काठमाडौं । भारतले नेपालमा चामल निर्यात खुलाएको छ । भारतको वाणिज्य विभागले बुधबार सूचना जारी गर्दै ९५ हजार मेट्रिक टन चामल निर्यातको अनुमति दिएको हो । भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडको माध्यमबाट उक्त चामल निर्यात हुनेछ ।
पर्याप्त वर्षा नभएका कारण भारतमा धान उत्पादनमा कमी आएको भन्दै भारतले साउन ४ (जुलाई २०) देखि नेपाल लगायत अन्य देशहरुमा चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले चामल निर्यातको घोषणा गरेसँगै नेपालमा चामलको मूल्य बढ्न पुगेको थियो ।
नेपाल सरकारले पत्र लेखेर भारत सरकारसँग चामल निर्यातको फुकुवाका लागि अनुरोध गरेको थियो । नेपालले एक लाख मेट्रिक टन चामल आयातको अनुमति दिन माग गरेको थियो । भारतले ९५ हजार मेट्रिक टन चामल निर्यातका लागि फुकुवा गरिदिएको हो ।
भारतले नेपाल सहित क्यामरुन, आइभरी कोस्ट, मलेशिया, फिलिपिन्स लगायत देशका लागि कोटा तोकेर चामल निर्यात फुकुवा गरेको जनाएको छ ।
यसअघि नै भारतले भुटान, मौरिसस, सिंगापुर लगायतको देशमा चामल निर्यात खुलाइसकेको छ ।



