३ महिनामा मात्रै यो फोहोर तयार हुने भएकोले काठमाडौंजस्तो धेरै फोहोर उत्पादन हुने ठाउँमा यसलाई कसरी प्रयोगमा ल्याउने भन्ने चुनौती यसमा देखिन्छ । काठमाडौंमा मात्रै दैनिक ६ सय मेट्रिकटन फोहोर निस्किन्छ । यसमध्ये झण्डै ४ सय ५० मेट्रिकटन जैविक फोहोर निस्किन्छ । ९० दिनमा मात्रै फोहोर तयार हुने भएकोले यसका लागि झण्डै ४० हजार मेट्रिकटन भन्दा बढी फोहोरको भण्डारण चाहिन्छ । 

    Waste-menagement.jpg

    अर्कोतिर, गोकर्णेश्वर नगरपालिकाले प्रयोग गरेको प्रविधि भनेको मेसिनमा आधारित हो । यसले जैविक फोहोरलाई इन्सिनरेटर मेसिनमा राखेर ६ घण्टाभित्र कुहाउन सक्छ । यसरी कुहिएको फोहोरलाई मलको रुपमा प्रयोग गरिन्छ । 

    यो प्रविधिको प्रयोग गर्दा समयको बचत हुन्छ । काठमाडौंजस्तो धेरै फोहोर उत्पादन हुने ठाउँमा धेरै समय लाग्दा फोहोर थुपार्ने स्थानको अभाव हुने भएकोले यो प्रविधि बढी प्रभावकारी मानिन्छ । 

    तर, लागत तथा मलको गुणस्तरका आधारमा भने यो प्रविधि कम प्रभावकारी मानिन्छ । इन्सिनरेटर मेसिनबाट १ किलो फोहोर उत्पादन गर्न झण्डै डेढ युनिट विद्युतीय उर्जा चाहिन्छ । यो भनेका झण्डै १२ रुपैयाँको बिजुली लाग्छ । त्यसैले यस्तो फोहोर उत्पादन गर्न नै प्रतिकेजी झण्डै ३० रुपैयाँ लाग्छ । 

    त्यस्तै, उत्पादित फोहोरलाई कुहाउने मात्रै भएकोले यो प्रविधिबाट बन्ने फोहोरमा बोटविरुवाका लागि आवश्यक पौष्टिक पदार्थको सन्तुलन मिलाउन समेत कठिन हुन्छ । 

    field.jpg

    भारतीय शहरलाई नियाल्दै बालेनको टीम

    काठमाडौंको फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा मेयर बालेन्द्र शमह (बालेन) को टीमले अहिले काम गरिरहेको छ । यो टीमले अहिले विभिन्न नगरपालिकाले भित्र्याएको प्रविधिदेखि भारत र युरोपेली मुलुकमा प्रचलित प्रविधिको अध्ययन गरिरहेको छ । 

    फोहोर व्यवस्थापनसम्बन्धी अध्ययनका लागि बनेको टीमका सल्लाहकार रहेका गणेश कार्की यो टीमले अहिले नेपालमा प्रयोगमा आइसकेका प्रविधिका साथै फोहोर छुट्याउने अटोमेटेड मेसिनबारे समेत अध्ययन गरिरहेको बताउँछन् । यसका लागि भारतीय शहरमा प्रयोग भइरहेको प्रविधिलाई बढी केन्द्रित गरिएको उनको भनाइ छ । 

    balen team rikishi.jpeg

    ‘हामीले अहिले प्रयोगमा आइसकेको प्रविधिको प्रयोग गर्ने हो । त्यसका लागि सबै विकल्पमा खुला छौं । तर, काठमाडौंमा धेरै फोहोर उत्पादन हुने र फोहोर छुट्याउने ट्रेन्ड समेत नभएकोले अटो सेग्रिगेसन गर्ने खालको मेसिन पनि हेरिरहेका छौं,’ कार्की भन्छन्, ‘यसका लागि भारतीय शहरमा यसको व्यवस्थापन कसरी भइरहेको छ समेत हामीले हेरिरहेका छौं ।’

    उनका अनुसार महानगरपालिकाको बजेट सार्वजनिक हुनुअघि नै यसबारे एउटा खाका तयार हुन्छ । असार १० गते प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापनबारे विषय समेटिन्छ । 

    शुन्य लागतमा हुनसक्छ फोहोरको व्यवस्थापन

    balen-shaha-sunita-dangol.jpg

    मध्यपुर थिमिमा फोहोर व्यवस्थापन गर्दै आएको रिकीसी प्रा. लि. ले काठमाडौंले अवसर दिने हो भने आफूहरुले महानगरपालिकाको शुन्य लागतमै फोहोरको व्यवस्थापन गर्नसक्ने प्रस्ताव गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहको टीमले रिकिसीको टीमसँग केही दिन अघि भेट गरेको थियो । उक्त भेटमा रिकिसीले महानगरपालिकाले अहिले उठाउँदै आएको महशुलभन्दा कम महशुल उठाएर फोहोर संकलन र व्यवस्थापन गर्नसक्ने प्रस्ताव गरेको रिकीसीका संस्थापक किरण गिरीले जानकारी दिए । 

    ‘अहिले निजी क्षेत्रले प्रतिघर ४०० रुपैयाँ लिएर फोहोर उठाइरहेको छ । हामीलाई ३०० रुपैयाँ मात्रै उठाउन दिने हो भने हामीले फोहोर उठाएर मल बनाउन सक्छौं ।’ गिरी भन्छन्, ‘त्यो मल काठमाडौं महागरपालिकालाई नै हस्तान्तरण गर्छौं, महानगरपालिकाले यो बेच्न पनि सक्छ, निःशुल्क बाँड्न पनि सक्छ । तर, यसका लागि महानगरपालिकाले जग्गा र संरचना भने बनाइदिनुपर्छ । यसका लागि काठमाडौंमा प्रशस्त ठाउँ पनि छ ।’

    काठमाडौं महानगरपालिकाले टेकुस्थित महानगरको जग्गामा सीएनबीएम प्रविधिको परीक्षणका लागि रिकिसीलाई स्थान उपलब्ध गराएको र आफूहरुले छिटै त्यहाँ गएर परीक्षण उत्पादन थाल्ने कम्पनीका प्रबन्ध निर्देशक गिरीको भनाइ छ ।


    images

    Logo