images
images

कृषिमा महिलाको सहभागिता बढी रहे पनि कृषि जग्गामा पुरुषको स्वामित्व धेरै


  • 439
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    कृषिमा महिलाको सहभागिता बढी रहे पनि कृषि जग्गामा पुरुषको स्वामित्व धेरै

    काठमाडाैं । कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ । 

    दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ । नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष) को नाममा जमिनको स्वामित्व रहेका छन् तर यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् ।

    कृषिगणनाको आधारमा लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व रहेका छन् भने वयस्क महिलाको हकमा यो प्रतिशत २०.८ मात्र रहेका छन् । 

    प्रदेशगत रूपमा हेर्दा वयस्क पुरुषको यो प्रतिशत सबैभन्दा बढी ४७.६ प्रतिशत बागमती प्रदेशमा र सबैभन्दा कम ४०.१ मधेश प्रदेशमा रहेको छ । वयस्क महिलाको हकमा यो प्रतिशत सबैभन्दा बढी २४.२ प्रतिशत गण्डकी प्रदेशमा र सबैभन्दा कम १६.३ कर्णाली प्रदेशमा रहेको तथ्याङ्कले देखाएको छ ।

    राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाले कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क (१८ वर्ष वा सोभन्दा माथि) कृषि जनसङ्ख्याको प्रतिशत ३१.४ रहेको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी ३४.६ गण्डकी प्रदेशमा र सबैभन्दा कम २९ प्रतिशत कर्णाली प्रदेशमा रहेको छ ।

    कृषिगणनाले ६२ प्रतिशत घरपरिवार कृषि कार्यमा संलग्न रहेको र यीमध्ये ३२ प्रतिशत घरपरिवारको मुली कृषक महिला रहेको देखाएको छ । 

    नेपालमा जीविकोपार्जनको माध्यमका साथै सम्पत्तिको महत्त्वपूर्ण हिस्साका रूपमा कृषि जग्गाको महत्त्वपूर्ण योगदान रहेको छ । खेतीपातीका अतिरिक्त लगानी वा ऋणको जमानत वा धितोका साथै परिवारको दैनिक आवश्यकता पूर्तिको माध्यमका रूपमा कृषि जग्गाको भूमिका ठुलो रहेको तथ्याङ्कले देखाएको छ । 

    २०१८ सालदेखि हरेक १० वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ चैत १ देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गरेको थियो । तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले सो कृषिगणना गरिएको थियो । यस पटक ७५३ वटै पालिकाको कृषि तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गरिएको छ । 


    images

    Logo