काठमाडौं । इपिएस भाषा परीक्षामार्फत नेपालबाट कामदार लैजाँदै आएको दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रका लागि झण्डै १६ हजार कामदार माग गरेको छ । कोरियाले वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखालाई पत्र पठाउँदै १५ हजार ८४८ जना कामदारका लागि आवेदन आह्वान गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाबिच भएको समझदारी पत्रअनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरिएको हो ।
एचआइडी कोरियाले कोरियन भाषा परीक्षा सञ्चालन गर्न वैदेशिक रोजगार विभागलाई पठाएको पत्रका आधारमा कोरिया शाखाले आवेदन आह्वान गरेको हो ।
इपिएस शाखाले आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने र परीक्षासम्बन्धी जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाएको छ ।
आवेदन दिनका लागि १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिक हुनुपर्नेछ । भाषा परीक्षा एक दिनमा ४ सिफ्टमा सञ्चालन हुने र आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने जनाइएको छ ।
आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ । भाषा परीक्षाको नतिजा सार्वजनिक गरेपछि सीप परीक्षणको तालिका सार्वजनिक गरिनेछ ।
भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तीर्णांक प्राप्त गर्नेमध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकलाई मात्र सीप परीक्षणमा समावेश गरिने सूचनामा उल्लेख छ ।
पहिलो चरणमा भाषा परीक्षा र दोस्रो चरणको दक्षता परीक्षणमा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षणमा समेत सफल हुनुपर्नेछ ।
रोजगार आवेदन फाराम भर्न सकिनेछ । परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अनलाइनबाट मात्र भर्नुपर्नेछ ।


