म्याग्दी । अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट सरकारलाई २२ करोड ९९ लाख ४४ हजार रुपैयाँ आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ ।
एक्याप जोमसोम शाखाका प्रमुख प्रमोदराज रेग्मीले सन् २०२३ मा ३ हजार ४ सय ८७ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेको जानकारी दिए । “सन् २०२१ मा ६ सय २ र २०२२ मा ३ हजार २ सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका थिए,” उनले भने “सडक यातायातको सहजता, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यक्रमले उपल्लो मुुस्ताङमा पर्यटकको आगमन बढेको हो ।”
गत जनवरीमा सात विदेशी पर्यटकले भ्रमण गरेको उपल्लो मुस्ताङमा फेबु्रअरीमा २३, मार्चमा १ सय ६२, अप्रिलमा ४ सय २५, मेमा ७ सय १२, जुनमा १ सय ४९, जुलाईमा १ सय ८, अगस्टमा २ सय ७८, सेप्टेम्बरमा ४ सय ७, अक्टोबरमा ८ सय ३०, नोभेम्बरमा २ सय ८० र डिसेम्बरमा २३ विदेशी पर्यटक पुगेका थिए ।
मुस्ताङको कागबेनीदेखि उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई अध्यागमन विभागले प्रवेश शुल्कबापत ५ सय अमेरिकी डलर तोकेको छ ।
सो शुल्क तिरेर उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले दश दिनको प्रवेश अनुमति पाउँछन् । दश दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई राजश्व बुझाउनुपर्ने हुन्छ । उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका–२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन् ।
सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए । गत भदौ र कात्तिकमा मुस्ताङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट मुक्त गराउन माग गरेका थिए ।
कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भौगोलिक बनावट र माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् ।


