काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १ सय ९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुले औसतमा १४.८ प्रतिशत नाफा गरेको पाइएको छ । जबकि आर्थिक वर्ष २०७६/७७ मा यस्तो नाफा १५.६ प्रतिशत थियो । एक वर्षको अन्तरालमा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुको नाफा औसतमा १ प्रतिशतले कम भएको तथ्यांकले देखाएका छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड कायम रहेको छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । राष्ट्र बैंकको रिपोर्टअनुसार गत वर्ष ६ सय ४ वटा कम्पनी दर्ता भएकोमा १ सय ९७ वटा विदेशी लगानीको रहेको छ ।
कुन देशबाट कति प्रत्यक्ष वैदेशिक लगानी छन् ?
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी लगानी भएको छ । भारतबाट मात्रै ७५ अर्ब ८१ करोडको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
त्यस्तै, चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
त्यसैगरी, अष्ट्रेलियाको १२ अर्ब १६ करोड ३४ लाख रुपैयाँ, दक्षिण कोरियाको ९ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ, युएईको ८ अर्ब ३५ करोड ५ लाख रुपैयाँ, अमेरिकाको ६ अर्ब ७० करोड ९७ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
त्यस्तै, बंगलादेशको ६ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ, नेदरल्याण्ड्सको ५ अर्ब ३७ करोड रुपैयाँ, युनाइटेड किंगडम र पाकिस्तानको ४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ भने ब्रिटिश भर्जिन आइल्याण्डको ३ अर्ब ६७ करोड रुपैयाँ, मौरिसस, जापान, बर्मुडा र हंगकंग चीनको २ अर्ब प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
कुन क्षेत्रमा कति प्रतिशत ?
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।
औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ ।
त्यस्तै, औद्योगिक क्षेत्रमा पर्ने निर्माण व्यवसायमा २९.५ प्रतिशत, बिजुली, ग्यास, स्टीममा ३०.८ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ भने सेवाहरूक्षेत्रमा पर्ने आवास र खाना सेवामा ५.७ प्रतिशत, शिक्षामा ०.८ प्रतिशत, वित्तीय र बीमा सेवामा २६.९ प्रतिशत,मानव स्वास्थ्य र सामाजिक कार्यमा ४.८ प्रतिशत र अन्य सेवामा ३.८ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।
नेपालमा पछिल्लो समय बिजुली, ग्यास, स्टीम, वातावरणीय क्षेत्रमध्ये जलविद्युत क्षेत्रमा सबैभन्दा बढी लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।


विविका तिमल्सिना
