बारा । तीन वर्षमा पाइपलाइनबाट झण्डै २९ लाख किलोलिटर डिजेल आयात भएको छ । २०७६ भदौदेखि सुरु भएको परियोजनाबाट हालसम्म कुल २८ लाख ९२ हजार ४ सय २९ किलोलिटर डिजेल आयात भएको हो । ट्यांकरमार्फत् हुँदै आएको आयातलाई पाइपलाइनले विस्थापन गर्दा हालसम्म झण्डै ५ अर्ब रुपैयाँ बराबरको बचत भएको छ ।
पाइपलाइन परियोजना सञ्चालन भएको तीन वर्ष पूरा भएको अवसरमा प्रादेशिक कार्यालयमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, पर्सा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल एवं बारा तथा पर्सा जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रमुख, निगमको अमलेखगञ्ज डिपोका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले डिपो प्राङ्गणमा वृक्षारोपण समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै निगमको मधेश प्रदेश कार्यालयका प्रादेशिक प्रमुख प्रदीप यादवले पेट्रोलियम पाइपलाइन सञ्चालनको ३ वर्षसम्म कुनै पनि दुर्घटनारहित ढंगबाट इन्धन आयात गर्न सम्भव भएको भन्दै यसले इन्धनमा हुँदै आएको चुहावट रोक्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
अहिले पाइपलाइनबाट डिजेल आइरहेकोमा पेट्रोल भण्डारणका लागि बन्दै गरेको ट्याङ्कको निर्माण सम्मन्न भएपछि २०२४ जनवरीदेखि पेट्रोल र मट्टीतेल समेत पाइपलाइनबाटै आयात गर्ने उनको भनाइ थियो । पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्याउने र सर्लाहीसम्म ग्यास पाइपलाइन समेत विस्तार गर्ने कार्य अघि बढ्ने उनले बताए । ग्यास पाइपलाइन सञ्चालनमा आएपछि अहिले भारतीय बुलेटले लैजाने गरेको ६ अर्व रुपैयाँ विदेशिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचत समेत हुने उल्लेख गरे ।
यद्यपि पाइपलाइन परियोजनामा हुनसक्ने सम्भावित सुरक्षाबारे सजग हुनुपर्ने भन्दै यसका लागि प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित सुरक्षा निकायको साथ र सहयोग निरन्तर रहने अपेक्षा समेत आफूहरुको रहेको यादवको भनाइ थियो ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कटुवालले तेल चोर्न पाउनुपर्यो भन्दै ट्यांकर व्यवसायीले सीडीओ कार्यालय घेरेको विगत स्मरण गर्दै अहिले पाइपाइनको युग सुरु गर्न र यसलाई सफल तुल्याउन भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरे । पाइपलाइनको सुरक्षाका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने भन्दै सभ्वावित जोखिमको पूर्वसूचना दिन उनले सबै पक्षसँग आग्रह समेत गरे ।
त्यस्तै, पर्साका सीडीओ ढकालले पाइपलाइनको सुरक्षाका बारेमा आफूहरुलाई सँधै चासो हुने बताए । उनले अहिले डिजेलमात्रै आइरहेको पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत ल्याउने निगम सफल हुने विश्वास व्यक्त गरे ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटरमा फैलिएको यो पाइपलाइन दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यो पाइपाइनबाट वार्षिक २५ लाख किलोलिटर डिजेल आयात गर्ने क्षमता छ ।
त्यस्तै, अमलेखगञ्ज डिपो नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डार हो । २०३३ सालमा निर्माण भएको सो डिपो ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रमा फैलिएको छ । १९ हजार ८ सय ४० किलोलिटर डिजेल, ३ हजार ४ सय ३० किलोलिटर पेट्रोल ७ सय ६० किलोलिटर मट्टितेल भण्डारणको क्षमता रहेको छ । यो डिपोको क्षमताले मात्र देशको २.५ दिनको पेट्रोलियमको माग धान्नसक्छ ।
नेपाल आयल निगम प्रादेशिक ढाँचामा गएपछि यो कार्यालय निगमको प्रादेशिक कार्यालयको रुपमा समेत काम गर्दै आएको छ । यो कार्यालय अन्तर्गत शाखा कार्यालय वीरगञ्ज, इन्धन डिपो महेन्द्रनगर, हवाइ इन्धन डिपो जनकपुर र मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना समेत सञ्चालित छन् ।
अहिले यो प्रादेशिक कार्यालयले २६ जिल्लाको आपूर्ति व्यवस्थापन गर्दै आएको छ । जस अन्तर्गत ४ सय २४ डिलर, २ सय ६४ ढुवानीकर्ता रहेका छन् । अमलेखगञ्ज डिपोबाट अहिले विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ। अहिले दैनिक औसत ५००० किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६५०० किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको छ ।
डिपोको सुरक्षाको लागि अमलेखगञ्ज डिपोमा २४ लाख लिटरको पानीट्याङ्कीसहित फायर फाइटिङको व्यवस्था हुनुका साथै डिपो तथा पाइपलाइनको चारैतिर २० वटा फायरमोनिटर, हाइड्रान्टसहित १४ इन्चको फायरलाइन रहेको छ ।
डिपोमा प्रतिघण्टा २८८ किलोलिटर डिस्चार्जयुक्त २ वटा फायरइञ्जिन रहेको छ । प्रत्येक लोडिङ अनलोडिङ वे मा क्यापासिटेटिभ अर्थिङ तथा विभिन्न क्षमताका १०० भन्दा बढी फायरबोतलहरुको व्यवस्था छ । सम्भावित आगलागीको नियन्त्रणको लागि डिपोसँग आफ्नै २ वटा दमकल तयारी हालतमा रहेको छ ।


