images
images

माघसम्ममा २२ अर्ब ७४ करोड बजेट रकमान्तर, ट्रेजरी बिलमा मात्रै २२ अर्ब


  • 291
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    माघसम्ममा २२ अर्ब ७४ करोड बजेट रकमान्तर, ट्रेजरी बिलमा मात्रै २२ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्षको भदौदेखि माघसम्ममा झण्डै २३ अर्ब बजेट रकमान्तर गरिएको छ । बजेटमा छुट्याइएको रकम तोकिएका प्रयोजनमा खर्च नहुने देखिएपछि अर्थ मन्त्रालयले आवश्यक रहेको क्षेत्रमा २२ अर्ब ७४ करोड रुपैयाँ रकमान्तर गरेको हो ।  

    यो अवधिमा भएको कुल रकमान्तरमध्ये भदौ महिनामा ३० करोड, कात्तिक महिनामा १० करोड, पुस महिनामा २२ अर्ब २ करोड र माघ महिनामा ३२ करोड ४० लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

    रकमान्तर भएकोमध्ये २२ अर्ब रुपैयाँ ऋण तिर्ने प्रयोजनका लागि खर्च गरिएको छ । ट्रेजरी बिलको लागत बढेपछि विकाश ऋणपत्र शिर्षकमा विनियोजित उक्त रकमलाई ट्रेजरी बिल शिर्षकमा रकमान्तर गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

    बाँकी ७४ करोड ४० लाख रुपैयाँमध्ये २२ करोड ४० लाख रुपैयाँ काठमाडौंको फोहोरमैला व्यवस्थापनमा खर्च गरिएको छ । शहरी विकाश मन्त्रालय अन्तर्गत शहरी करिडोर आयोजनाको १२ करोड ४० लाख रुपैयाँ बन्चरे डाँडा फोहोरमैला ल्याण्डफिल्ड साइटसम्म जाने सडक स्तरोन्नतिका लागि पठाइएको छ । 

    त्यस्तै भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत उत्तर दक्षिण करिडोरका १० करोड बराबरको बजेट घटाएर मुड्खु तीनपिप्ले तथा टोखा छहरे सडक स्तरोन्नतिमा पठाइएको छ । 
    त्यस्तै रेलवे विभागको नाममा रहेको बजेट खर्च हुने नदेखिएपछि डोटीको सडक मुआब्जाका लागि २० करोड रुपैयाँ पठाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको १० करोड रुपैयाँ एकीकृत हुलाक भवन बनाउन पठाइएको छ । 

    ऊर्जा मन्त्रालय अन्तर्गत तराई मधेश सिंचाई विशेष कार्यक्रमको २ करोड ५० लाख रुपैयाँ झापामा भूमिगत स्यालो ट्युवेल खरिदमा रकमान्तर गरिएको छ । बबई सिंचाई आयोजनाको रकम घटाएर बाढीबाट क्षतिग्रस्त मेलम्ची आयोजनाको पुनर्निर्माणमा पठाइएको छ । 

    अदालत अन्तर्गत विनियोजित जिल्ला अदालतको बजेट उच्च अदालत दिपायलको भवन बनाउन खर्च गरिएको छ ।  


    images

    Logo