काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा भएको करार कर्मचारी नियुक्ति सम्बन्धमा नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले असन्तुष्टि जनाएको छ । लघुवित्त व्यवस्थापनले शंकास्पद ढङ्गबाट कर्मचारी नियुक्ति गर्न लागेको भन्दै फियनले असन्तुष्टि जनाएको हो ।
व्यवस्थापनले भदौ १६ गते सूचना प्रकाशन गरि करार सेवामा कर्मचारी भर्नाका लागि आवेदन माग गरेको थियो । उक्त सूचना अनुसार इच्छुक व्यक्तिलाई आवेदन दिन भदौ १९ सम्मको समय दिइएको थियो । उक्त सुचना भदौ १३ गतेकै भएको भन्दै फियनले सूचना प्रवाहमा ३ दिन ढिलाइ भएकोमा गम्भीर आशंका व्यक्त गरेको छ । त्यस्तै, आवेदनमा दरखास्त दस्तुर, परीक्षा फाराम वा प्रवेश पत्रको व्यवस्था केही नहुनुले उक्त प्रक्रिया थप शंकास्पद बनेको फियनले जनाएको छ ।
कुनै पनि संस्थाले कर्मचारी भर्ना गर्नुअघि पदपुर्ति समिति गठन गनुपर्ने, कर्मचारी भर्नामा छनौटका आधारहरु तय हुनुपर्नेमा त्यसो नगरि हचुवाको भरमा सूचना प्रकाशन हुनुले व्यवस्थापनको हतास मानसिकताको उपज भएको भन्दै संघले यस्तो कदमले संस्थाको आर्थिक भार बढाउने तथा कर्मचारीको नियुक्ति समेत निष्पक्ष पारदर्शी र प्रतिस्पर्धात्मक नहुने उल्लेख गरेको छ ।
विगतदेखि नै फियनले कर्मचारी नियुक्तिमा यसअघि दैनिक ज्यालादारीमा कायम रहेकाहरुलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएको थियो । अहिले विज्ञापन प्रकाशनमा भएको शंकास्पद व्यबहारले ती कर्मचारीहरुलाई बाइपास गरेर जाने मनसाय देखिएको फियनको आरोप छ । यसले दैनिक ज्यालादारी कर्मचारीको वर्षौको योगदानको अवमूल्यन तथा उनीहरुको भविष्यमाथि गम्भीर खेलवाड गरेको समेत संघले ठहर गरेको छ ।
फियनले उक्त विषय समेटेर यसअघि उच्च व्यवस्थापनलाई ध्यानाकर्षण गराएको थियो । तर व्यवस्थापनले आफुहरुले उठाएका विषयलाई सम्बोधन नगरेको भन्दै उनीहरुले यस विषयमा राष्ट्र बैैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पत्र लेखेका छन् । उक्त पत्रमा संस्थाभित्र भएको विकृतिजन्य अवस्था रोक्न राष्ट्र बैंकले आवश्यक कारबाही गर्न अनुरोध गरिएको छ ।


