काठमाडौं । भारतले आयातमा प्रतिबन्ध लगाएपछि बढेको प्याजको भाउ पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको छ । पुसको पहिलो साता १४३ रुपैयाँ रहेको प्याजको मूल्य दोस्रो साता सम्म आइपुग्दा किलोमै ३८ रुपैयाँले घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पुसको ३ गते औषत १४३.३३ रुपैयाँ पुगेको भारतीय प्याजको मूल्य उक्त दिनपछि निरन्तर घटिरहेको छ । पुस ४ गते बुधबार उक्त मूल्य घटेर किलोको १४२ रुपैयाँ पुगेको थियो । त्यस्तै, बिहीबार किलोमै ७ रुपैयाँले घटेर १३५ रुपैयाँ पुगेको प्याजको मूल्य शुक्रबार स्थिर रहेको थियो ।
शनिबारदेखि बजारमा चाइनिज प्याजको पनि सप्लाई भएका कारण भारतीय प्याजको मूल्य एकैदिन किलोमा २५ रुपैयाँले घटेको थियो । सो दिन भारतीय प्याजको औषत मूल्य ११० रुपैयाँ र चाइनिज प्याज ९५ रुपैयाँ प्रतिकिलो रहेको थियो । सोही मूल्यले आइतबार पनि निरन्तरता पायो ।
उक्त घट्ने क्रमलाई निरन्तरता दिँदै सोमबार पनि प्याजको मूल्य घटेको छ । सोमबार भारतीय प्याजको औषत मूल्य प्रतिकिलो १०५ रुपैयाँ तोकिएको छ । चाइनिज प्याज भने भारतीय भन्दा किलोमै २० रुपैयाँले सस्तो छ । उक्त प्याज पनि सोमबार रहेको भाउमा १० रुपैयाँले सस्तो भएर प्रतिकिलो ८५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।


