काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालयका काम कारबाहीमा विज्ञको सहयोग लिन मन्त्रालयभित्र छुट्टै संयन्त्र गठन गर्ने तयारी गरेको छ । अर्थतन्त्र हाँक्न अर्थमन्त्रालय एक्लै पर्याप्त नहुने भन्दै यस्तो संयन्त्र बनाउन लागेको जानकारी दिए ।
सोमवार नेपाल आर्थिक संघको कार्यक्रममा अर्थमन्त्री शर्माले यसका लागि विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने संयन्त्रको आवश्यकता रहेको बताएका हुन् । यस विषयमा आफूले योजना बनाइरहेको उनले जानकारी दिए ।
संघको सो कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कर्मचारीमा आफू मात्रै जान्ने हौं भन्ने घमण्ड आउनसक्ने भन्दै त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थमन्त्रालयलाई सघाउँदै आएको उल्लेख गरे । आगामी दिनमा पनि सो क्रम जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै अर्थविद्हरु डा. भवानी ढुंगाना, डा. शिवराज अधिकारी, गोपाल तिवारीलगायतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाईदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए । उनीहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भएपनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासो समेत गरे ।


