काठमाडौं । आज १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको अवसरमा संसारभर यो दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाइन्छ ।
सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो । सो बम विस्फोटपछि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोलीबाट सात जना मजदुरको मृत्यु भएपछि आन्दोलनले झनै व्यापकता पायो । मजदुर गरेको आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरे । सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी मे महिनाको १ तारिखमा श्रमिक दिवस मनाउन सुरु भएको हो । विश्वका मजदुरले यो दिवसलाई आफ्नो हक अधिकार सुनिश्चितताको लागि दवाव दिने दिनको रुपमा मनाउँछन् ।
नेपालमा श्रमिक आन्दोलन
नेपालमा श्रमिक आन्दोलनको सुरुवात २००७ सालमा विराटनगरमा सुरु भएको हो । नेपालकै पहिलो उद्योगको रुपमा रहेको विराटनगर जुट मिलबाट सुरु भएको त्यो आन्दोलनले १०४ वर्षे राणाशासनलाई फालेर प्रजातन्त्र प्राप्तिमा महत्वपूर्ण योगदान दिएको थियो ।
तर, पञ्चायतकालसम्म नेपालमा मजदूर दिवस मनाउने चलन नै भएन । विसं २०४६ को राजनीतिक परिवर्तनपछि भने नेपालमा यो दिवस औपचारिक रुपमै मनाउन थालियो । यो दिवसको अवसरमा औद्योगिक प्रतिष्ठानहरुमा सार्वजनिक बिदा समेत दिइन्छ । यो वर्ष भने श्रम दिवस शनिबार पर्न गएको छ । .
नेपालमा श्रमको अवस्था
३ वर्षअघि नेपालले श्रम सर्भेक्षण गरेको थियो । सो सर्भेक्षणले नेपालमा २ करोड ९० लाख जनसंख्या रहेको देखाएको थियो । सो जनसंख्यामध्ये करिब २ करोड ७ लाख जनसंख्या श्रम गर्ने उमेर समूहमा रहेको देखाइएको थियो । नेपालमा १५ वर्षभन्दा माथिको उमेर समूहलाई श्रम गर्ने उमेर समूहभित्र गनिन्छ ।
श्रम गर्ने उमेर समूहको २ करोड ७ लाख जनसंख्यामध्ये श्रम गर्ने जनसंख्या भने ८० लाख मात्रै रहेको श्रम सर्भेक्षणको तथ्यांक छ । बाँकी १ करोड २७ लाख जनसंख्या श्रम नगर्ने समूहभित्र रहेका छन् ।
८० लाख जनसंख्यामध्ये २७ लाख औपचारिक क्षेत्रमा र बाँकी ४४ लाख अनौपचारिक क्षेत्रमा रहेको श्रम सर्भेणको तथ्यांकले देखाउँछ । अहिले वार्षिक करिब साढे ४ लाख जनसंख्या श्रम बजारमा थपिने गरेको समेत सर्भेक्षणले देखाएको छ ।
औपचारिक क्षेत्रमा रहेका जनसख्यालाई श्रम कानूनअनुसार श्रम तथा सुविधाको प्रत्याभूति गर्ने र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई उनीहरुको श्रम र सामाजिक सुरक्षको ग्यारेन्टीको प्रत्याभूति गर्नु सबैभन्दा बढी चुनौती रहेको श्रमिकका नेताहरुको भनाई छ ।
कोभिडको मारमा श्रम बजार
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष पुस्कर आचार्य कोभिड १९ महामारीका कारण अघिल्लो वर्षदेखि श्रम क्षेत्र धरासायी बन्दै गएको बताउँछन् । कोभिडका कारण उद्योग प्रतिष्ठानहरुले दफा ४० प्रयोग गरेर मजदूरहरुलाइ हटाउने गरेकाे उनको भनाइ छ । तर, यस्तो अवस्थामा पनि सरकारले मजदूरको हक हितका लागि आन्दोलन गर्न नदिएको उनी बताउँछन् ।

कोभिडकै कारण कलकारखाना बन्द भएर मान्छेको रोजगारी गुम्दै गएको उनी बताउँछन् । यस्तो अवस्थामा भएका कानून लागु हुन नसकेको र सरकार समेत उदासिन भएको आचार्य बताउँछन् ।
पछिल्लोपटकको लकडाउनले दैनिक रोजगारी गर्ने श्रमिकलाइ अर्को संकटमा पारेको आचार्यको भनाइ छ । 'अघिल्लो लकडाउन र अहिलेको निषेधाज्ञा लगभग एउटै हाे, ३/४ दिनपछि हेर्नुहोला श्रमिकले खान नपाउने अवस्था आउँछ' आचार्य भन्छन्, अहिले आन्दोलनका लागि सडकमा आउने अवस्था छैन, हामीले मेलमार्फत्, विज्ञप्तीमार्फत् सरकारलाइ सचेत गराउने काम बारम्बार गरेका छाैं, सरकारले बेलैमा सोचाेस्, भयावह अवस्था आउने अवस्था नबनोस् ।'
महामारीसँगै सुरु भएसँगै अघिल्लो वर्ष भएको लकडाउनका कारण अनौपचारिक क्षेत्रका लाखौं मजदुरको रोजीरोटी गुम्ने अवस्था सिर्जना भयो । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको समेत सेवा सुविधामा कटौती गरेका थिए ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तथ्यांकले अघिल्लो वर्षको लकडाउनको समयमा ५५ प्रतिशत भन्दा बढी मजदूरले तलब नपाएको जनाएको थियो । कोभिडको दोस्रो लहरसँगै अहिले पनि सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा घोषणा गरेको छ । यसले गर्दा श्रम बजार ठप्प भएको श्रमिक नेताहरु बताउँछन् ।


