काठमाडौं । कालिकोटको सुनथराली विमानस्थलको उडान सफल भएको छ । आइतबार नेपालगञ्जबाट प्राविधिक टोलीसहित ९ जना यात्रु बोकेको तारा एयरको जहाजले विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिए ।
२०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम २०७९ साल माघ ११ गते सकिएको थियो । यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन ।
आज उडान सफल भएकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटन गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ ।
२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुन लाग्दा स्थानीयवासी खुशी भएका छन् ।


