काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपालका विशेषगरी ४ क्षेत्रमा सम्पत्ति शुद्धीकरण गर्ने कार्य उच्च रहेको भन्दै त्यसमा सुधार गर्न ध्यानाकर्षण गराएको छ ।
एफएटीएफ अन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) ले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको सहकारी क्षेत्र, क्यासिनो, सुनचाँदी व्यवसाय तथा घरजग्गा कारोबारमार्फत् सम्पत्ति शुद्धीकरण भइरहेको भन्दै त्यसमा सुपररिवेक्षण कसिलो बनाउन भनेको हो । रिपोर्टमा सम्पत्ति शुद्धीकरणमा नेपालको अवस्था थप कमजोर भएको समेत उल्लेख गरिएको छ ।
नेपालमा भ्रष्टाचार, मानव तस्करी तथा राजश्व छली जस्ता कारणबाट हुने अवैध सम्पत्ति आर्जन प्रमुख जोखिम रहेको एपीजीको प्रतिवेदनमा उल्लेख छ । नेपाल र भारतबीच भएको खुला सीमानाका कारण लागुऔषध ओसारपसार सुन र मुद्रा तस्करीको सम्भावना उच्च रहेको भन्दै यसले सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यमा घरेलु र विदेशी नेटवर्कलाई जोड्ने रिपोर्टमा उल्लेख छ ।
उक्त कार्यमा नियन्त्रण गर्न नेपालको केन्द्रीय बैंकदेखि महान्यायाधिवक्ता कार्यालयसम्मलाई चुस्त रुपमा काम गर्न प्रतिवेदनमा सुझाव दिइएको छ । सरकार वादी भएर दायर हुने मुद्दाहरु महान्यायाधिवक्ता र यस अन्तर्गतका सरकारी वकिलमार्फत् दायर हुने गर्दछन् । त्यसैले यो कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
त्यस्तै, राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) लाई थप सक्रिय बनाउँदै वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाको निरीक्षण प्रभावकारी बनाउन, शंकास्पद संस्थाको नगद प्रवाह विवरण सुपरीवेक्षण तथा अन्य गैरबैंकिङ तथा गैरनाफामूलक संस्थाको वित्तीय अवस्था सुपरिबेक्षण गर्न टार्गेटेड फाइनान्सियल स्यान्सेसन (टीएफएस) लागु गर्नुपर्नेमा एपीजीको जोड रहेको छ ।
नेपाल सम्पत्ति शुद्धीकरणमा अन्तराष्ट्रिय स्तरमा कमजोर मानिदै आएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून तथा सरकारको कारबाही कमजोर भएको भन्दै एफएटीएफले नेपाललाई खैरो सूचीमा राख्ने तयारी गरे पनि यो वर्ष यो सूचीबाट बच्न रोकिएको थियो । यद्यपि प्रतिवेदनमा भने नेपालको अवस्था थप खस्किएको उल्लेख गरिएको छ ।


