काठमाडौं । नेपालमा भारतबाट प्याज आयात गर्दा भारतमै १०६ रुपैयाँ मूल्य तिर्नुपर्ने भएको छ । भारतले लगाएको नयाँ नियमका कारण यस्तो अवस्था आएको हो ।
भारतको संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले न्यूनतम ८०० अमेरिकी डलर प्रति टन मूल्यमा मात्रै प्याज निर्यात गर्न सक्ने व्यवस्था गरेको छ । जुन अस्ति आइतबारदेखि सुरु भइ यो अंग्रेजी वर्षको अन्तिम सम्म कायम रहनेछ ।
हाल नेपालमा अमेरिकी डलरको मूल्य १३३.५० रुपैयाँ छ । यो आधारमा प्रति टन (१००० केजी) को मूल्य १ लाख ६ हजार रुपैयाँ भन्दा बढी हुन आउँछ । जुन प्रतिकेजी १०६ रुपैयाँ हो ।
नेपाली आयातकर्ताले भारतबाट आयात गर्दा ढुवानी खर्च, भण्डारण खर्च तथा आफ्नो नाफा राखेर बिक्री गर्छन् । त्यसपछि थोक बिक्रेता र खुद्रा बिक्रेता समेतको नाफा गरि भन्सार विन्दुको मूल्यभन्दा ६० प्रतिशत भन्दा महंगोमा बिक्री हुन्छ । यो आधारमा हेर्दा भारतीय प्याज अब १६० रुपैयाँ भन्दा बढी पर्न जाने देखिन्छ ।
यद्यपि नेपालमा नेपाली प्याजका साथै चीनियाँ प्याज पनि आउने गरेकोले मूल्यलाई त्योभन्दा कममै राख्न सक्ने देखिन्छ । विगतमा पनि भारतले पटक पटक प्याज निर्यातमा प्रतिबन्ध लगाउँदै आएको थियो । यसले बजारमा मूल्य बढाएपनि आयातको विकल्प हुँदा धेरै ठूलो प्रभाव पार्न भने सकेको थिएन ।


