काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को वैशाख मसान्तसम्म वैदेशिक सहायता बढेर २ खर्ब २ अर्ब २८ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपालले यस वर्ष पाएको कुल वैदेशिक सहायता प्रतिवद्धता गतवर्षको तुलनामा ३५.३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा नेपालले १ खर्ब ३९ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता पाएको थियो ।
नेपालले हालसम्म विकास साझेदारबाट पाएको वैदेशिक सहायता प्रतिवद्धतामा द्विपक्षीय प्रतिवद्धताको हिस्सा १४.३ प्रतिशत र बहुपक्षीय प्रतिवद्धताको हिस्सा ८५.७ प्रतिशत रहेको छ ।
कुल वैदेशिक सहायता प्रतिवद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ प्रतिशत, ऊर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायताको रुपमा ११.७ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालले पाउने वैदेशिक सहायता प्रतिवद्धता रकम बढे पनि वास्तविक वैदेशिक सहायता रकम भने घटेको देखिएको छ । हालसम्म नेपालले प्राप्त गरेको वास्तविक वैदेशिक सहायता भने ८१ अर्ब ४३ करोडमा खुम्चिएको छ ।
अर्थ मन्त्रालयका अनुसार प्रतिवद्धताको तुलनामा वैदेशिक सहायता प्राप्ती भने निकै कम छ । गत वैशाख मसान्तसम्ममा नेपालले १४ अर्ब ३३ करोड रुपैयाँ बराबर अनुदान र ६७ अर्ब १० करोड रुपैयाँ ऋण गरी ८१ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता पाएको छ ।
सरकारले यो अवधिमा सरकारले आन्तरिक ऋण भने १ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर उठाएको देखिछ ।


