काठमाडौं । मुलुकको शोधनान्तर बचत १ खर्बको नजिक पुगेको छ । विदेशी मुद्रा सञ्चयको मापक मानिने शोधनान्तर बचत पुस मसान्तसम्म ९७ अर्ब रुपैयाँले बचतमा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म यस्तो बचत ४५ अर्ब ८७ करोड रुपैयाँ मात्रै थियो । पुस महिनामा मात्रै यस्तो बचत झण्डै ५० अर्ब रुपैयाँले बढ्न पुगेको हो ।
यसरी शोधनान्तर स्थिति सुधार हुनुमा पुस महिनामा भित्रिएको रेमिट्यान्स आप्रवाह मुख्य कारणको रुपमा रहेको देखिएको छ । पुस महिनामा मात्रै झण्डै १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । योसँगै पुस महिनासम्मको कुल रेमिट्यान्स आप्रवाह ५ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ ।
शोधनान्तर बचतसँगै विदेशी मुद्रा सञ्चितिको अवस्थामा समेत व्यापक सुधार आएको छ । पुस मसान्तसम्म वित्तीय क्षेत्र तथा नेपाल राष्ट्र बैंकसँग समेत गरी जम्मा १३ खर्ब ३७ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । मंसिर मसान्तसम्म यस्तो सञ्चिति १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबर थियो । पुस मसान्तको विदेशी मुद्रा सञ्चितिले १०.४ महिनाको बस्तु तथा ९.१ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।
यद्यपि उपभोग्य वस्तुको आयातका कारण यो अवधिमा चालु खाता भने नोक्सानमै छ । पुस मसान्तसम्म यस्तो घाटा २९ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो महिना यो झण्डै ३७ अर्ब रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा उपभोक्ता मुद्रास्फीति भने बढेको छ । पुस मसान्तसम्म औसत मल्यवृद्धि दर ७.३८ प्रतिशत पुगेको छ । अघिल्लो महिनासम्म यो ७.२६ प्रतिशत रहेको थियो ।


