images
images

चीनबाट आउन थालेपछि निरन्तर घट्दै प्याजको मूल्य, सातामै २५ रुपैयाँले घट्यो


  • 755
    SHARES
  • २०८० पौष १४ गते शनिबार

    चीनबाट आउन थालेपछि निरन्तर घट्दै प्याजको मूल्य, सातामै २५ रुपैयाँले घट्यो

    काठमाडौं । पुस ७ गतेदेखि बजारमा चाइनिज प्याज आउन थालेपछि प्याजको भाउ निरन्तर घटिरहेको छ । भारतले आयातमा प्रतिबन्ध लगाएपछि बढेको प्याजको मूल्य सातामा नै २५ रुपैयाँले घटेको हो ।

    पुस ६ गते शुक्रबार औषत १३२ रुपैयाँ रहेको प्याजको मूल्य भोलिपल्टै किलोमा २५ रुपैयाँले घटेको थियो । उक्त दिन भारतीय प्याजको मूल्य ११० रुपैयाँ र चाइनिज प्याजको ९५ रुपैयाँ रहेको थियो । सोही मूल्यले आइतबार पनि निरन्तरता पाएको थियो ।

    सोमबार पनि प्याजको मूल्य आइतबार भन्दा  घटेर भारतीय प्याज किलोको १०५ रुपैयाँ र चाइनिज प्याज ८५ रुपैयाँ पुगेको थियो । सोही क्रमलाई निरन्तरता दिँदै मंगलबार पनि प्याजको भाउ घटेको थियो । सो दिन प्याजको मूल्य घटेर भारतीय १०० रुपैयाँ र चाइनिज ८५ रुपैयाँ पुगेको थियो ।

    बुधबार र बिहीबार भारतीय प्याज क्रमशः ५ रुपैयाँ र ३ रुपैयाँले घटेर क्रमशः ९५ रुपैयाँ र ९२ रुपैयाँ पुगेको थियो । चाइनिज प्याजको मूल्य भने दुबै दिन स्थिर रहेको थियो । 

    घट्ने क्रमलाई निरन्तरता दिँदै शुक्रबार भारतीय प्याज २ रुपैयाँ र चाइनिज प्याज ३ रुपैयाँले घटेर क्रमशः ९० रुपैयाँ र ८२ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

    शनिबार पनि प्याजको मूल्य घटेको छ । आज एकैदिन किलोमा ५ रुपैयाँले घटेर भारतीय प्याज ८५ रुपैयाँ किलो पुगेको छ । चाइनिज प्याजको मूल्य भने ८२ रुपैयाँ रहेको छ ।


    images

    Logo