विक्रम संवत् २०५० सालमा सानो स्कूलबाट सुरु भएको मोर्डन स्कूल अहिले मुलुककै ठूलो मध्ये एक स्कूल/कलेजमा परिणत भएको छ । भक्तपुरको एउटा गाऊँबाट उठेर राष्ट्रियस्तरमा स्थापित हुनु पक्कै पनि चानचुने कुरा थिएन ।
यतिबेला मोर्डन स्कूल/कलेज भक्तपुरको दधिकोट र सिर्जनानगरबाट शानदार ढंगले सञ्चालनमा छ । एउटा सानो प्रयास २८ बर्षमा कसरी यति वृहत् हुन सफल भयो ? मोर्डनको आकर्षण के हो ? खासमा के छ, मोर्डन स्कूल/कलेजमा ? यी र यस्तै प्रश्नको जवाफ खाज्ने छौं, मोर्डन स्कूल/कलेजका सञ्चालक तथा युनिभर्सल मोर्डन कलेज, सल्लाघारीका प्रिन्सिपल अनिल कसपालसँग ।
मोर्डन स्कूल राष्ट्रिय स्तरमा नै ‘टप टेन’मा पर्दै आएको छ । कसरी ब्यवस्थापन गर्दै आउनु भएको छ ?
– स्कूल र कलेज सञ्चालनका लागि ब्यवस्थापन समिति छ । त्योभन्दा पनि हाम्रो परिवार ठूलो छ । र, हामी सबै मोर्डन स्कूल/कलेजमा नै समर्पित छौं । बुबाले सुरु गर्नु भएको यो स्कूललाई उहाँका (हामी छोरा, बुहारी, छोरीहरु) सन्तानले सञ्चालन गरिरहेका छौं । शिक्षा क्षेत्रमा नै सबैजना दत्तचित्त भएर लाग्नु नै व्यवस्थापनको प्रमुख विशेषता रहँदै आएको छ ।
परिवारका कतिजना कसरी स्कूल/कलेज सञ्चालनमा लाग्नुभएको छ ?
– ब्याचलर तथा मास्टर्स गरेका परिवारका ११ जना सदस्यहरु यहाँ लागेका छौं । कसैले स्कूल, कसैले कलेज, कसैले विभिन्न फ्याकल्टीहरु जिम्मा लिएर चलाइरहेका छौं । जतिजना लागेका छौं, सबै दक्ष हुनुहुन्छ ।
अझ विस्तृतमा भनिदिनुस् न, परिवारको कसले के कामको जिम्मेवारी लिनु भएको छ ?
– हाम्रो संस्थाको हेड नै बुबा हो । इच्छा, रहर र संकल्प पनि उहाँकै हो । बुबाकै संघर्षको उपज हो, यो संस्था । मोर्डनको भिजन र मिसन नै उहाँको हो । म पीएचडी गर्दैछु । माइलो भाइ म्याथम्याटिक्सको लागि प्रसिद्ध छ । दिदी नेपाली र बहिनी साइन्सका लागि विज्ञ छन् । कान्छो भाइले सोसियल स्टडिजमा मास्टर्स गरेको छ । मेरो मिसेज इङलिसको एमफिल हो । उनी केयूमा समेत अध्यापन गर्छिन् । अंकल र माहिली बुहारीले अकाउन्ट हेर्नुहुन्छ । कान्छी बुहारीले मन्टेश्वरीमा विज्ञता हासिल गरेकी छन् । यस्तै–यस्तै छ ।

अहिले मोर्डन स्कूल÷कलेज कसरी र कहाँ कहाँ फैलिएको छ ?
– आजभन्दा २८ बर्षअघि भक्तपुरको चित्रपुरमा प्रि–प्राइमरी (प्लेग्रुप, नर्सरी, एलकेजी, युकेजी आदि) स्कूलबाट मोर्डन जन्मिएको हो । भक्तपुरमा प्लेग्रुप सुरु पनि मोर्डनले नै गरेको हो । त्यसबेला जम्मा ९८ विद्यार्थी थिए । त्यसपछि प्रत्येक वर्ष एक–एकवटा कक्षा थप्दै पहिलो एसएलसी २०६० सालमा निकाल्यौं । परीक्षामा सामेल १५ जनानै फस्र्ट डिभिजन र डिस्टिङ्सन ल्याउन सफल भएका थिए । त्यसपछिका दिनमा बोर्डमा आउन सफल हुन थाले । मलाई लाग्छ, सफलताको महत्वपूर्ण खुड्किलो थियो त्यो ।
एउटा सानो स्कूल कसरी वृहत् बन्दो रहेछ ? अनुभव सुनाइदिनुस् न ।
– आकर्षक भौतिक पुर्वाधार, पाठ्यक्रम अनुसार दक्ष शिक्षक–शिक्षिकाबाट अध्यापन, २१ औं शताब्दी सुहाउँदो प्रोजेक्ट र एक्टिभिटिज बेस्ट भएर पढाउने गरेका छौं । सायद यी र यिनै कारणले मोर्डन स्कूल फैलिएको हो ।
मुल कुरा दत्तचित्त भएर कर्म गर्ने हो । राम्रोसँग काम गरेपछि परिणाम आफैं आउँदो रहेछ । मेरो अनुभव यही नै हो ।
मोर्डनका विशेषता पनि यिनै हुन् कि ?
– पब्लिकले नै विद्यालय भनेको मोर्डन जस्तो हुनुपर्छ भनेको सुनेका छौं । परिवार नै यसैमा लागेको उहाँहरुलाई राम्रो लागेको छ । हाम्रो पारिवारिक एकता वास्तवमा नै उदाहरणीय लाग्छ सुन्ने र देख्नेलाई पनि । गाउँको एउटा कुखुराको खोर सफा गरेर सुरु गरेको विद्यालय यहाँसम्म आइपुग्नुमा सस्तोमा पारिवारिक वातावरणमा बच्चालाई संस्कारयुक्त बनाउने काम गरेको हुनाले हो ।

हालसम्म लगानी चाहिँ कति गर्नुभयो होला ?
– यो २८ वर्षमा हामीले कतिपय आफ्नै भवन बनाएका छौं । समयानुकुल आधुनिक कक्षा कोठाहरु तयार गरेका छौं । मोर्डनको छानामुनि अहिले पनि १ सय ८८ जना कार्यरत हुनुहुन्छ । २२ सय विद्यार्थी अहिले पनि अध्ययन गरिरहेका छन् । मलाई लाग्छ यहाँसम्म आइपुग्दा एक अर्ब लगानी भइसक्यो होला ।
नतिजा कस्तो छ ? यहाँबाट उत्पादित विद्यार्थीको अवस्था कस्तो पाउनु हुन्छ ?
– नतिजा उत्कृष्ठ रहँदै आएको छ । राम्रो ग्रेडमा विद्यार्थी पास हुँदै आएका छन् । उत्पादित विद्यार्थी पनि रहरलाग्दो गरी सक्रिय छन् । मोर्डन पढेका कुनै पनि विद्यार्थीले त्यसै बस्नु परेको सुनेको छैन । डाक्टर, इन्जिनियर, सीए हुनेको संख्या धेरै छ । यहाँबाट निस्केकाले आफ्नो सपना पुरा गरेका छन् ।
कोरोना महामारीले शैक्षिक गतिविधिमा कस्तो असर गरेको छ ?
– शैक्षिक, सामाजिक, आर्थिक लगायत हरेक क्षेत्र र विषयमा गहिरो असर छ । यस्तो बेलामा कसरी विद्यार्थीलाई असर नपुगोस् भनेर हामीले अनलाइन मार्फत् धेरै किसिमका सिर्जनात्मक गतिविधि गर्दै आएका छौं ।

यहाँको अनुभवमा शिक्षा बिजनेस रहेछ कि सेवा ?
– बिजनेस नहुने त क्षेत्र नै हुँदैन । यदि बिजनेस भएन भने त्यो क्षेत्र वा संस्था धेरै टाढा जान सक्दैन । तर, एजुकेशन बिजनेश बियर फ्याक्ट्री खोलेजस्तो पनि होइन । शैक्षिक बिजनेस फरक हुन्छ ।
आधुनिक शिक्षा दिन सकिएन भने । समग्रमा सक्षम नागरिक उत्पादन गर्न सकिएन भने त्यस्तो शिक्षाको पनि अर्थ रहँदैन । शिक्षालाई सर्वोपरी मानेर आर्थिक हिसाबले चलायमान बनाउन सकियो भने सफलता हात पर्छ ।
जतिसुकै लगानी गरेको भएता पनि हामीले त्यस अनुसारको रिटर्न खोजेका छैनौं । सस्तो छ र पढाइ पनि राम्रो छ भन्ने कुरा स्थापित छ । हामी यसैबाट खुसी छौं ।
अबको योजना सुनाइदिनुस् न ?
– बुबा त मोर्डनलाई युनिभर्सिटी नै बनाउनुपर्छ भन्नुहुन्छ । यो कति र कहिले सम्भव हुन्छ थाहा छैन । तर आकर्षक फ्याकल्टीहरु थप्दै जाने, राम्रा राम्रा प्रोग्रामहरु ल्याउँदै जाने । समय अनुसारको पद्दति विकास गरेर उत्कृष्ठ शिक्षा दिन कोशिस गरिरहने हो ।


दिवस गुरागाईं
