काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार पुर्याएको छ ।
साउनदेखि श्रमिकले आधारभूत पारिश्रमिक बापत ९ हजार ३८५ र महँगी भत्ताबापत ५ हजार ६१५ गरी मासिक १५ हजार रुपैयाँ पाउनेछन् । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ३६१ र महँगी भत्ता २१६ गरी प्रतिदिन ५७७ रुपैयाँ पाउनेछन् ।
यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघन्टा ७७ रुपैयाँ पुगेको छ ।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ ।
श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्ने थियो । कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ हजार पुु¥याउने घोषणा गरेका थिए ।
सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक पनि तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ तोकेको हो ।
यसअघि चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ११ हजार ५६१ रुपैयाँ रहेको थियो ।
रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा आवद्ध हुनु पर्ने र उसले तोकेको शर्त तथा सेवा श्रमिकलाई उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।
सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कममा रोजगार सम्झौता गर्न नपाइने कानुनी व्यवसस्था रहेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।


