शुक्रबार संयुक्त राज्य अमेरिकाको नियामक निकायले क्यालिफोर्नियाको सेन्टा क्लारास्थित सिलिकन भ्याली बैंकको सम्पत्ति जफत गरे । वित्तीय संकट गहिरिँदै जाँदा लगानीकर्ताको निक्षेप नै संकटमा पर्ने देखिएपछि फेडेरल रिजर्भले यस्तो कदम चालेको हो ।
बैंकको वित्तीय संकट गहिरिँदै गएको चाल पाएपछि निक्षेपकर्ताले निक्षेपको सुरक्षाका लागि आफ्ना सबै बचतहरु निकाल्न सुरु गरेका थिए । निक्षेपको माग अत्यधिक आउन थालेपछि बैंक तात्कालिन दायित्वहरु भुक्तानी गर्न समेत असमर्थ भयो । योसँगै नियामकले बैंक नै बन्द गराइदिए । सिलिकन भ्यालीको यो पतनले संसारभर वित्तीय तथा प्राविधिकवृत्तमा ठूलो झड्का लागेको छ ।
सिलिकन भ्याली अमेरिकाको १६ औं ठूलो बैंक थियो । यो बैंकको पतनलाई अमेरिकामा सन् २००८ पछिकै सबैभन्दा ठूलो वित्तीय असफलता मानिएको छ । अहिले विश्वभरका नियामक निकायहरु वित्तीय प्रणालीप्रति आफ्ना जनताको विश्वास जोगाउने दौडमा लागेका छन् ।
किन भयो सिलिकन भ्यालीको पतन ?
सिलिकन भ्याली बैंकको कारोबार अमेरिकी प्रविधि स्टार्टअप कम्पनीमा बढी केन्द्रित थियो । कोभिड महामारीको समयमा यस्ता कम्पनीहरुले घरमा थुनिएर बसेका मानिसहरुलाई मनोरञ्जन र सेवा प्रदान गरेका थिए । कम्पनीहरुको सेवा प्रवाहसँगै नाफा समेत बढ्दै जाँदा उक्त बैंकले सो क्षेत्रको शेयरमा लगानी गर्नका लागि प्रशस्त रुपमा ऋण दिन थाल्यो ।
त्यसो त सिलिकन भ्याली बैंकले अमेरिकी सरकारी बन्डमा समेत प्रशस्त लगानी गरेको थियो । तर मुद्रास्फीति नियन्त्रण गर्ने भन्दै फेडरल रिजर्भले ब्याजदर बढाउन सुरु गरेपछि त्यस्तो बण्डको मूल्य घट्न थाल्यो । सबैभन्दा सुरक्षित मानिएको बण्डको लगानी अन्ततः उक्त बैंक पतनको अर्को प्रमुख कारण बन्न पुग्यो ।
महामारीपछिको समय प्राविधिक क्षेत्रका लागि सुखद रहेन । यो क्षेत्रको आर्थिक स्थिति तनावग्रस्त बन्दै गयो । बैंकका कतिपय सेवाग्राहीले डुब्ने क्षेत्रमै लगानी गर्न आफ्नो निक्षेप बैंकबाट निकाल्न थाले । निक्षेपको यो माग धान्न बैंकलाई ठूलो नगदको आवश्यकता पर्यो । नगदको माग पूरा गर्न बैंकले बण्डलाई घटेको मूल्यमै बेच्न बाध्य भयो ।
विज्ञहरु सिलिकन भ्याली बैंकको मुर्खतापूर्ण व्यवस्थापनले बैंक डुबेको टिप्पणी गर्छन् । जर्जटाउन युनिभर्सिटीका विश्वव्यापी वित्तीय बजारको नियमन विशेषज्ञ जेम्स एन्जल भन्छन्, ‘सिलिकन भ्यालीले छोटो अवधिको निक्षेप दीर्घकालीन बन्डहरुमा लगानी गर्यो । जब ब्याजदर बढ्यो, बन्डको मूल्य घट्यो र बैंकको इक्विटी नै नष्ट भयो ।’
यो घटनालाई जेम्स सन् १९८० को अवस्थासँग तुलना गर्छन् । उक्त समयमा अमेरिकी बचत र ऋण उद्योग यस्तै समस्याले ध्वस्त पारेको थियो । जेम्स भन्छन्, ‘विगतको घटनाबाट उनीहरुले पाठ सिक्नुपर्ने थियो, सिकेनन् ।
सिलिकन भ्याली बैंकको पतनबाट अन्य बैंकहरुले आफ्नो सम्पत्तिमा विविधता ल्याउनुपर्ने पाठ सिक्नुपर्ने ड्यूक युनिभर्सिटीको फुक्वा स्कुल अफ बिजनेसका प्रोफेसर क्याम्पबेल आर हार्वे बताउँछन् ।
‘यस्तो देखिन्छ कि बैंकले अमेरिकी प्रविधि स्टार्टअपहरुलाई मात्र विशेष प्राथमिकतामा राख्यो । हामीलाई थाहा छ, प्राविधिक क्षेत्रहरु खस्कँदो अवस्थामा छन् । यदि लगानीमा विविधता अपनाउनुहुन्न र एउटैमात्र क्षेत्रमा लगानी गर्नुहुन्छ भने तपाईँले पनि उही बाटो लिनुहुनेछ’ हार्वेले अलजजिरालाई भने, ‘वित्तीय संस्थाले ऋण लगानीमा विविधता ल्याउन जरुरी छ । ‘बैंक त्यसैमा चुकेको देखिन्छ ।’
सिलिकन भ्याली पतनपछि के के भयो ?
उक्त बैंक बन्द गराइएको दुई दिनपछि अमेरिकी नियामकले न्यूयोर्कमा रहेको सिग्नेचर बैंकको सम्पत्ति जफत गर्यो । क्रिप्टोकरेन्सी क्षेत्रको व्यापारमा धेरै लगानी भएको उक्त बैंक समेत तात्कालिन दायित्व भुक्तानीमा असमर्थ भएपछि नियामक निकायको नियन्त्रणमा पुगेको हो । यसलाई अमेरिकी इतिहासमा तेस्रो ठूलो बैंक असफलताको रुपमा अंकित गरिएको छ ।
बैंकहरुमा एकपछि अर्को देखिँदै गएको समस्या रोक्न नियामकहरुले निक्षेपकर्ताको निक्षेपको ग्यारेन्टी गरेका छन् । फेडेरल रिजर्भले ‘बैंक टर्म फण्डिङ प्रोग्राम’ नामक कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमको उद्देश्य बैंकलाई नोक्सानी व्यहोरेर बन्डहरुको बिक्री गर्न बाध्य हुने अवस्थाबाट बचाउनु हो । यो कार्यक्रमअन्तर्गत त्यस्तो वण्डको धितोमा फेडेरल रिजर्भबाट सीधै ऋण पाइन्छ । अमेरिकी राष्ट्रपति जो बाइडेन आफैंले अमेरिकीहरुले बैंकिङ प्रणाली सुरक्षित छ भन्ने विश्वास गर्ने अवस्था कायम राख्ने आश्वासन दिएका छन् ।
तर अझै पनि अमेरिकाका ४ ठूला बैंकहरु चरम वित्तीय संकटमा छन् । जेपी मोर्गन चेस, बैंक अफ अमेरिका, वेल्स फार्गो, र सिटी बैंक सहित अन्य बैंकहरुको शेयर घटेका छन् । वित्तीय क्षेत्रमा आउनसक्ने संकटका कारण शेयरमूल्यमा तीव्र गिरावट आएको हो । क्यालिफोर्नियाकै अर्को मध्यमस्तरीय बैंक ‘फर्स्ट रिपब्लिक बैंक’ले आफ्नो शेयरमूल्य ६० प्रतिशतसम्म घटेको जनाएको छ ।
युरोप र एसियाकै बैंकको शेयरमा पनि ठूलो असर परेको छ ।
बेलायतमा वित्तीय अधिकारीहरुले सिलिकन भ्याली बैंकको स्थानीय इकाइ, यूरोपको सबैभन्दा ठूलो बैंक एचएसबीसीलाई बेच्न सक्ने सुविधा दिने घोषणा गरेका छन् । उक्त कदमबाट निक्षेपको ६.७ बिलियन पाउण्डको सुरक्षा हुन सक्ने अधिकारीहरुको अनुमान छ ।
क्यानेडियन नियामकहरुले आफ्नो देशमा रहेको सिलिकन भ्याली बैंकको इकाई नियन्त्रणमा लिइसकेका छन् । जर्मनीको संघीय वित्तीय पर्यवेक्षक प्राधिकरणले भने उक्त बैंकको स्थानीय शाखालाई अस्थायी रुपमा बन्द नै गरेको छ ।
कति महत्वपूर्ण थियो बैंकिङ क्षेत्रका लागि सिलिकन भ्याली बैंक ?
उक्त बैंक संयुक्त राज्य अमेरिकाको १६ औं ठूलो बैंक थियो । उक्त बैंकलाई बैंकिङ क्षेत्रको मुख्य खेलाडी भन्दा पनि मध्य(स्तरीय ऋणदाताको रुपमा बढी हेरिएको छ ।
‘यो विशिष्ट प्रकृतिको बैंक हो । त्यसैले यसलाई अन्य साधारण ठूला बैंकहरुसँग तुलना गर्न मिल्दैन । यद्यपि वित्तीय क्षेत्रको संकटका लागि यो बैंकको प्रभाव पर्याप्त छ’, हार्वेले भने ।
फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनका अनुसार डिसेम्बरसम्ममा कम्पनीसँग १७५.४ बिलियन डलर निक्षेप र २०९ बिलियन डलर सम्पत्ति रहेको थियो । जबकि, अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेसको गत वर्ष ३.६७ ट्रिलियन डलर सम्पत्ति थियो । यसका आधारमा सिलिकन भ्याली जेपी मोर्गन भन्दा १० गुणा सानो देखिन्छ ।
तथापि, प्रविधि क्षेत्रको इकोसिस्टममा सिलिकन भ्यालीको ठूलो प्रभाव थियो । जोखिम छ सोचेर ठूला संस्थाहरुले ऋण नदिएका स्टार्टअपहरुलाई सहयोग गरेका कारण सिलीकन भ्यालीको कुलीन वर्गमा राम्रो प्रतिष्ठा थियो ।
बैंकको पतनका कारण टेक कम्पनीका प्रमुख कार्यकारीहरुका लागि आफ्ना कर्मचारीको पारिश्रमिक समयमै भुक्तानी गर्न नसक्ने सम्भावना बढेको छ ।
सिलीकन भ्यालीका ग्राहकहरुले सबै निक्षेपको ग्यारेन्टी पाएका छन् । यद्यपि तत्कालिन संकटका कारण यस्तो ग्यारेन्टीका बावजुद स्टार्टअप क्षेत्र सामान्य बन्न केही समय लाग्न सक्छ ।
के सिलिकन भ्याली बैंकको पतनले २००७/०८ जस्तै वित्तीय संकट निम्त्याउन सक्छ ?
सिलिकन भ्याली बैंकको वित्तीय संकटको असर कस्तो पर्छ भन्नेबारे आम रुपमा चासो भइरहँदा यसलाई सन् २००८ को मन्दीसँग तुलना गर्ने गरिएको छ । सो समयमा बियर स्टर्नस र लेम्यान ब्रदर्श नामक दुई ठूला बैंकहरु बन्द भएका थिए । यद्यपि अर्थशास्त्रीहरु अहिलेको संकट र त्यतिबेलाको अवस्थाबीच स्पष्ट रुपमा फरक भएको बताउँछन् ।
सिलिकन भ्याली बैंकको अन्य बैंकहरुसँग अपेक्षाकृत भन्दा कम कारोवार थियो । बैंकको व्यवसाय एकै क्षेत्रमा मात्र केन्द्रित थियो जुन लेम्यान ब्रदर्श जस्ता संस्थाको पतनको कारणभन्दा विपरीत छ । साथै सिलिकन भ्यालीे बैंकसँग अन्य साधारण बैंकको अन्तर्सम्बन्ध पनि कम रहेको छ ।
‘सिलिकन भ्यालीको स्थितिले निश्चित रूपमा मानिसहरूलाई चिन्तित बनाएको छ तर मलाई लाग्दैन कि यो लेम्यान प्रकारको स्थितिमा परिणत हुने सम्भावना छ । अहिले फेडरल रिजर्भले आक्रामक रुपमा वित्तीय हस्तक्षेप गरेको छ र विमा नगरेका निक्षेपहरुको पनि ग्यारेन्टी गर्ने वाचा गरेको छ’, पेन्सिलभेनिया कानून स्कूल विश्वविद्यालयका कर्पोरेट कानुनका प्राध्यापक डेभिड स्किलले बताए ।
‘नियामकले चालेको यो कदमको नतिजा चाँडै नै स्पष्ट हुने सम्भावना छ’ डेभिडले भने, ‘यद्यपि यो निश्चित रूपमा सम्भव छ कि त्यहाँ अन्य बैंकहरू छन् जुन ब्याज दरमा भएको वृद्धिको कारणले सिलिकन भ्यालीकै स्थितिमा पुग्न सक्छन् ।’
(अलजजिराबाट)


