काठमाडौं । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप अत्यधिक बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ९।२८ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
केन्द्रीय बैंकका अनुसार तराईमा पनि मूल्य वृद्धिको उत्तिकै चाप परेको पाइएको छ । तराईमा ८.२९ प्रतिशत बराबरको उपभोक्ता मुद्रास्फीति रहेको छ । काठमाडौँ उपत्यकामा ८.३२ प्रतिशत, र हिमालमा ८.९२ प्रतिशत बराबरको उपभोक्ता मुद्रास्फीति रहेको छ । विवरणअनुसार २०७८ जेठमा तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ जेठमा काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत बराबरको उपभोक्ता मुद्रास्फीति थियो ।
बैंकका अनुसार २०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सूर्तीजन्य पदार्थ, मदिराजन्य पेयपदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ । साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २५.७९ प्रतिशत, ११.६४ प्रतिशत, ८.३० प्रतिशत, ८.२१ प्रतिशत र ७.८४ प्रतिशत बराबर छ ।
गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । विसं २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ ।


