images
images

अर्धवार्षिक समीक्षा : छ महिनामा ८ खर्ब २५ अर्ब व्यापार घाटा


  • 634
    SHARES
  • २०७९ फाल्गुण १० गते बुधबार

    अर्धवार्षिक समीक्षा : छ महिनामा ८ खर्ब २५ अर्ब व्यापार घाटा

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिएको हो ।

     यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २०.८४ प्रतिशतले घटेको छ ।

     त्यस्तै गतवर्षको तुलनामा आयात १९.९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट ५ खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबर मात्रै छ । छ महिना अवधिमा चीनबाट १ खर्ब २५ अर्ब ५ करोड २४ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने ४२ करोड २६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

    यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो । इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाख रुपैयाँ बराबरको आयात हुँदा १० करोड ३६ लाख रुपैयाँ बराबर मात्रै निर्यात भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट  २० अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । 

    अर्जेन्टिनासँग  १८ अर्ब ५६ करोड ६० रुपैयाँ बराबरको आयात र १० लाख २० हजार रुपैयाँ  बराबरक निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार छ महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ  बराबरको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ  बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड रुपैयाँ  बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ  बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।

     त्यसैगरी, २३ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड रुपैयाँ बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको देखिन्छ ।
         
    छ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको देखिएको हो । त्यस्तै, सोयाबिन तेल ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँ  बराबरको निर्यात भएको छ । विभागका अनुसार ४ अर्ब ८९ करोड ७३ रुपैयाँ  बराबरको अलैँची र २ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ  बराबरको चिया निर्यात भएको छ ।

    वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो । वीरगञ्ज भन्सारबाट छ महिना अवधिमा ३ अर्ब ४३ करोड ६३ लाख ४३ हजार रुपैयाँ  बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालले यो अवधिमा गरेको कूल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ ।
      
    त्यस्तै, भैरहवा भन्सारबाट १ खर्ब ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ  बराबरको आयात र ५ अर्ब ४२ करोड ७० लाख रुपैयाँ बराबर निर्यात भएको छ । विराटनगर भन्सारबाट १ अर्ब ६ करोड ९० लाख १९ हजार रुपैयाँ  बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ । 


    images

    Logo