काठमाडौं । चालु आर्थिक वर्षको बजेट खर्च आइतबारदेखि नै रोकिने भएपछि अन्तिम दिन शनिबार ठूलो भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सार्वजनिक विदाको दिन अर्थात शनिबार २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरका खर्च भएको हो ।
यस्तो भुक्तानी यस बर्ष चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी तीन क्षेत्रबाट भएको छ । यस अघि शुक्रबारसम्म १ खर्ब ७४ अर्ब रुपैयाँ रहेको पूँजीगत बजेट खर्च शनिबार मात्र १ खर्ब ८९ अर्ब पुगेको हो ।
यससँगै अब पूँजीगत विकास वार्षिक लक्ष्यको ५० प्रतिशत छोएको छ । शनिबारसम्म विकास खर्च ५०.११ प्रतिशत गरेको छ । यस आर्थिक बर्षमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ ।
विकास खर्चसँगै चालु र वित्तीय व्यवस्थातर्फको भुक्तानी समेत असार लागेसँगै उल्लेख्य बढेको छ । सरकारी कार्यालयहरूबाट हुने सबै खाले भुक्तानी आर्थिक वर्ष सकिन ७ दिन बाँकीमा सरकारले भुक्तानी बन्द व्यवस्था रहेको छ ।


