काठमाडौं । भारतले नेपालका लागि साढे ५ अर्ब भारतीय रुपैयाँ बजेट विनियोजन गरेको छ । बुधबार सार्वजनिक भएको भारतको संघीय बजेटले आगामी आर्थिक वर्षमा नेपालका सो बराबरकोे रकम छुट्याएको हो ।
बजेटमा उल्लेखित उक्त रकम चालु आर्थिक वर्षभन्दा झण्डै २७ प्रतिशत कम हो । चालु वर्षमा भारतले नेपाललाई कुल ७ अर्ब ५० करोड भारतीय रुपैयाँ बराबरको सहयोग दिनेगरी बजेटमा व्यवस्था गरेको थियो ।
त्यसो त, चालु आर्थिक वर्षका लागि छुट्याएको बजेटको अधिकांश अंश नेपालले प्राप्त गर्न सकेको छैन । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा भारतले यो वर्ष नेपाललाई दिने सहयोग ४ अर्ब २५ करोड भारतीय रुपैयाँमा सीमित हुने अनुमान गरेको छ । सोही आधारमा भारतले आगामी वर्षको लक्ष्य घटाएको हो ।
भारतले नेपालले प्रस्ताव गरेको आयोजनाको आधारमा नेपालसँग सहयोग सम्झौता गर्ने गर्छ । त्यस्ता आयोजनाको कार्यप्रगतिका आधारमा नेपालले शोधभर्नाका लागि दाबी गर्ने गर्छ । तर, नेपालले आयोजना सम्पन्न गरेर शोधभर्ना दाबी गर्न नसक्दा बजेटमा उल्लेखित अनुदान समेत प्राप्त गर्न नसकेको हो ।
बजेटले दक्षिण एशियाली राष्ट्रहरु अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्स, अन्य एशियाली राष्ट्रहरु म्यानमार, मंगोलिया तथा अन्य महाद्विपका राष्ट्रका लागि ५४ अर्ब भारु बराबरको सहयोग बजेट छुट्याएको छ जसमध्ये भुटानका लागि मात्रै २४ अर्ब रुपैयाँ छुट्याइएको छ ।
भुटानका लागि अघिल्लो वर्ष २२ अर्ब ६६ करोड सहयोग घोषणा गरिएकोमा झण्डै २५ अर्ब सहयोग हस्तान्तरण हुने अनुमान गरिएको छ । चालु वर्षको प्रगतिका आधारमा भारतले भुटानका लागि सहयोग रकम बढाएको हो ।


